काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) राजकुमार अर्याल चार महिनापछि नियमित काममा फर्किएका छन्। कम्पनीले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) लाई बिहीबार जानकारी गराउँदै अर्याल पूर्ववत् जिम्मेवारीमा फर्किएको जनाएको हो।
कर्मचारीका लागि आरक्षित ४ लाख ९० हजार कित्ता शेयर वितरणमा अनियमितता गरेको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले गत चैत १६ गते अर्याललाई पक्राउ गरेको थियो। उनी चैत २६ गते रिहा भएका थिए।
जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले अनुसन्धानका लागि दोस्रो पटक म्याद थप गर्न अस्वीकार गरेपछि अर्याल हिरासतबाट मुक्त भएका थिए। रिहापछि पनि उनी तत्काल कार्यालय हाजिर भएका थिएनन् भने कम्पनीले कवि फुँयाललाई कामु सीईओको जिम्मेवारी दिएको थियो।
सीआईबीले अनुसन्धान प्रतिवेदन अभियोजनका लागि नबुझाएपछि सञ्चालक समितिको निर्णयअनुसार अर्याल पुनः नियमित काममा फर्किएका हुन्। अर्याल बीमा क्षेत्रमा अनुभवी तथा कार्यसम्पादनका आधारमा राम्रो छवि बनाएका सीईओका रूपमा चिनिँदै आएका छन्।
















प्रतिक्रिया दिनुहोस्