काठमाडौं । समस्याग्रस्त कर्णाली विकास बैंकको कर्जा अपचलन तथा आर्थिक अनियमितता प्रकरणमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृत (सीईओ) नीरजविक्रम शाहसहित उनकी श्रीमती शुभेक्षा श्रेष्ठ र बैंकको नेपालगन्ज शाखाकी तत्कालीन शाखा प्रबन्धक दीपा थापा रहेका छन् ।जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार उनीहरूलाई शुक्रबार नेपालगन्जबाट पक्राउ गरिएको हो। प्रहरीले कर्णाली विकास बैंकमा भएको भनिएको अनियमितता, जोखिमपूर्ण कर्जा प्रवाह, नक्कली धितोका आधारमा कर्जा वितरण तथा कमजोर आन्तरिक नियन्त्रण प्रणालीलगायत विषयमा अनुसन्धान भइरहेको जनाएको छ ।
यस प्रकरणमा प्रहरीले यसअघि नै ३ अर्ब २० करोड रुपैयाँभन्दा बढी बिगो दाबी गर्दै १०९ जनाविरुद्ध मुद्दा दायर गरिसकेको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बैंकका विभिन्न समयका सञ्चालक, कर्मचारी तथा अन्य व्यक्तिको मिलेमतोमा ठूलो रकम हिनामिना भएको निष्कर्षसहित अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको थियो ।
सीआईबीको प्रतिवेदनमा बैंकिङ प्रणालीको दुरुपयोग गरी कर्जा प्रवाहमा अनियमितता भएको उल्लेख गरिएको थियो। सोही आधारमा सरकारी वकिल कार्यालयमार्फत प्रतिवादीहरूमाथि मुद्दा अघि बढाइएको हो ।
कर्णाली विकास बैंक पछिल्लो समय वित्तीय सुशासन कमजोर भएको, कर्जा जोखिम बढेको र आन्तरिक नियन्त्रण प्रणाली प्रभावकारी नभएको भन्दै नियामकीय निगरानीमा परेको थियो । पक्राउ परेका व्यक्तिहरूमाथि थप अनुसन्धान अघि बढाइने प्रहरीले जनाएको छ ।















प्रतिक्रिया दिनुहोस्