काठमाडौं। गाभीले नेपाललाई ३ करोड ९६ लाख डलर बराबरको खोप र १ करोड ८० लाख डलर अनुदान दिने भएको छ।
नेपाल सरकार र ‘गाभी, द भ्याक्सिन एलाइन्स’बीच सन् २०२७ देखि २०३० सम्मको रणनीतिक सहकार्य अन्र्तगत गाभीले उक्त अनुदान दिने भएको हो । शुक्रबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता र नेपालका लागि गाभीका वरिष्ठ म्यानेजर निल्गुन आयदोगान नेतृत्वको टोलीबीच आगामी चार वर्षको खोप सहयोग, सह–वित्तीय लगानी तथा राष्ट्रिय खोप कार्यक्रमको वित्तीय दिगोपनाबारे विस्तृत छलफल भएको हो।
बैठकमा गाभीले नेपाललाई आगामी चार वर्षका लागि ३ करोड ९६ लाख अमेरिकी डलर बराबरको खोप तथा १ करोड ८० लाख ६० हजार अमेरिकी डलर नगद अनुदान उपलब्ध गराउने प्रस्ताव गरेको छ। प्रस्तावअनुसार नेपालले भने १ करोड ७१ लाख अमेरिकी डलर सह–वित्तीय लगानी गर्नुपर्ने विषयमा समेत सहमति जुटाउने दिशामा छलफल भएको मन्त्रालयले जनाएको छ। नेपाल र गाभीबीचको सहकार्य सन् २००१ देखि सुरु भएको हो। पछिल्लो २५ वर्षमा गाभीले नेपालमा ५५ करोड अमेरिकी डलर बढीको खोप, कोल्ड चेन पूर्वाधार निर्माण तथा स्वास्थ्य प्रणाली सुदृढीकरणका लागि सहयोग उपलब्ध गराइसकेको छ।
हाल नेपाल सरकारले सञ्चालन गरिरहेको राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत प्रदान गरिने ११ प्रकारका खोपमध्ये ५ वटा खोपमा गाभीले सह–लगानी गर्दै आएको छ भने एक प्रकारको खोप निःशुल्क उपलब्ध गराउँदै आएको छ। परिवार कल्याण महाशाखाअन्तर्गत सञ्चालन हुने नियमित खोप कार्यक्रम र विभिन्न खोप अभियानमा पनि गाभीले निरन्तर सहयोग गर्दै आएको छ।
बैठकमा विश्वव्यापी रूपमा विकास सहायता तथा वित्तीय स्रोत घट्दै गएको सन्दर्भमा नेपालको राष्ट्रिय खोप कार्यक्रमलाई दीर्घकालीन रूपमा कसरी दिगो बनाउने भन्ने विषयमा पनि गहन छलफल भएको मन्त्रालयले जनाएको छ। गाभीका प्रतिनिधिहरूले नेपालले खोपको क्षेत्रमा हासिल गरेको उपलब्धिको प्रशंसा गर्दै आगामी दिनमा पनि सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको मन्त्रालयले जनाएको छ।















प्रतिक्रिया दिनुहोस्