काठमाडौं। वर्षा, बाढी र सुख्खा पहिरोका कारण नेपाल–चीनबीचको स्थलमार्ग व्यापार प्रभावित बनेको छ। विशेषगरी अरनिको राजमार्ग हुँदै सञ्चालन हुने तातोपानी नाका करिब दुई महिनादेखि ठप्प हुँदा चीनबाट आयात हुने सिजनल तथा चाडपर्व लक्षित सामान बाटोमै रोकिएका छन्। यसले व्यवसायीको ठूलो लगानी लामो समयसम्म ‘फ्रिज’ हुनुका साथै ढुवानी लागत र बजारमा सामानको मूल्यसमेत बढ्ने जोखिम बढाएको छ।
नेपाल हिमालय सिमापार वाणिज्य संघका महासचिव रामचन्द्र पराजुलीका अनुसार नेपाल–चीनबीच स्थल, जल र हवाई गरी तीन माध्यमबाट व्यापार हुने भए पनि व्यवसायीको ठूलो निर्भरता स्थलमार्गमै छ। बर्खायाम सुरु भएसँगै उत्तरी नाकाबाट हुने व्यापारमा आएको शिथिलताले व्यवसायी र सरकार दुवैलाई असर पारेको उनको भनाइ छ। उनका अनुसार तातोपानी नाका गत असारदेखि नै पहिरोका कारण प्रभावकारी रूपमा बन्द छ। डाक्लाङ र इको क्षेत्रमा गएको पहिरोका कारण आयात–निर्यात दुवै प्रभावित बनेका छन् । नाका बन्द भएपछि अर्बौं रुपैयाँ मूल्यका सामान चीनतर्फ, नेपालतर्फ तथा भन्सार र गोदाममा रोकिएका छन् । करिब दुई महिनादेखि तातोपानीबाट सामान आवतजावत हुन नसकेको उनले बताए ।
एउटा नाका बन्द हुँदा अर्कोमा बढ्यो चाप
तातोपानी बन्द भएपछि नेपाल–चीन व्यापारको ठूलो हिस्सा रसुवागढी नाकातर्फ मोडिएको छ। रसुवागढी पूर्ण रूपमा बन्द नभए पनि सडकको अवस्थाका कारण पटक–पटक अवरोध हुने गरेको पराजुलीले बताए । तातोपानीबाट आउने सामान रसुवातर्फ डाइभर्ट भएपछि त्यहाँ चाप बढेको छ। यसले ढुवानी भाडा बढ्नुका साथै सामानको आवतजावतमा दबाब सिर्जना गरेको उनको भनाइ छ। उनका अनुसार रसुवागढीबाट अहिले सामानको आवतजावत भइरहेको भए पनि तातोपानीको अतिरिक्त चापका कारण व्यापारिक लागत बढिरहेको छ । यसले नेपाल–चीन व्यापारको एउटा महत्वपूर्ण कमजोरीसमेत उजागर गरेको छ-सीमापार व्यापार केही सीमित नाकामा अत्यधिक निर्भर हुनु। एउटा प्रमुख नाका लामो समय बन्द हुँदा त्यसको असर तत्काल अर्को नाकामा पर्ने अवस्था देखिएको छ ।
सामान बोकेका कन्टेनर असुरक्षित
तातोपानी क्षेत्रमा समस्या सडकमा मात्र सीमित छैन । पर्याप्त पार्किङ तथा भण्डारण पूर्वाधारको अभावका कारण बाटोमा रोकिएका कन्टेनरसमेत जोखिममा रहेको पराजुलीले बताए । तातोपानी भन्सारको आइसिडी क्षेत्रमा समेत पहिरो गएको र केही दिनअघि गएको सुक्खा पहिरोका कारण कन्टेनर क्षतिग्रस्त भएको उनको भनाइ छ। पहिरोपछि कतिपय सामान तितरबितर भएको तथा बाटोमा रोकिएका कन्टेनर जुनसुकै बेला पहिरोले बगाउन सक्ने जोखिम रहेको उनले बताए ।
‘हामीले कन्टेनर सुरक्षित राख्ने ठाउँसमेत पाएका छैनौं । कन्टेनरभित्रका सामान पनि जोखिममा छन्। कतिबेला पहिरोले बगाउने हो भन्ने चिन्ता छ,‘ उनले भने ।
यसले व्यापार अवरोधलाई केवल आयात–निर्यातको समस्या नभई भौतिक पूर्वाधार र जोखिम व्यवस्थापनको विषयसमेत बनाएको छ। नाका खुलिहाले पनि सुरक्षित पार्किङ, कन्टेनर व्यवस्थापन, यार्ड र सडक पूर्वाधार पर्याप्त नहुँदा समस्या दोहोरिन सक्ने देखिन्छ।
दशैं–तीजको सामान बाटोमै, व्यवसायीको अर्बौं पुँजी ‘फ्रिज’
चीनबाट नेपालमा आउने ठूलो हिस्सा सामान चाडपर्व र सिजन लक्षित हुने भएकाले अहिलेको अवरोधले व्यवसायीलाई थप दबाबमा पारेको छ। पराजुलीका अनुसार अहिले बाटोमा रोकिएका सामानमध्ये दशैं, तीजलगायत सिजनलाई लक्षित गरेर ल्याइएका सामानसमेत छन्।
‘व्यवसायीले सिजनलाई लक्षित गरेर सामान ल्याएका हुन्। तर दुई महिनादेखि बाटोमै रोकिँदा अर्बौं लगानी नै फ्रिज भएको छ। समयमा बजारमा सामान नआए व्यवसायीले ठूलो घाटा व्यहोर्नुपर्ने अवस्था छ,‘ उनले भने । ‘सामान ढिला आइपुग्दा डिटेन्सन, डेमरेज, ढुवानी तथा अन्य अतिरिक्त खर्च थपिन्छन् । ती सबै लागत अन्ततः उपभोक्तामाथि नै जाने भएकाले केही प्रतिशत मूल्यवृद्धि हुने निश्चित छ,‘ पराजुलीले भने । सिजन सकिएपछि बजारमा पुर्याइएका यस्ता सामानको व्यावसायिक मूल्य घट्न सक्ने भएकाले व्यवसायीको लगानी डुब्ने जोखिम बढेको उनले बताए। सामान समयमा नेपाल नभित्रिँदा व्यवसायीको पुँजी लामो समयसम्म रोकिएको छ भने उपभोक्ताले समेत सिजनअनुसारका सामान सहज रूपमा पाउन नसक्ने अवस्था बनेको छ ।
व्यवसायीको समस्या सामान बाटोमै अड्किनुमा मात्र सीमित छैन । लामो समय कन्टेनर तथा ट्रक रोकिँदा डिटेन्सन, ड्यामेजलगायतका अतिरिक्त खर्च थपिने र सामानको लागत बढ्ने पराजुलीले बताए । पहिले भुक्तानी गरिएको दरभन्दा सामान नेपाल आइपुग्दासम्म लागत बढ्न सक्ने भएकाले अन्ततः त्यसको केही हिस्सा बजार मूल्यमा समेत प्रतिबिम्बित हुने उनको भनाइ छ।उनले भने, ‘सामान ढिला आइपुग्दा डिटेन्सन, डेमरेज, ढुवानी तथा अन्य अतिरिक्त खर्च थपिन्छन्। ती सबै लागत अन्ततः उपभोक्तामाथि नै जाने भएकाले केही प्रतिशत मूल्यवृद्धि हुने निश्चित छ ।‘ यस अर्थमा अहिलेको नाका अवरोधले तीन तहमा असर पारिरहेको देखिन्छ-व्यवसायीको पुँजी रोकिएको छ, आपूर्ति शृंखला महँगिएको छ र उपभोक्तासम्म पुग्ने वस्तुको लागत बढ्ने जोखिम छ ।
तीन नाकामा निर्भरता घटाउन माग
तातोपानीको अवरोधपछि व्यवसायीले नेपाल–चीन व्यापारका लागि वैकल्पिक नाका विस्तार गर्नुपर्ने मागलाई व्यवसायीले पुनः जोड दिएका छन् । हाल तातोपानी, रसुवागढी र कोरला नाका सञ्चालनमा रहेको उल्लेख गर्दै पराजुलीले दोलखाको लामाबगर, इलाम, गोरखा तथा हुम्लालगायतका सम्भावित नाकाको विकास र सञ्चालनमा सरकारले ध्यान दिनुपर्ने बताए । लामाबगर नाका सञ्चालनका लागि सम्भाव्यता अध्ययन भइरहेको र व्यवसायी पक्षबाट समेत त्यसका लागि पहल भइरहेको उनले जानकारी दिए । मुस्ताङको कोरला नाका सञ्चालनमा आए पनि राजधानीबाट दूरी लामो हुनु तथा मौसमअनुसार सडकमा समस्या देखिनुले त्यसलाई नियमित व्यापारिक विकल्पका रूपमा पूर्ण क्षमतामा प्रयोग गर्न चुनौती रहेको उनको भनाइ छ । बर्खामा सडक र हिउँदमा हिमपातका कारण आवतजावत प्रभावित हुने भएकाले पूर्वाधार सुधार आवश्यक रहेको उनले बताए । कोरला अहिले तातोपानी र रसुवागढीको विकल्पका रूपमा केही हदसम्म प्रयोग भइरहेको भए पनि दीर्घकालीन रूपमा थप नाका र भरपर्दो सडक पूर्वाधार आवश्यक रहेको व्यवसायीको निष्कर्ष छ ।
पूर्वाधार कमजोर हुँदा नाका सञ्चालनको जोखिम बढ्दै
पराजुलीका अनुसार नेपाल–चीन व्यापारको दीर्घकालीन विस्तारका लागि सडक मात्र नभई भन्सार, आइसिडी, पार्किङ र लजिस्टिक पूर्वाधारसमेत सुधार गर्न आवश्यक छ। उनले भने, ‘तीन नाकामा मात्र निर्भर हुँदा एउटा बन्द भए सम्पूर्ण व्यापार प्रभावित हुन्छ। त्यसैले थप नाका खोल्नु अहिलेको आवश्यकता हो।’ व्यवसायीहरूले तातोपानी नाकाको स्थलगत निरीक्षण गरी सरकारका सम्बन्धित निकायसँग समस्या समाधानका लागि निरन्तर पहल गर्दै आएका छन्। पहिरो प्रभावित क्षेत्रमा पुग्नसमेत जोखिमपूर्ण अवस्था रहेको र स्थलगत निरीक्षणका क्रममा पहिरो पार गरेर जानुपर्ने अवस्था आएको उनले बताए । ‘स्थिति निकै जटिल छ । पहिरो पार गरेर जोखिमपूर्ण रूपमा स्थलगत अध्ययन गर्नुपरेको थियो,‘ उनले भने ।
चीनमा ठूलो बजार, तर नेपालको उत्पादन क्षमता कमजोर
उनका अनुसार व्यवसायीका तर्फबाट सरकारलाई व्यापार सहजीकरण, बजेट विनियोजन तथा नेपाल–चीनबीचका नीति र सम्झौता निर्माण प्रक्रियामा व्यवसायीको सहभागितासम्बन्धी सुझाव दिइँदै आएको छ । दुई देशबीचको व्यापार विस्तारका लागि व्यवसायीको प्रत्यक्ष अनुभवलाई नीतिनिर्माणमा समेट्नुपर्ने उनको जोड छ । नेपाल–चीन व्यापारको अर्को पक्ष भनेको चीनबाट हुने आयातको तुलनामा नेपालबाट चीनतर्फ हुने निर्यातको कमजोर अवस्था हो । पराजुलीका अनुसार चीनले नेपालबाट आयात गर्न सकिने ८ हजारभन्दा बढी वस्तुलाई सुविधा दिएको भए पनि नेपालको उत्पादन क्षमता कमजोर भएकाले त्यसको पर्याप्त उपयोग हुन सकेको छैन। चीनमा मासुजन्य वस्तु, सिट्रस फलफूल, खाद्यान्न, चिया तथा हस्तकलाका सामग्रीको सम्भावना रहेको उनले बताए ।
तर अन्तर्राष्ट्रिय मापदण्डअनुसारको प्रयोगशाला, गुणस्तरीय उत्पादन र निर्यातसम्बन्धी पूर्वाधारको अभावले नेपाली वस्तु चीनमा पठाउन चुनौती रहेको उनको भनाइ छ । अहिले हस्तकलाका सामान, केही खाद्यान्न, चिया, चाउचाउ, मुडा तथा तामाका भाँडाकुँडालगायतका वस्तु चीनतर्फ निर्यात भइरहेको उनले बताए । यसले नेपाल–चीन व्यापारमा रहेको संरचनात्मक असन्तुलनसमेत देखाउँछ । चीनसँगको व्यापारलाई केवल आयातको माध्यमका रूपमा नभई नेपाली उत्पादनका लागि ठूलो बजारका रूपमा उपयोग गर्न उत्पादन क्षमता, गुणस्तर प्रमाणीकरण र निर्यात पूर्वाधारमा लगानी बढाउनुपर्ने व्यवसायीको भनाइ छ ।















प्रतिक्रिया दिनुहोस्