काठमाडौं । वाणिज्य बैंकहरूले आर्थिक वर्ष २०८२-८३ मा करिब ७० अर्ब रुपैयाँ खुद नाफा कमाएका छन्। बैंकहरूको समग्र खुद नाफा ६९ अर्ब ८६ करोड पुगे पनि खराब कर्जा व्यवस्थापनका लागि ठूलो रकम प्रोभिजनिङ गर्नुपर्दा वितरणयोग्य नाफामा भने दबाब देखिएको छ।
उपलब्ध वित्तीय विवरणअनुसार २० वाणिज्य बैंकको खुद ब्याज आम्दानी १ खर्ब ९२ अर्ब ३६ करोड तथा कुल सञ्चालन आम्दानी २ खर्ब ५३ अर्ब ७८ करोड पुगेको छ। बैंकहरूको कुल सञ्चालन नाफा १ खर्ब ७ अर्ब ८५ करोड रहेको छ।
खुद नाफाका आधारमा नबिल बैंक सबैभन्दा अगाडि रहेको छ। नबिलले ७ अर्ब ९० करोड खुद नाफा कमाएको छ। त्यसपछि कुमारी बैंकले ७ अर्ब ३८ करोड र ग्लोबल आइएमई बैंकले ६ अर्ब २२ करोड खुद नाफा गरेका छन्।
तर खुद नाफा उच्च भए पनि सबै बैंकको लाभांश वितरण गर्ने क्षमता समान देखिएको छैन। वितरणयोग्य नाफाका आधारमा एभरेष्ट बैंक पहिलो स्थानमा रहेको छ। एभरेष्टको वितरणयोग्य नाफा ५ अर्ब २५ करोड रहेको छ। नबिल बैंकको रु। ५ अर्ब १६ करोड र ग्लोबल आइएमई बैंकको ४ अर्ब ५८ करोड वितरणयोग्य नाफा रहेको छ।
समग्र बैंकिङ क्षेत्रमा वितरणयोग्य नाफा भने ऋणात्मक देखिएको छ। बैंकहरूको कुल वितरणयोग्य नाफा ऋणात्मक ९५ करोड ६० लाख रहेको विवरणले देखाएको छ। यसले बैंकहरूको खुद नाफा र वास्तविक लाभांश क्षमता फरक हुन सक्ने अवस्था देखाएको छ।
३९ अर्बभन्दा बढी प्रोभिजनिङ
बैंकहरूको नाफामा सबैभन्दा ठूलो दबाबमध्ये एक खराब कर्जाका लागि गरिएको इम्पेयरमेन्ट चार्ज अर्थात् प्रोभिजनिङ रहेको छ। बैंकहरूले कुल ३९ अर्ब ४० करोडभन्दा बढी रकम इम्पेयरमेन्ट चार्जका रूपमा छुट्याएका छन्।
सबैभन्दा बढी प्रोभिजनिङ गर्नेमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक अगाडि रहेको छ। बैंकले ६ अर्ब १९ करोड प्रोभिजनिङ गरेको छ। त्यस्तै प्रभु बैंकले ४ अर्ब ९४ करोड र ग्लोबल आइएमई बैंकले रु। ४ अर्ब ७८ करोड इम्पेयरमेन्ट चार्ज गरेका छन्।
अर्कोतर्फ केही बैंकले अघिल्लो अवधिमा गरिएको प्रोभिजनिङ फिर्ता अर्थात् राइटब्याक गरेका छन्। कुमारी बैंकको इम्पेयरमेन्ट चार्ज ऋणात्मक रु। १४३ करोड ९९ लाख तथा स्ट्याण्डर्ड चार्टर्ड बैंकको ऋणात्मक रु। १५ करोड ७२ लाख रहेको छ।
चार बैंकको वितरणयोग्य नाफा ऋणात्मक
वितरणयोग्य नाफाका आधारमा केही ठूला बैंकहरू भने लाभांश वितरण गर्न कठिन अवस्थामा देखिएका छन्। एनआईसी एशिया बैंकको वितरणयोग्य नाफा ऋणात्मक रु। १४ अर्ब ८६ करोड रहेको छ।
त्यस्तै हिमालयन बैंकको ऋणात्मक ९ अर्ब ८४ करोड, प्रभु बैंकको ऋणात्मक६ अर्ब ३१ करोड र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ऋणात्मक ५ अर्ब ८ करोड रहेको छ।
प्रभु बैंकको अवस्था खुद नाफामा समेत कमजोर देखिएको छ। बैंकले चौथो त्रैमासमा रु। २४ करोड १२ लाख खुद घाटा व्यहोरेको छ। समग्रमा हेर्दा बैंकिङ क्षेत्रको खुद नाफा बढेको देखिए पनि खराब कर्जा, प्रोभिजनिङ र वितरणयोग्य नाफाको अवस्थाले बैंकहरूको लाभांश क्षमता अझै चुनौतीपूर्ण रहेको संकेत गरेको छ।















प्रतिक्रिया दिनुहोस्