काठमाडाैं । नेपालको अटोमोबाइल बजार पछिल्ला केही वर्षयता उतारचढावपूर्ण अवस्थाबाट गुज्रिरहेको छ। आर्थिक गतिविधिमा आएको सुस्तता, उच्च ब्याजदर, कर्जा प्रवाहमा देखिएको संकुचन तथा उपभोक्ताको घट्दो क्रयशक्तिले अटो बजारमा प्रत्यक्ष प्रभाव पारेको थियो।
पछिल्लो समय भने बैंकिङ प्रणालीमा पर्याप्त तरलता, ब्याजदरमा आएको कमी र आर्थिक गतिविधि विस्तारै चलायमान हुन थालेसँगै अटो बजारमा पनि सुधारका संकेत देखिन थालेका छन्।
यद्यपि, बजारमा प्रतिस्पर्धा भने पहिलेभन्दा निकै तीव्र भएको छ। विशेषगरी विद्युतीय सवारीको बढ्दो मागसँगै चिनियाँलगायत विभिन्न अन्तर्राष्ट्रिय ब्रान्डहरू नेपाली बजारमा प्रवेश गरेका छन्।
उपभोक्ताका लागि विकल्प बढेसँगै मूल्य मात्र होइन, प्रविधि, सुरक्षा, बिक्रीपछिको सेवा, स्पेयर पार्ट्सको उपलब्धता, पुनर्बिक्री मूल्य र दीर्घकालीन स्वामित्व लागत पनि खरिद निर्णयका महत्वपूर्ण आधार बन्न थालेका छन्। भाेलिबाट सुरू हुने नाडा अटाे शाे पूर्वसन्ध्यामा शारदा ग्रुपका निर्देशक गाैरव शारदासँग गरिएकाे कुराकानीकाे सम्पादित अंशः
गत वर्ष पहिलो संस्करण सफलतापूर्वक सम्पन्न भयो। यस वर्षको नाइमा मोबिलिटी एक्स्पोको तयारी कहाँ पुगेको छ ?
हाम्रो तयारी लगभग अन्तिम चरणमा पुगेको छ। स्टलको लेआउटदेखि प्रदर्शकलाई उपलब्ध गराइने सुविधाहरू, प्रशासनिक प्रक्रिया तथा सम्पूर्ण व्यवस्थापन पूरा भइसकेको छ। अब स्थलमा अन्तिम संरचना निर्माण र सजावटको काम मात्र बाँकी छ। यस वर्ष पनि आगन्तुकलाई अझ व्यवस्थित, आकर्षक र नयाँ अनुभव दिने गरी एक्स्पो आयोजना गर्दैछौं।
यस वर्षको एक्स्पोको मुख्य उद्देश्य के हो ?
नाइमाको मूल उद्देश्य ‘मोबिलिटी सोलुसन्स फर अल’ अर्थात् सबैका लागि उपयुक्त यातायात समाधान उपलब्ध गराउनु हो। नेपाली सडक, भूगोल र उपभोक्ताको आवश्यकता अनुरूप दुईपांग्रे,चारपांग्रे, व्यावसायिक सवारी तथा चार्जिङ समाधान एउटै थलोमा अवलोकन गर्न सकिने वातावरण तयार गरेका छौं।
अहिले निजी क्षेत्र र अटोमोबाइल बजार केही सुस्त देखिन्छ। यसको मुख्य कारण के हो ?
यो नेपाल मात्रको समस्या होइन, विश्व अर्थतन्त्र नै केही वर्षयता मन्दीको चक्रमा छ। नेपालमा कोभिडपछि सुरु भएको आर्थिक सुस्तताले अटोमोबाइल क्षेत्रलाई पनि असर गरेको छ। बजेट र मौद्रिक नीतिले केही सकारात्मक संकेत दिए पनि निजी क्षेत्रका सबै अपेक्षा सम्बोधन भएका छैनन्।
हामीले विशेषगरी लोन–टु–भ्यालु अनुपात घटाएर डाउन पेमेन्ट २० प्रतिशतमा झार्न राष्ट्र बैंकसँग आग्रह गर्दै आएका छौं। यसले सवारी बिक्री बढाउँछ, सरकारी राजस्व वृद्धि हुन्छ र बैंकमा रहेको अतिरिक्त तरलता पनि उत्पादनशील क्षेत्रमा परिचालन हुन्छ।
बजारमा धेरै नयाँ ब्रान्ड देखिए पनि समग्र अटोमोबाइल बजार बढेको जस्तो देखिँदैन। वास्तविक अवस्था के हो ?
बाहिरबाट हेर्दा बजार चलायमान देखिए पनि तथ्यांकले त्यस्तो देखाउँदैन। पछिल्ला चार वर्षदेखि चारपांग्रे सवारीको आयात करिब १३–१४ हजार युनिट वरिपरि स्थिर छ। अर्थात् नयाँ ब्रान्ड थपिए पनि समग्र बजार विस्तार भएको छैन। केही ब्रान्डले राम्रो प्रदर्शन गरे पनि उद्योगको समग्र वृद्धि भने स्थिर नै छ।
युवाको जनसंख्या धेरै भएको देशमा पनि अटोमोबाइल बजार किन विस्तार हुन सकेन ?
नेपाल युवा जनसंख्या धेरै भएको मुलुक हो। यस्तो देशमा मोबिलिटीको माग बढ्नुपर्ने हो। तर आर्थिक गतिविधिमा आएको सुस्तता, उपभोक्ताको क्रयशक्ति र वित्तीय पहुँचमा आएको कठिनाइका कारण अपेक्षित वृद्धि हुन सकेको छैन। यो अटोमोबाइल उद्योगका लागि पनि गम्भीर छलफलको विषय बनेको छ।
यस वर्ष नाइमा एक्स्पोमा नयाँ के–के आकर्षण रहनेछन् ?
एक्स्पोमा निसान, ओमोडा, जेकू र चेरी लगायतका ब्रान्डका नयाँ मोडलहरू प्रदर्शन गरिनेछ। विशेषगरी चेरी ब्रान्डका नयाँ उत्पादन नेपाली बजारमा पहिलो पटक सार्वजनिक गरिनेछन्। ग्राहकका लागि आकर्षक अफर पनि एक्स्पोमै घोषणा गरिनेछ।
चिनियाँ ईभी ब्रान्डहरूबीच बढ्दो प्रतिस्पर्धामा आफ्नो ब्रान्डलाई कसरी फरक बनाउँदै हुनुहुन्छ ?
हामी विश्वकै अग्रणी अटोमोबाइल कम्पनीमध्ये एक चेरी ग्रुपसँग सहकार्य गरिरहेका छौं। चेरी लगातार २३ वर्षदेखि चीनको सबैभन्दा ठूलो अटोमोबाइल निर्यातकर्ता हो। उत्कृष्ट उत्पादनसँगै हाम्रो बलियो आफ्टर सेल्स सर्भिस र ग्राहकको विश्वास नै हाम्रो सबैभन्दा ठूलो प्रतिस्पर्धात्मक शक्ति हो।
चार्जिङ पूर्वाधार विस्तारमा शारदा ग्रुपको योजना के छ ?
दुई वर्षअघि केही चार्जिङ स्टेशन स्थापना गरेका थियौं। अहिले निजी क्षेत्रका चार्जिङ सेवा प्रदायकहरूले राम्रो नेटवर्क विस्तार गरिरहेका छन्। त्यसैले हामी आफ्नै नयाँ स्टेशन थप्नुको सट्टा ग्राहकलाई देशभर रहेको हाम्रो सेवा सञ्जालमार्फत करिब ४०–५० स्थानमा फास्ट चार्जिङ सुविधा उपलब्ध गराइरहेका छौं। मुस्ताङ मार्गमा रहेको फास्ट चार्जिङ स्टेशन पनि हाम्रो पहलमा स्थापना गरिएको हो।
यस वर्षको एक्स्पोमा ‘लर्निङ सेसन’ पनि हुनेछ भनिएको छ। त्यसबारे बताइदिनुहोस्। एक्स्पो अवधिभर नेपाल पुलिस क्लबको ब्लु प्याभिलियनमा दैनिक लर्निङ सेसन सञ्चालन हुनेछ। सडक सुरक्षा, ब्याट्री व्यवस्थापन, इथानोल ब्लेन्डिङ, नयाँ प्रविधि तथा नेपालको मोबिलिटी क्षेत्रको भविष्यजस्ता विषयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञ सहभागी हुनेछन्। यसले एक्स्पोलाई केवल व्यापारिक प्रदर्शनी नभई ज्ञान आदान–प्रदानको साझा मञ्च पनि बनाउनेछ।
आगन्तुकको सहजताका लागि पार्किङ र यातायात व्यवस्थापन कस्तो छ ?
विगतको अनुभवलाई आधार बनाएर बृकुटीमण्डपसँगै नेपाल पुलिस क्लबको ब्लु प्याभिलियनमा थप पार्किङ व्यवस्था गरिएको छ। साथै, हाम्रो राइड–सेयरिङ पार्टनरमार्फत आगन्तुकलाई सहुलियतपूर्ण यात्रा सुविधा पनि उपलब्ध हुनेछ।
नेपालको अटोमोबाइल बजार अब पूर्ण रूपमा विद्युतीय सवारीतर्फ उन्मुख भइसकेको हो ?
प्रेट्रोलियम प्रविधिका सवारीको पनि आफ्नै बजार छ। तर नेपालको ऊर्जा स्रोत, सरकारी नीतिगत सहुलियत र वातावरणीय आवश्यकता हेर्दा ईभी नै सबैभन्दा उपयुक्त विकल्प हो।
गत वर्ष नेपाल नयाँ ईभी अपनाउने देशमध्ये विश्वकै अग्रणी मुलुकमा परेको थियो। अहिले नयाँ निजी कार बिक्रीमध्ये करिब ७५ प्रतिशत विद्युतीय सवारी छन्। यसले पेट्रोलियम आयातमा निर्भरता घटाउनुका साथै वायु प्रदूषण नियन्त्रणमा पनि ठूलो योगदान पु¥याउनेछ। नेपालको जलविद्युत र स्वच्छ ऊर्जाको उपयोग गर्दै ईभी प्रविधि अझ तीव्र रूपमा विस्तार हुने हाम्रो विश्वास छ।
अन्त्यमा, आम नागरिकलाई के सन्देश दिन चाहनुहुन्छ ?
अगस्ट ११ देखि १६ सम्म भृकुटीमण्डपमा आयोजना हुने दोस्रो नाइमा मोबिलिटी एक्स्पोमा सम्पूर्ण नेपालीलाई हार्दिक निमन्त्रणा गर्दछु। नयाँ प्रविधि, नवीन सवारीसाधन, आकर्षक अफर र ज्ञानमूलक कार्यक्रमको अनुभव लिन सबैलाई एक्स्पोमा सहभागी हुन आग्रह गर्दछु।















प्रतिक्रिया दिनुहोस्