काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमै डिजाइन तथा निर्माण भएको विद्युतीय स्कुटर ‘यात्री पीटू’को प्रवद्र्धनका लागि सरकारको साथ रहने बताएका छन्।
काठमाडौंको बुढानीलकण्ठस्थित सिप्रदी यात्रीको कारखानामा पुगेर ‘यात्री पीटू’ निर्माण प्रक्रियाको अवलोकन गर्दै अर्थमन्त्री वाग्लेले नेपाली इन्जिनियर तथा डिजाइनरको मेहनतको प्रशंसा गर्दै सरकार आवश्यक सहयोग गर्न तयार रहेको बताएका हुन्।
उनले नेपालमै डिजाइन भएर विद्युतीय दुईपांग्रे सवारीसाधन निर्माण हुनु सुखद र ऐतिहासिक कदम भएको बताए। ‘यात्री पीटू’लाई गुणस्तरमा विश्वस्तरीय प्रतिस्पर्धामा अब्बल बनाउन र विश्व बजारमा पुर्याउन उनले सुझाव दिए।
अर्थमन्त्री वाग्लेले नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी बनाउन सरकारले के–कस्तो सहयोग गर्नुपर्ने हो त्यसबारे जानकारी गराउन आग्रह गरे। नेपालमै सम्भव भएसम्म डिजाइनदेखि उत्पादनसम्मका काम गर्नुपर्नेमा उनले जोड दिए।
उनले नेपाली इन्जिनियर र डिजाइनरले गरेको मेहनतको सम्मान गर्दै नेपालमा बनेको विद्युतीय स्कुटरले विश्व बजारमा स्थापित ब्रान्डलाई समेत प्रतिस्पर्धा गर्न सकोस् भन्ने शुभकामना दिए।















प्रतिक्रिया दिनुहोस्