काठमाडौं । नेपाल टेलिकमले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिकसम्म ८ अर्ब ८६ करोड ४६ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २ अर्ब ८५ करोड ७९ लाख रुपैयाँ अर्थात् ४७.५८ प्रतिशतले बढी हो।
गत आर्थिक वर्षको चौथो त्रैमासिकसम्म कम्पनीको खुद मुनाफा ६ अर्ब ६७ लाख रुपैयाँ रहेको थियो।
कम्पनीले सार्वजनिक गरेको चौथो त्रैमासिकको अपरिष्कृत वित्तीय विवरणअनुसार समीक्षा अवधिमा नेपाल टेलिकमको कुल सञ्चालन आय ३४ अर्ब ९५ करोड ४ लाख रुपैयाँ पुगेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको ३३ अर्ब ८९ करोड ४५ लाख रुपैयाँको तुलनामा १ अर्ब ५ करोड ५९ लाख रुपैयाँ अर्थात् ३.१२ प्रतिशतले बढी हो।
त्यस्तै, कम्पनीको कुल आय ३९ अर्ब १९ करोड ९६ लाख रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको सोही अवधिमा कुल आय ३८ अर्ब १८ करोड ८१ लाख रुपैयाँ रहेकोमा यस वर्ष १ अर्ब १ करोड १५ लाख रुपैयाँ अर्थात् २.६५ प्रतिशतले वृद्धि भएको हो।
समीक्षा अवधिमा कम्पनीको करअघिको मुनाफा पनि उल्लेख्य बढेको छ। करअघिको मुनाफा १३ अर्ब २६ करोड ४७ लाख रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको सोही अवधिमा यस्तो मुनाफा ९ अर्ब ८५ करोड २ लाख रुपैयाँ रहेको थियो। यसअनुसार करअघिको मुनाफा ३ अर्ब ४१ करोड ४५ लाख रुपैयाँ अर्थात् ३४.६६ प्रतिशतले बढेको छ।
कम्पनीको ब्याज,कर आम्दानी २० अर्ब ४८ करोड १ लाख रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको सोही अवधिको १८ अर्ब ४९ करोड ६० लाख रुपैयाँको तुलनामा EBITDA १ अर्ब ९८ करोड ४१ लाख रुपैयाँ अर्थात् १०.७३ प्रतिशतले बढेको कम्पनीले जनाएको छ।
नेपाल टेलिकमको वार्षिकीकृत प्रति शेयर आम्दानी (EPS) ४९ रुपैयाँ २५ पैसा रहेको छ।
ब्याज आम्दानी घटे पनि मुख्य सेवाबाट राजस्व बढ्यो
कम्पनीका अनुसार गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा राजस्व तथा खुद मुनाफामा वृद्धि हुनुका पछाडि विभिन्न कारण रहेका छन्। ब्याजदर क्रमिक रूपमा घटेका कारण कम्पनीको ब्याज आम्दानी भने घटेको छ। गत आर्थिक वर्षको चौथो त्रैमासिकसम्मको तुलनामा समीक्षा अवधिमा ब्याज आम्दानी करिब ८६ करोड १९ लाख रुपैयाँ अर्थात् २२.८८ प्रतिशतले घटेको छ।
यद्यपि, GSM सेवातर्फको राजस्व वृद्धि भएको छ। GSM सेवाबाट प्राप्त राजस्व गत आर्थिक वर्षको चौथो त्रैमासिकसम्मको तुलनामा ६४ करोड ५४ लाख रुपैयाँ अर्थात् २.२८ प्रतिशतले बढेको कम्पनीले जनाएको छ।
नेपाल टेलिकमले मुलुकको सञ्चार सेवाको प्रमुख पूर्वाधारका रूपमा विकट तथा दुर्गम क्षेत्रसम्म सेवा विस्तार र गुणस्तर सुधारलाई निरन्तरता दिइरहेको जनाएको छ। कम्पनीका अनुसार बढी लागत र तुलनात्मक रूपमा कम प्रतिफल प्राप्त हुने दुर्गम तथा विकट स्थानमा समेत सञ्चार सेवा विस्तार तथा गुणस्तर सुधारका लागि निरन्तर काम भइरहेको छ।
सञ्चार सेवाको पहुँच विस्तारसँगै मुख्य सेवाबाट हुने आम्दानीमा भएको वृद्धि तथा खर्च व्यवस्थापनका कारण कम्पनीको समग्र वित्तीय अवस्थामा सुधार आएको देखिएको छ।















प्रतिक्रिया दिनुहोस्