Advertisement
Advertisement
Corporate Samachar
२२ भाद्र २०८३, सोमबार
Advertisement

रास्वपा सभापतिलाई सरकार पुनर्गठन गर्न सुझाउँदै एमालेले भन्यो– ‘बालेन्द्रतन्त्र’ ले निरंकुशताका कीर्तिमान तोड्यो

रास्वपा सभापतिलाई सरकार पुनर्गठन गर्न सुझाउँदै एमालेले भन्यो– ‘बालेन्द्रतन्त्र’ ले निरंकुशताका कीर्तिमान तोड्यो
विज्ञापन
Advertisement

काठमाडौं । नेकपा एमालेका संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई प्रधानमन्त्रीसहित सरकार पुनर्गठनका लागि तत्काल पहल गर्न सुझाव दिएका छन् ।

विज्ञापन
Advertisement
Advertisement

प्रतिनिधिसभाको बैठकमा थापाले वर्तमान सरकार छोटो समयमै स्वेच्छाचारी र अधिनायकवादी दिशातर्फ अघि बढेको आरोप लगाउँदै सरकार पुनर्गठनको विकल्प अघि सारेका हुन् । उनले रास्वपाका सभापति लामिछानेले पार्टीको प्रमुख राजनीतिक नेताको हैसियतमा प्रधानमन्त्रीसहित सरकार पुनर्गठनका लागि अविलम्ब पहल गर्नुपर्ने बताए । ‘रास्वपाका सभापतिज्यूले पार्टीको प्रमुख राजनीतिक नेताको हैसियतले प्रधानमन्त्रीसहित सरकारको पुनर्गठन गर्न अविलम्ब पहल गर्नुपर्छ,’ थापाले भने ।

सरकार नसच्चिए देशमा ठूलो राजनीतिक परिवर्तनको अवस्था आउन सक्ने चेतावनीसमेत उनले दिए । राष्ट्रियता, लोकतन्त्र र जनजीविकाका सवाल सम्बोधन नभए विगतका ठूला राजनीतिक आन्दोलनभन्दा पनि व्यापक जनआन्दोलन हुन सक्ने उनको दाबी छ । उनले सरकार पुनर्गठनसहितको बुँदागत विकल्प प्रस्तुत गर्दै भने ‘अन्तिम विकल्प बाँकी छ। अन्यथा, राष्ट्रियता, लोकतन्त्र तथा जनजीविकाको सवाल पुनर्स्थापना गर्न छिट्टै चारै दिशाबाट २००७ साल, २०४७ साल, २०६२ सालको भन्दा विशाल अकल्पनीय जनसुनामी आउनेछ, निश्चित आउनेछ,’ उनले भने ।

थापाले बालेन्द्र शाह नेतृत्वको सरकारले छोटो अवधिमै राष्ट्रियता, लोकतन्त्र र जनजीविकासँग सम्बन्धित गम्भीर प्रश्न खडा गरेको आरोप लगाए। उनले सरकारको कार्यशैली अधिनायकवादतर्फ उन्मुख भएको चर्को टिप्पणी गरे । उनले भने, ‘बालेन सरकारको स्वेच्छाचारी र अधिनायकवाद अध्यादेशबाट सुरु भयो। अधिनायकवादी शासकमा चरम महत्वाकांक्षा प्रकट भइरहेका छन्।’

उनले वर्तमान अवस्थालाई विगतका निरंकुश शासनसँग तुलना गर्दै २०१७ सालको महेन्द्रतन्त्र र २०६१ सालको ज्ञानेन्द्रतन्त्रजस्तै अहिले ‘बालेन्द्रतन्त्र’ देखिन थालेको आरोप लगाए । थापाले रास्वपाभित्रको आन्तरिक सत्ता संघर्षले समेत नेपालको राष्ट्रियतामाथि संकट आउन सक्ने चिन्ता बढाएको बताए। उनले रवि लामिछानेको भारत भ्रमणको प्रसंगसमेत संसद्मा उठाउँदै त्यसको अघिल्लो दिन प्रधानमन्त्री बालेन्द्र शाह संसद्मा आकस्मिक रूपमा उपस्थित भएको उल्लेख गरे ।

उनका अनुसार १७ जेठमा प्रतिनिधिसभामा उपस्थित भएर प्रधानमन्त्री शाहले सांसदहरूका प्रश्नको जवाफ दिने क्रममा नेपालले पनि भारतको भूमि मिचेको अभिव्यक्ति दिएका थिए । थापाले उक्त अभिव्यक्तिमाथि प्रश्न उठाउँदै नेपाल कतै ‘सिक्कीमीकरण’को प्रक्रियातर्फ त गइरहेको छैन भन्ने आशंका व्यक्त गरे। त्यस्तै, उनले रास्वपा नेतृत्वलाई प्रतिपक्षी दल र नागरिकप्रति अहंकार तथा उत्ताउलोपन प्रदर्शन नगर्न आग्रह गरे । ‘रास्वपाका आदरणीय मित्रहरूलाई १८२ तले काँचको घरमा बसेर अहंकार र उत्ताउलोपन प्रदर्शन नगर्न साथै, प्रतिपक्षी नागरिकमाथि ढुंगा प्रहार नगर्न विनम्र आग्रह गर्न चाहन्छु,’ थापाले भने ।

उनले लोकतान्त्रिक दलहरूबीच एकता कायम भए वर्तमान सरकारको ‘सिसाको घर’ ढल्ने दाबीसमेत गरे ।‘जुन दिन लोकतान्त्रिक दलहरूले आफ्ना आन्तरिक विभाजनलाई मजबुत मोर्चा र एकतामा परिणत गर्नेछन्, यो गर्ल्यामगुर्लुम ढल्नेछ, चकनाचुर हुनेछ,’ उनले भने । थापाले सरकारले छोटो शासन अवधिमै निरंकुशताका सबै कीर्तिमान तोडेको आरोप लगाउँदै वर्तमान कार्यशैली नसच्चिए ठूलो राजनीतिक परिवर्तनको अवस्था सिर्जना हुने चेतावनी पनि दिएका छन् ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit