काठमाडौं। बुटवल पावर कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिक अवधिको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरणअनुसार कम्पनीले चालु आर्थिक वर्षमा नाफा आर्जनसँगै विद्युत बिक्री तथा सञ्चालन आम्दानीमा पनि सुधार गरेको छ।
कम्पनीले असार मसान्तसम्म ३३ करोड ५४ लाख ४२ हजार रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको २१ करोड ७३ लाख ३६ हजार रुपैयाँको तुलनामा ५४.३४ प्रतिशत बढी हो। कम्पनीको विद्युत बिक्री तथा सेवा शुल्कबाट हुने आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा यस्तो आम्दानी ८० करोड १६ लाख रुपैयाँ पुगेको छ, जुन अघिल्लो आर्थिक वर्षमा ७३ करोड ३७ लाख रुपैयाँ थियो। यसअनुसार कम्पनीको मुख्य सञ्चालन आम्दानी करिब ९.२४ प्रतिशतले वृद्धि भएको छ।
कम्पनीको सञ्चालन नाफामा पनि उल्लेख्य सुधार देखिएको छ। अघिल्लो आर्थिक वर्षमा २६ करोड ६० लाख रुपैयाँ रहेको सञ्चालन नाफा चालु आर्थिक वर्षमा बढेर ४२ करोड १९ लाख रुपैयाँ पुगेको कम्पनीको वित्तीय विवरणमा उल्लेख छ। कम्पनीको प्रतिशेयर आम्दानी ९.८४ रुपैयाँ र प्रतिशेयर नेटवर्थ २१०.८७ रुपैयाँ रहेको छ।
६०१ मेगावाटका आयोजना अघि बढाउँदै
बुटवल पावरले चिनियाँ साझेदारसँगको सहकार्यमा कुल ६०१ मेगावाट क्षमताका तीन ठूला जलविद्युत आयोजना अघि बढाइरहेको जनाएको छ। यी आयोजनामा १३५ मेगावाटको मनाङ मर्स्याङ्दी, १३९.२ मेगावाटको तल्लो मनाङ मर्स्याङ्दी र ३२७ मेगावाटको माथिल्लो मर्स्याङ्दी–२ आयोजना छन्। कम्पनीद्वारा सार्वजनिक प्रतिवेदनअनुसार यी तीन आयोजना मर्स्याङ्दी करिडोरमा ‘क्यास्केड’ अवधारणामा विकास भइरहेका छन्। तीनमध्ये मनाङ मर्स्याङ्दी आयोजना निर्माणको चरणमा अघि बढिरहेको छ। उक्त आयोजनाका लागि वित्तीय व्यवस्थापन सम्पन्न भई निर्माण कार्य अघि बढाइएको कम्पनीले जनाएको छ। आयोजनाको निर्माण चिनियाँ कम्पनी सिनो हाइड्रो ब्युरो ७ ले गर्ने गरी प्रक्रिया अघि बढेको थियो।
न्यादीको ऊर्जा खेर जाने समस्या
कम्पनीको अर्को महत्वपूर्ण आयोजना न्यादी जलविद्युत आयोजना सञ्चालनमा आइसकेको छ। तर, प्रसारण लाइनसम्बन्धी समस्याका कारण वर्षायाममा आयोजनाबाट उत्पादन हुने केही ऊर्जा पूर्ण रूपमा बिक्री गर्न नसक्ने अवस्था रहेको कम्पनीले जनाएको छ। माथिल्लो मर्स्याङ्दी–ए क्षेत्रमा स्विचिङ स्टेसन निर्माण सम्पन्न भएपछि प्रसारणसम्बन्धी समस्या समाधान हुने अपेक्षा कम्पनीको छ। यसैगरी, ७.९ मेगावाट क्षमताको चिनो खोला जलविद्युत आयोजनाको निर्माण कार्य इन्जिनियरिङ, खरिद तथा निर्माण (ईपीसी) ठेक्का प्रणालीमार्फत अघि बढिरहेको छ। कम्पनीले खिम्ती–१ जलविद्युत आयोजनामा रहेको ५० प्रतिशत हक नेपाल विद्युत् प्राधिकरणलाई हस्तान्तरण गर्ने तथा नयाँ विद्युत् खरिद सम्झौता (पीपीए) गर्ने विषयमा वार्ता भइरहेको जनाएको छ। यस विषयको प्रगति कम्पनीको आगामी आम्दानी तथा नगद प्रवाहका लागि महत्वपूर्ण रहने देखिन्छ।
आयोजनालाई प्रसारण र नीतिगत चुनौती
कम्पनीले जलविद्युत आयोजना निर्माण तथा सञ्चालनमा विभिन्न आन्तरिक र बाह्य चुनौती रहेको उल्लेख गरेको छ। आयोजना निर्माणका क्रममा हुने प्रशासनिक ढिलाइ, नीतिगत अस्पष्टता, विदेशी विनिमय दरमा हुने उतारचढाव, पुँजीको लागतमा वृद्धि तथा जलवायु परिवर्तनका कारण नदीमा पानीको बहावमा हुने परिवर्तनलाई कम्पनीले प्रमुख चुनौतीका रूपमा औंल्याएको छ। त्यसैगरी, बाढीको जोखिम तथा प्रसारण लाइन निर्माणमा हुने ढिलाइका कारण उत्पादित विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोड्न समस्या देखिन सक्ने कम्पनीको आकलन छ।
यसरी चालु आर्थिक वर्षमा नाफा र सञ्चालन आम्दानीमा सुधार गरेको बुटवल पावरले एकातर्फ विद्यमान आयोजनाबाट आम्दानी विस्तार गरिरहेको छ भने अर्कोतर्फ ६०१ मेगावाट क्षमताका ठूला आयोजनालाई अघि बढाएर दीर्घकालीन उत्पादन क्षमता विस्तार गर्ने रणनीति लिएको जनाएको छ।















प्रतिक्रिया दिनुहोस्