काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले ब्रोकर नम्बर ९३ (बेनी सेक्युरिटिज प्रालि) लाई तीन कार्य दिनका लागि निलम्बन गरेको छ।
तोकिएको समयभित्र राफसाफ तथा फर्स्यौट (सेटलमेन्ट) कार्य पूरा नगरेको भन्दै नेप्सेले बुधबारदेखि लागू हुने गरी कम्पनीको शेयर कारोबार रोक्का गरेको हो । सीडीएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी) ले बेनी सेक्युरिटिजले निर्धारित समयभित्र राफसाफ तथा फर्स्यौटको काम सम्पन्न नगरेको भन्दै नेप्सेलाई निलम्बनका लागि सिफारिस गरेको थियो। सोही सिफारिसका आधारमा नेप्सेको सुपरीवेक्षण शाखाले बुधबार पत्र जारी गर्दै कम्पनीमाथि कारबाही गरेको जनाएको छ ।
नेप्सेले धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५ को विनियम २२(१) (छ) बमोजिम बेनी सेक्युरिटिजलाई तीन कार्य दिनका लागि निलम्बन गरेको हो । निलम्बन अवधिभर उक्त ब्रोकरमार्फत लगानीकर्ताले शेयर खरिद–बिक्री गर्न पाउने छैनन् ।
नेप्सेले निलम्बनसम्बन्धी जानकारी नेपाल धितोपत्र बोर्ड, सीडीएससी तथा सम्बन्धित अन्य शाखालाई समेत गराएको सूचनामा उल्लेख छ । शेयर कारोबारपछि रकम तथा धितोपत्रको राफसाफ र फर्स्यौट निर्धारित समयमै सम्पन्न गर्नु ब्रोकर कम्पनीको अनिवार्य जिम्मेवारी हो । यसमा ढिलाइ हुँदा बजारको राफसाफ चक्र प्रभावित हुने भएकाले नियमअनुसार नेप्सेले कारबाही गरेको हो ।















प्रतिक्रिया दिनुहोस्