काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य तथा सांसद मनिष झाले प्रधानमन्त्री वालेन्द्र शाह (वालेन) लाई लक्षित गर्दै सरकारमा कोही पनि एक्लो नरहेको बताएका छन् ।
प्रधानमन्त्री शाहले शुक्रबार राति सामाजिक सञ्जालमार्फत ‘कहिलेकाहीँ एक्लै लड्नुपर्छ, यो पहिलोचोटि होइन’ भन्दै स्टाटस लेखेपछि झाले शनिबार त्यसको जवाफ दिएका हुन्।
झाले परिवर्तनका लागि प्राप्त जनादेश बोकेको सरकारमा सबै साथमा रहेको उल्लेख गर्दै प्रधानमन्त्रीलाई सरकारका केही पक्षमा सुधार आवश्यक रहेको स्मरण गराएका छन् ।
‘परिवर्तनको लागि यो महान् जनादेश पाएको सरकारमा कोही एक्लो छैन। हामी सबै साथमा छौँ। हिजो सदनमा भनेको झैँ, नियत र आशयमा शङ्का छैन तर सुधार गर्नै पर्ने केही पक्ष छन्,’ झाले सामाजिक सञ्जालमा लेखेका छन्। उनले सरकारलाई प्राप्त ऐतिहासिक अवसर खेर जान नदिन निरन्तर सचेत गराइरहने बताएका छन्। संसदमा समेत यही विषयमा आफूहरूले आवाज उठाएको उनको भनाइ छ । ‘यो महान् ऐतिहासिक अवसर खेर नजाओस् भनेर सजग रहने र सचेत गराउने काम निरन्तर रहनेछ,’ झाले भनेका छन् ।
जननिर्वाचित सरकार जनताको साथमा हुनुपर्ने उल्लेख गर्दै उनले आफू सरकारको साथमा रहेको स्पष्ट पारेका छन्। ‘जननिर्वाचित सरकार जनताको साथमा हुनुपर्छ र म सरकारको साथमा छु। यहाँ कोही एक्लो छैन,’ उनको भनाइ छ । यसअघि शुक्रबार प्रतिनिधिसभाको बैठकमा रास्वपाकै सांसदहरूले सरकारका कामकारबाहीबारे प्रश्न उठाएका थिए । त्यसपछि शुक्रबार राति प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमा स्टाटस लेख्दै सही समय आउन केही समय लाग्ने र सुनेको तथा देखेकोभन्दा वास्तविकता फरक हुनसक्ने बताएका थिए ।
‘केही समय लाग्छ, सही समय आउनलाई । ढिला होला, तर गलत हुँदैन । नआत्तिनुहोस् । सुनेको र देखेकोभन्दा वास्तविकता कहिलेकाहीँ फरक हुन सक्छ,’ शाहले लेखेका थिए । उनले त्यसै स्टाटसमा ‘कहिलेकाहीँ एक्लै लड्नुपर्छ । यो पहिलोचोटि होइन’ भन्दै आफूले सामना गरिरहेको अवस्थाप्रति संकेत गरेका थिए । प्रधानमन्त्री शाहको उक्त अभिव्यक्तिपछि झाले शनिबार सामाजिक सञ्जालमार्फत सरकारलाई समर्थन रहेको तर आवश्यक सुधारका विषयमा निरन्तर खबरदारी गरिरहने सन्देश दिएका हुन् ।















प्रतिक्रिया दिनुहोस्