काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो स्थापनाको नवौं वार्षिकोत्सव विभिन्न सामाजिक उत्तरदायित्वका कार्यक्रम सञ्चालन गर्दै मनाएको छ।
कम्पनीले वार्षिकोत्सवको अवसरमा राष्ट्रिय आविष्कार केन्द्रसँग सहकार्य सम्झौता गर्दै स्वदेशमै उत्पादन गरिएको ‘न्यानो नानी’ बेबी वार्मर विभिन्न स्वास्थ्य संस्थामा वितरण गर्ने जनाएको छ। सम्झौताअनुसार पहिलो चरणमा सुदूरपश्चिम र कर्णाली प्रदेशका स्वास्थ्य संस्थामा १० थान बेबी वार्मर वितरण गरिनेछ। ‘न्यानो नानी’ समयभन्दा अगाडि जन्मिएका वा कम तौल भएका नवजात शिशुलाई आवश्यक तापक्रम उपलब्ध गराउन प्रयोग हुने चिकित्सकीय उपकरण हो। विशेषगरी दुर्गम तथा स्वास्थ्य सुविधाको पहुँच कम भएका क्षेत्रमा यसबाट नवजात शिशुको स्वास्थ्य उपचारमा सहयोग पुग्ने कम्पनीको विश्वास छ।
आइएमई लाइफका प्रमुख कार्यकारी अधिकृत पवन खड्काले राष्ट्रिय आविष्कार केन्द्रसँगको सम्झौताले नवजात शिशु स्वास्थ्य क्षेत्रमा प्रविधिमैत्री समाधान पुर्याउने कम्पनीको प्रतिबद्धतालाई थप संस्थागत गरेको बताए। उनका अनुसार आगामी दिनमा ‘न्यानो नानी’ कार्यक्रमलाई देशका अन्य प्रदेश तथा जिल्लामा समेत विस्तार गर्ने योजना छ।
वार्षिकोत्सवकै अवसरमा कम्पनीले केन्द्रीय कार्यालयमा रक्तदान कार्यक्रम आयोजना गरेको थियो। देशभरका शाखामार्फत रक्तदान, वृक्षारोपण, खाद्यान्न वितरण तथा बीमा सचेतना कार्यक्रमसमेत सञ्चालन गरिएको कम्पनीले जनाएको छ। कम्पनीका उपप्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेलले सामाजिक उत्तरदायित्वअन्तर्गत सञ्चालन गरिएका कार्यक्रमले समाजका विभिन्न वर्गलाई प्रत्यक्ष सहयोग पुर्याउनुका साथै जीवन बीमाबारे जनचेतना अभिवृद्धि गर्ने बताए। रक्तदानले अस्पतालमा हुने रगतको अभाव कम गर्न, वृक्षारोपणले वातावरण संरक्षणमा तथा खाद्यान्न वितरणले विपन्न परिवारलाई राहत पुर्याउन सहयोग गर्ने उनको भनाइ छ।
आइएमई लाइफले पछिल्लो नौ वर्षमा सर्वसुलभ बीमा सेवा, छिटो दाबी भुक्तानी र ग्राहककेन्द्रित समाधानमार्फत ग्राहकको विश्वास हासिल गर्दै आएको जनाएको छ। देशभर फैलिएको शाखा सञ्जाल र दक्ष जनशक्तिमार्फत गुणस्तरीय जीवन बीमा सेवा उपलब्ध गराउने प्रतिबद्धता पनि कम्पनीले दोहोर्याएको छ।















प्रतिक्रिया दिनुहोस्