काठमाडौं । हिमालयन डिस्टिलरीले आर्थिक वर्ष २०८२/८३ मा १ अर्ब २० करोड ६३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।
कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा कम्पनीको खुद नाफा २८.१३ प्रतिशतले वृद्धि भएको हो। आर्थिक वर्ष २०८१/८२ मा कम्पनीले ९४ करोड १४ लाख ४६ हजार ४८७ रुपैयाँ खुद नाफा कमाएको थियो। गत आर्थिक वर्षमा कम्पनीले ८ अर्ब ११ करोड ३७ लाख रुपैयाँको व्यापार गरेको छ। अन्तःशुल्क कट्टीपछिको खुद बिक्री आम्दानी भने ४ अर्ब ३७ करोड १८ लाख रुपैयाँ रहेको छ। अघिल्लो आर्थिक वर्षमा यस्तो बिक्री आम्दानी ३ अर्ब ७० करोड ८७ लाख रुपैयाँ थियो। व्यापार तथा बिक्री आम्दानीमा भएको सुधारसँगै कम्पनीको नाफामा पनि वृद्धि भएको हो।
वित्तीय विवरणअनुसार कम्पनीको कुल नाफा ३ अर्ब ५ करोड ९३ लाख रुपैयाँ रहेको छ। कम्पनीले कर्मचारी खर्चमा ४७ करोड ९१ लाख रुपैयाँ र प्रशासनिक खर्चमा १९ करोड ५५ लाख रुपैयाँ खर्च गरेको छ। यी खर्चका बाबजुद कम्पनीले १ अर्ब ६७ करोड ७५ लाख रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको उल्लेख गरेको छ। कम्पनीले गत आर्थिक वर्षमा सरकारलाई आयकरबापत ४२ करोड ६७ लाख रुपैयाँ भुक्तानी गरेको जनाएको छ।
नाफा बढेसँगै कम्पनीको प्रतिशेयर आम्दानी (ईपीएस) पनि बढेको छ। गत आर्थिक वर्षमा कम्पनीको प्रतिशेयर आम्दानी ३२.७१ रुपैयाँ कायम भएको छ। अघिल्लो आर्थिक वर्षमा यस्तो आम्दानी २५.५३ रुपैयाँ थियो। त्यस्तै, कम्पनीको प्रतिशेयर नेटवर्थ १४१.४३ रुपैयाँ रहेको छ भने मूल्य–आम्दानी अनुपात ३४.८५ गुणा कायम भएको छ। कम्पनीले बजारमा बढ्दो प्रतिस्पर्धा, कच्चा पदार्थको मूल्यमा हुने उतारचढाव तथा सरकारी नीतिमा हुने परिवर्तनलाई प्रमुख चुनौतीका रूपमा औंल्याएको छ। यद्यपि, कम्पनीले उत्पादनको गुणस्तर कायम राख्दै नयाँ उत्पादन पोर्टफोलियो विस्तारमा जोड दिएको जनाएको छ। कम्पनीका अनुसार गोल्डेन ओक र ब्ल्याक ओकजस्ता ब्रान्डको बजारमा राम्रो माग रहेको छ।
बिक्री आम्दानीमा भएको वृद्धि, सञ्चालन मुनाफामा सुधार र नाफा वृद्धिले हिमालयन डिस्टिलरीको आर्थिक वर्ष २०८२/८३ को वित्तीय अवस्था अघिल्लो वर्षको तुलनामा बलियो रहेको देखिएको छ।















प्रतिक्रिया दिनुहोस्