पोखरा । नेपालका लागि बीवाईडी अटो इन्डष्ट्री कम्पनी लिमिटेडको आधिकारिक वितरक साइमेक्स इंक प्रालिले पोखरामा बीवाईडीको आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ।
आधिकारिक डिलर फ्ल्यास मोबिलिटी प्रालिमार्फत पोखरा महानगरपालिका–१०, बुद्धचोकमा नयाँ सर्भिस सेन्टर सञ्चालनमा ल्याइएको हो । नयाँ सर्भिस सेन्टर सञ्चालनमा आएसँगै पोखरामा बीवाईडीको थ्री–एस (सेल्स, सर्भिस तथा स्पेयर पार्ट्स) सुविधा पूर्ण रूपमा सञ्चालनमा आएको कम्पनीले जनाएको छ । यसबाट गण्डकी प्रदेश तथा आसपासका क्षेत्रका बीवाईडी ग्राहकले आधिकारिक बिक्रीपछिको सेवा सहज रूपमा प्राप्त गर्न सक्नेछन् ।

सर्भिस सेन्टरको उद्घाटन पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले गरेका हुन्। बीवाईडीले नेपालभर बिक्रीपछिको सेवा सञ्जाल विस्तार गरिरहेको अवस्थामा पोखरामा आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा आउनु महत्वपूर्ण उपलब्धि भएको कम्पनीको भनाइ छ । यसअघि पोखराका बीवाईडी ग्राहकले कम्पनीबाट तालिमप्राप्त थर्ड पार्टी सर्भिस पार्टनरमार्फत बिक्रीपछिको सेवा लिँदै आएका थिए । अब भने ग्राहकले आधिकारिक बीवाईडी सेवा सञ्जालमार्फत अत्याधुनिक प्राविधिक सेवा, जेन्युइन स्पेयर पार्ट्स, विशेष उपकरण तथा कम्पनीबाट तालिमप्राप्त प्राविधिकको सेवा प्राप्त गर्नेछन् ।

साइमेक्स इंकका हेड अफ सर्भिस सुशील तण्डुकारले बीवाईडीको सवारी खरिद गर्नु ग्राहकसँगको सम्बन्धको सुरुवात मात्र भएको बताए। उनले ग्राहकको सम्पूर्ण स्वामित्व अवधिभर सेवा प्रदान गर्ने कम्पनीको जिम्मेवारी रहेको उल्लेख गरे । करिब ७ हजार २३३ वर्गफिट क्षेत्रफलमा फैलिएको नयाँ सर्भिस सेन्टर विशेषगरी विद्युतीय सवारीसाधनको मर्मत तथा सेवाका आवश्यकतालाई ध्यानमा राखेर निर्माण गरिएको कम्पनीले जनाएको छ। सेन्टरमा चारवटा आधुनिक भेइकल लिफ्ट, छुट्टाछुट्टै मर्मत क्षेत्र, हाई–भोल्टेज प्रणालीमा काम गर्ने विशेष कार्यक्षेत्र, जेन्युइन बीवाईडी स्पेयर पार्ट्स स्टोरेज र डेडिकेटेड भेइकल वासिङ बे रहेका छन् ।

सर्भिस सेन्टरले दैनिक १५ देखि १६ वटा सवारीसाधनलाई सेवा दिन सक्ने क्षमता राख्ने बताइएको छ । यसबाट ग्राहकको प्रतीक्षा समय घट्नुका साथै बिक्रीपछिको सेवा थप प्रभावकारी हुने अपेक्षा गरिएको छ । ग्राहकले सेन्टरबाट नियमित मर्मत सेवा, ब्याट्री परीक्षण, मेकानिकल तथा इलेक्ट्रिकल रिपेयर, डेन्ट तथा पेन्ट सेवा, रोडसाइड असिस्टेन्स, वारेन्टी सर्भिस र जेन्युइन स्पेयर पार्ट्सलगायतका सेवा प्राप्त गर्न सक्नेछन् । साथै, डेडिकेटेड सर्भिस एडभाइजर तथा सीआरएम टोलीमार्फत व्यक्तिगत ग्राहक सेवा उपलब्ध हुने कम्पनीले जनाएको छ ।
नेपालमा विद्युतीय सवारीको बजार विस्तार भइरहेका बेला पोखरामा आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा आउनुले बिक्रीपछिको सेवा सञ्जाललाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ । आगामी नाइमा मोबिलिटी एक्स्पो २०२६ मा बीवाईडीले नयाँ पुस्ताका विद्युतीय सवारी सार्वजनिक गर्ने तयारी गरिरहेको अवस्थामा सेवा सञ्जाल विस्तारलाई कम्पनीले नेपाली बजारप्रतिको दीर्घकालीन प्रतिबद्धताको रूपमा लिएको जनाएको छ ।















प्रतिक्रिया दिनुहोस्