जनकपुर । मिटरब्याज पीडितसँग सरकारले गरेको ९ बुँदे सम्झौताप्रति असन्तुष्टि जनाउँदै मधेश प्रदेशका साहु महाजनहरूले जनकपुरधाममा विरोध प्रदर्शन गरेका छन्। उनीहरूले सम्झौता खारेज गरी आफूहरूलाई समेत समेटेर त्रिपक्षीय सम्झौता गर्न माग गर्दै भदौ १ गतेदेखि काठमाडौंमा अनिश्चितकालीन धर्ना दिने चेतावनी दिएका छन्।

विज्ञापन
Advertisement
Advertisement

मधेश प्रदेशका आठवटै जिल्लाबाट सहभागी करिब ७ सयभन्दा बढी साहु महाजनहरूले जनकपुरधामका मुख्य चोक हुँदै जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र जिल्ला अदालत धनुषाअगाडि विरोध जुलुस निकाले। प्रदर्शनका क्रममा उनीहरूले ‘९ बुँदे सम्झौता खारेज गर’, ‘खाएको ऋण तिर्नुपर्छ’, ‘गृहमन्त्री मुर्दावाद’ लगायतका नाराबाजी गरेका थिए।

विरोध सभालाई सम्बोधन गर्दै पीडित लगानीकर्ता लेनदेन संघर्ष समिति मधेश प्रदेशका अध्यक्ष विजय यादवले आन्दोलनलाई थप सशक्त बनाइने बताए। उनले भदौ १ गतेदेखि मधेश प्रदेशका आठवटै जिल्लाका साहु महाजन काठमाडौं पुगेर सिंहदरबार र माइतीघर मण्डलामा अनिश्चितकालीन धर्ना बस्ने कार्यक्रम रहेको जानकारी दिए।

अध्यक्ष यादवले सरकारले केही दिनअघि मिटरब्याज पीडितसँग गरेको ९ बुँदे सम्झौता दुई पक्षबीच मात्र भएको भन्दै आफूहरूलाई पनि समेटेर त्रिपक्षीय सम्झौता गर्नुपर्ने माग राखे। केही ऋणीका कारण सम्पूर्ण लगानीकर्तालाई ‘मिटरब्याजी’को संज्ञा दिनु अन्यायपूर्ण भएको उनको भनाइ थियो।

उनले आवश्यक परेको बेला ऋण दिए पनि सरकारले ऋणीलाई रकम नतिर्ने वातावरण बनाइदिएको आरोप लगाए। विरोध प्रदर्शनका क्रममा साहु महाजनहरूले जिल्ला प्रशासन कार्यालयअगाडि सरकारले मिटरब्याज पीडितसँग गरेको ९ बुँदे सम्झौतापत्रसमेत जलाएका थिए।