Advertisement
Advertisement
Corporate Samachar
२२ भाद्र २०८३, सोमबार
Advertisement

अग्रगामी मोर्चा घोषणापछि रेशम चौधरीले भने–सबै कुरा नमिले पनि पसिना पुछ्ने गम्छा मिल्छ

अग्रगामी मोर्चा घोषणापछि रेशम चौधरीले भने–सबै कुरा नमिले पनि पसिना पुछ्ने गम्छा मिल्छ
विज्ञापन
Advertisement

काठमाडौं। नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष एवं पूर्वसांसद रेशम चौधरीले पहिचान र अधिकारको माग गर्दा आफूहरूले जेल, हतकडी र नेल भोग्नुपरेको बताएका छन्।

विज्ञापन
Advertisement
Advertisement

शनिबार काठमाडौंमा आयोजित अग्रगामी मोर्चा घोषणा सभालाई सम्बोधन गर्दै चौधरीले वर्तमान संविधान जारी हुँदा आफू थारुहट विद्रोहका कारण प्रवासमा रहेको स्मरण गरे। आफूहरूलाई प्रवासमा जान बाध्य पारेर निर्माण गरिएको संविधानमा आफ्नो अधिकार नसमेटिएको उनको दाबी थियो। ‘हामीले पहिचान माग्यौँ, त्यसको बदलामा जेल पायौँ। हामीले मुठ्ठी उचाल्यौँ, हातमा हतकडी लगाइयो। जबर्जस्ती चलमलाउन खोज्यौँ, खुट्टामा नेल ठोकियो,’ उनले भने।

चौधरीले अधिकारका लागि गरिएको संघर्षबारे आफूहरूलाई कसैले सिकाइरहनु नपर्ने बताए। लामो समयदेखि संघर्ष गरे पनि आफूहरूबीचको असमझदारीका कारण अपेक्षित उपलब्धि हासिल गर्न नसकिएको हो कि भन्ने समीक्षा गर्नुपर्ने उनको भनाइ थियो।‘संघर्ष कस्तो हुन्छ, कसैले कसैलाई सुनाइरहन पर्दैन। संघर्ष हामीले यति गर्‍यौँ र यति गर्दैछौँ। तर लाग्छ, कहीँ कतै हामीभित्रको असमञ्जस्यताले हामीले प्राप्ति नपाएको त हैन ?’ उनले प्रश्न गरे।

उनले विभिन्न समुदाय र पहिचानबीच एकता आवश्यक रहेकोमा जोड दिए। फरक पोसाक, संस्कृति र पहिचानलाई एकतामा जोड्दै अधिकार प्राप्तिका लागि साझा मोर्चा आवश्यक रहेको उनले बताए। ‘दौरासुरुवालको फेरसँग हात मिलेपछि, धोतीसँग माया मिलेपछि, चौबन्दीसँग छाती जोडिएपछि सबैकुरा नमिले पनि परिश्रमले चुहाएको पसिना पुछिदिने गम्छा त मिल्छ नि,’ चौधरीले भने।

अग्रगामी मोर्चा गठनलाई लिएर विभिन्न प्रतिक्रिया आइरहेको उल्लेख गर्दै उनले मोर्चाको उद्देश्य र आगामी कार्यक्रम कार्यपत्रमार्फत स्पष्ट पारिने बताए। देशमा संविधान कार्यान्वयन भइरहे पनि आफूहरूको अधिकार अझै सुनिश्चित हुन नसकेको दाबी गर्दै चौधरीले त्यसका लागि अग्रगामी मोर्चाको एकता आवश्यक रहेको बताए।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit