काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालको आर्थिक रूपान्तरण कुनै एक मन्त्रालय, नीति वा संस्थाको प्रयासबाट मात्रै सम्भव नहुने बताएका छन्। उनले सरकार र निजी क्षेत्रबीच विश्वास, सहकार्य र साझा प्रतिबद्धताबाट मात्रै मुलुकको अर्थतन्त्रलाई नयाँ चरणमा लैजान सकिने बताएका हुन् ।
अर्थ मन्त्रालयमा सोमबार विभिन्न क्षेत्रका २० ठूला करदाता तथा उद्योग–व्यवसायिक संस्थाका उच्च अधिकारीसँग भएको छलफलमा अर्थमन्त्री वाग्लेले निजी क्षेत्रलाई सरकारको साझेदारका रूपमा अघि बढ्न आग्रह गरे ।
उनले निजी क्षेत्रको सफलता नै नेपालको आर्थिक सफलताको आधार भएको उल्लेख गर्दै उद्योगी–व्यवसायीलाई नेपालमा थप लगानी गर्न, सञ्चालनमा रहेका उद्योग विस्तार गर्न, नयाँ उत्पादनमा प्रवेश गर्न तथा नयाँ प्रविधि भित्र्याउन आग्रह गरे। ‘नेपालमा अझ ठूलो लगानी गर्नुहोस् । भएका उद्योग विस्तार गर्नुहोस् । नयाँ उत्पादनमा प्रवेश गर्नुहोस् । नयाँ प्रविधि भित्र्याउनुहोस् र नयाँ रोजगारी सिर्जना गर्नुहोस्,’ अर्थमन्त्री वाग्लेले भने, ‘सरकार तपाईंहरूको साथमा उभिनेछ ।’
वाग्लेले पछिल्ला दिनमा उद्योगी–व्यवसायी, वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत तथा नेपाल राष्ट्र बैंकको नेतृत्वसँग भएका छलफलबाट पनि सरकार र निजी क्षेत्रले मिलेर आर्थिक रूपान्तरणको नेतृत्व गर्नुपर्ने साझा निष्कर्ष निस्किएको बताए ।उनका अनुसार सरकारले निजी क्षेत्रलाई शंकाको दृष्टिले हेर्नेभन्दा साझेदारका रूपमा अघि बढाउने नीति लिएको छ। सरकारको प्राथमिकता अब केवल कर संकलन बढाउनु नभई उत्पादन, लगानी, नाफा र पुनःलगानीको चक्रलाई तीव्र बनाउनु रहेको उनले स्पष्ट पारे ।
‘जब उद्योगले नाफा कमाउँछ, त्यही नाफा पुनःलगानी हुन्छ। पुनःलगानीले उत्पादन बढाउँछ। उत्पादनले रोजगारी सिर्जना गर्छ । रोजगारीले आम्दानी बढाउँछ र आम्दानीले बजार विस्तार गर्छ,’ उनले भने, ‘अन्ततः त्यसबाट राज्यको राजस्व पनि बढ्छ। त्यसैले सरकार र निजी क्षेत्रको सम्बन्ध शून्य–योग सम्बन्ध होइन , दुवैको सफलता एकअर्काको सफलतासँग जोडिएको छ ।’
लगानीको सुरक्षा सरकारको प्राथमिकता
अर्थमन्त्री वाग्लेले नेपालमा वैध रूपमा गरिएको लगानी, सिर्जना गरिएको सम्पत्ति र आर्जन गरिएको नाफाको सुरक्षा गर्नु सरकारको प्रमुख दायित्व भएको बताए । लगानीकर्ताले आफ्नो सम्पत्ति सुरक्षित रहेको, नियम स्थिर रहेको, कर प्रणाली पूर्वानुमेय रहेको र राज्य आफ्नो साझेदारका रूपमा उभिएको विश्वास गर्न सक्ने वातावरण बनाउनुपर्ने उनको भनाइ छ । उनले ठूलो लगानी आकर्षित गर्न र उद्योग विस्तार गर्न सबैभन्दा पहिले विश्वासको वातावरण आवश्यक पर्ने बताए । ‘त्यो विश्वास निर्माण नगरी ठूलो लगानी आउँदैन। त्यो विश्वास निर्माण नगरी उद्योग विस्तार हुँदैन । र त्यो विश्वास निर्माण नगरी आर्थिक रूपान्तरण सम्भव हुँदैन,’ उनले भने ।
‘समस्या मात्रै होइन, समाधान पनि बताउनुहोस्’
अर्थमन्त्री वाग्लेले व्यवसाय विस्तारका क्रममा निजी क्षेत्रले भोगिरहेका अवरोधबारे सरकारलाई स्पष्ट रूपमा जानकारी गराउन उद्योगी–व्यवसायीलाई आग्रह गरेको उनको सचिवालयले जनाएको छ।सरकारले सुरु गरेका सुधारहरू व्यवहारमा कत्तिको प्रभावकारी देखिएका छन्, व्यवसाय विस्तारमा अझै मुख्य अवरोध कहाँ छन् र तत्काल कुन क्षेत्रमा सुधार आवश्यक छ भन्ने विषयमा निजी क्षेत्रको ठोस धारणा आवश्यक रहेको उनले बताए । उनले कर प्रशासन, नियमन, जग्गा, ऊर्जा, श्रम, पूर्वाधार, वित्त, निर्यात, कानुनी व्यवस्था तथा सरकारी प्रक्रियालगायतका विषयमा देखिएका समस्या पहिचान गर्न आग्रह गरे ।
साथै, आगामी छ महिनाभित्र सरकारले लिनुपर्ने सबैभन्दा महत्वपूर्ण पाँच निर्णयबारे पनि उद्योगी–व्यवसायीबाट ठोस सुझाव मागेका छन् ।वाग्लेले छलफलबाट प्राप्त सुझावलाई केवल संकलन गरेर राख्ने नभई कार्यान्वयनयोग्य कार्यसूचीमा परिणत गर्ने प्रतिबद्धता व्यक्त गरे। छलफलमा उठेका विषयको कार्यान्वयनका लागि सम्बन्धित मन्त्रालयसँग समयबद्ध समन्वय गरिने र अर्थ मन्त्रालयले त्यसको निरन्तर अनुगमन गर्ने उनको भनाइ छ।
‘ठूला करदाता राष्ट्र निर्माणका साझेदार’
यस्तै, अर्थमन्त्रीले ठूला उद्योगी–व्यवसायी तथा करदातालाई राज्यले केवल राजस्वको स्रोतका रूपमा नहेर्ने धारणा राखे । उनले इमानदारीपूर्वक कर तिर्ने व्यवसायी तथा करदातालाई उच्च सामाजिक सम्मान दिलाउने वातावरण निर्माण गर्नु सरकारको दायित्व भएको बताए । ‘सरकारले कर तिर्नेलाई केवल राजस्वको स्रोतका रूपमा होइन, राष्ट्र निर्माणको साझेदारका रूपमा सम्मान गर्छ,’ उनले भने ।नेपालमा उद्योगी सफल हुँदा समाजले गर्व गर्ने, लगानीकर्ता आफ्नो लगानीप्रति सुरक्षित महसुस गर्ने, करदाता सम्मानित हुने र युवालाई उद्यम गर्न प्रेरणा मिल्ने वातावरण निर्माण गर्न सरकार केन्द्रित रहेको उनले बताए ।
२० ठूला करदाता एउटै टेबलमा
अर्थमन्त्री वाग्लेसँगको छलफलमा उत्पादन, दूरसञ्चार, पेय पदार्थ, सिमेन्ट, ऊर्जा, हवाई सेवा, निर्माण, कृषि तथा उपभोग्य वस्तुलगायत विभिन्न क्षेत्रका २० ठूला करदाता तथा उद्योग–व्यवसायिक संस्थाका प्रतिनिधि सहभागी थिए ।
छलफलमा सूर्य नेपाल, एनसेल आजियाटा, आरती स्ट्राईप्स, गोर्खा ब्रुअरी, हिमालय एअरलाइन्स, होङ्शी शिवम् सिमेन्ट, डुसान इनरबिलिटी कम्पनी, डाबर नेपाल, वोटलर्स नेपाल (तराई), यूनिलिभर नेपाल, एशियन पेन्ट्स (नेपाल), पावर कन्स्ट्रक्सन कर्पोरेसन अफ चाइना, गोर्खा लाहारी, ह्वासिन सिमेन्ट नारायणी, न्यू होप एग्रो बिजनेस नेपाल, नेपाल वेलहोप एग्रि–टेक, वरुण बेभरेज नेपाल, टर्किस एयरलाइन्स, भोटेकोशी पावर कम्पनी र बर्जर जेन्सन एण्ड निकोल्सन (नेपाल) का प्रतिनिधि सहभागी थिए ।
अर्थमन्त्रीले सरकार र निजी क्षेत्रबीचको संवादलाई एकपटकको कार्यक्रमका रूपमा सीमित नगर्ने बताएका छन् । निजी क्षेत्रले उठाएका समस्या समाधान नभएसम्म संवाद र समन्वयलाई निरन्तरता दिने उनको भनाइ छ । वाग्लेले सरकार र निजी क्षेत्रबीचको साझेदारीलाई थप बलियो बनाउँदै आगामी दशकलाई ‘ठूलो लगानी, ठूलो उत्पादन, ठूलो रोजगारी र ठूलो आत्मविश्वासको दशक’ बनाउनुपर्नेमा जोड दिएको उनको सचिवालयले जनाएको छ।














प्रतिक्रिया दिनुहोस्