काठमाडौं । साताको दोस्रो कारोबार दिन मंगलबार शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १९.३४ अंकले घटेर २६२२.४८ विन्दुमा झरेको हो । यो अघिल्लो दिनको तुलनामा ०.७३ प्रतिशतको गिरावट हो ।
सोमबार नेप्से २.०१ अंकले घटेर २६४१.८२ विन्दुमा बन्द भएको थियो । मंगलबार बजार खुलेदेखि नै दबाबमा देखिँदा अन्ततः २६२२ विन्दुमा सीमित भएको हो । मंगलबार कुल ३४७ कम्पनीका १ करोड ५१ लाख ९६ हजार ८२ कित्ता शेयर ५५ हजार २४६ पटकको कारोबारमार्फत किनबेच भएका छन् ।
दिनभरको कारोबार रकम ५ अर्ब ७ करोड ३५ लाख रुपैयाँ पुगेको छ। सोमबार भने ५ अर्ब ४८ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको थियो । कारोबार भएका कम्पनीमध्ये ५७ वटाको शेयर मूल्य बढेको छ भने २१७ कम्पनीको मूल्य घटेको छ । यस्तै, ५ कम्पनीको शेयर मूल्यमा कुनै परिवर्तन भएन ।
मंगलबार सर्वोत्तम पेन्ट्सको शेयर मूल्य सर्वाधिक १४.९९ प्रतिशतले बढेर ५२४.६० रुपैयाँ पुगेको छ । माउन्ट एभरेष्ट बैंकको शेयर मूल्य पनि १४.९८ प्रतिशतले बढेर ६०३.२० रुपैयाँ पुगेको छ । त्यस्तै, मनकामना इन्जिनियरिङको ४.७८ प्रतिशत, माथिल्लो मैलुनको ३.६४ प्रतिशत र एचएलआई लार्जको संस्थापक शेयरको मूल्य ३.५७ प्रतिशतले बढेको छ ।
कारोबार रकमका आधारमा एग्रीकल्चर बोन्ड शीर्ष स्थानमा रहेको छ । यसको ५० करोड ६८ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । सोलु हाइड्रोपावरको ३९ करोड १४ लाख रुपैयाँ, खानीखोला हाइड्रोपावरको २५ करोड २६ लाख रुपैयाँ, रिलायन्स स्पिनिङ मिल्सको १६ करोड ७८ लाख रुपैयाँ र युनाइटेड मोदी हाइड्रोपावरको १६ करोड ४७ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । समग्रमा मंगलबार बजारमा बिक्री चाप बढ्दा नेप्से परिसूचकसँगै अधिकांश कम्पनीको शेयर मूल्यमा गिरावट देखिएको छ ।















प्रतिक्रिया दिनुहोस्