Advertisement
Advertisement
Corporate Samachar
२२ भाद्र २०८३, सोमबार
Advertisement

प्राधिकरणको नाफा एक वर्षमै पौने ४ अर्ब घट्दा दायित्व बढेर ११.५१ अर्ब पुग्यो

प्राधिकरणको नाफा एक वर्षमै पौने ४ अर्ब घट्दा दायित्व बढेर ११.५१ अर्ब पुग्यो
विज्ञापन
Advertisement

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको करअघिको नाफा आर्थिक वर्ष २०८२/८३ मा अघिल्लो वर्षको तुलनामा ३ अर्ब ८७ करोड रुपैयाँले घटेको छ।

विज्ञापन
Advertisement
Advertisement

प्राधिकरणको वित्तीय विवरणअनुसार गत आर्थिक वर्षमा करअघिको नाफा ५ अर्ब ४ करोड रुपैयाँमा सीमित भएको हो। आर्थिक वर्ष २०८१/८२ मा प्राधिकरणको करअघिको नाफा ८ अर्ब ९१ करोड रुपैयाँ थियो। त्यसअघि आर्थिक वर्ष २०८०/८१ मा यस्तो नाफा १३ अर्ब ३१ करोड रुपैयाँ रहेको थियो। यससँगै पछिल्ला दुई आर्थिक वर्षमा प्राधिकरणको नाफा निरन्तर घटेको क्रममा देखिएको छ।

प्राधिकरणका अनुसार नाफा घट्नुको मुख्य कारण विदेशी विनिमय दरमा भएको वृद्धि, त्यसबाट बढेको दायित्व, ब्याज खर्च तथा ह्रासकट्टी खर्च हो। विदेशी विनिमय दरमा भएको वृद्धिका कारण प्राधिकरणले बेहोर्नुपर्ने दायित्व २७२.८६ प्रतिशतले बढेर ११ अर्ब ५१ करोड रुपैयाँ पुगेको छ। यद्यपि, प्राधिकरणको विद्युत् बिक्रीबाट हुने आम्दानी र सञ्चालनसम्बन्धी सूचकमा भने सुधार देखिएको छ। आर्थिक वर्ष २०८२/८३ मा विद्युत् बिक्री तथा अन्य आम्दानीबाट प्राधिकरणले कुल १ खर्ब ६६ अर्ब रुपैयाँ आम्दानी गरेको छ।

विद्युत् बिक्रीबाट मात्रै भएको आम्दानी अघिल्लो आर्थिक वर्षको तुलनामा १८.२० प्रतिशतले बढेर १ खर्ब ४८ अर्ब ६२ करोड रुपैयाँ पुगेको छ। विद्युत् बिक्री आम्दानीमा भएको वृद्धि विद्युत् खपत, निर्यात तथा प्रणाली सञ्चालनमा भएको सुधारसँग जोडिएको प्राधिकरणको विवरणले देखाउँछ। प्राधिकरणले कार्यसम्पादन सुधार, विद्युत् चुहावट नियन्त्रण तथा विद्युत् निर्यातमा भएको वृद्धिका कारण समग्र कुल नाफा भने १३.१७ प्रतिशतले बढेको जनाएको छ। यस्तो नाफा ३१ अर्ब २३ करोड रुपैयाँ पुगेको छ। त्यस्तै, प्राधिकरणको सञ्चालन मुनाफा ७.२८ प्रतिशतले बढेर २४ अर्ब ८१ करोड रुपैयाँ पुगेको छ। यसले वित्तीय खर्च तथा अन्य दायित्वका कारण करअघिको नाफामा दबाब परे पनि मुख्य सञ्चालन गतिविधिबाट हुने आम्दानीमा सुधार भएको देखाउँछ।

प्राधिकरणको सम्पत्ति बढेर ७ खर्ब ७९ अर्ब 

प्राधिकरणको कुल सम्पत्ति पनि बढेको छ। आर्थिक वर्ष २०८२/८३ को अन्त्यसम्म प्राधिकरणको कुल सम्पत्ति ८.९ प्रतिशतले बढेर ७ खर्ब ७९ अर्ब १९ करोड २० लाख रुपैयाँ पुगेको छ। निर्माणाधीन पुँजीगत आयोजनामा प्राधिकरणको २ खर्ब ६ अर्ब २६ करोड ७० लाख रुपैयाँ लगानी रहेको छ। सो अवधिमा ७४ अर्ब ६ करोड ६० लाख रुपैयाँ बराबरको रकम पुँजीकरण भएको प्राधिकरणले जनाएको छ। प्राधिकरणले पछिल्ला वर्षमा विद्युत् उत्पादनसँगै प्रसारण तथा वितरण संरचनाको विस्तारलाई प्राथमिकतामा राख्दै आएको छ।

प्राधिकरणले ५ एम्पियरका घरेलु ग्राहकलाई निःशुल्क विद्युत् उपलब्ध गराउँदै आएको उल्लेख गरेको छ। आर्थिक वर्ष २०८२/८३ मा २५ लाख ८८ हजार ६२४ घरेलु ग्राहकलाई कुल २१ करोड ७३ लाख ३२ हजार १६६ युनिट विद्युत् निःशुल्क उपलब्ध गराइएको प्राधिकरणले जनाएको छ। प्राधिकरणको औसत विद्युत् बिक्री दर प्रतियुनिट ९ रुपैयाँ ६८ पैसा रहेको छ। प्रतिग्राहक औसत विद्युत् खपत भने बढेर २ हजार ८८ युनिट पुगेको छ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit