काठमाडाैं। नेपालको अटोमोबाइल क्षेत्रको सबैभन्दा ठूलो प्रदर्शनीका रूपमा स्थापित नाडा अटो शो यस वर्ष ५०औं वर्षको संस्थागत यात्रासँगै १८औं संस्करणमा प्रवेश गर्दैछ। भदौ ९ देखि १४ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने अटो शोमा नयाँ प्रविधि, विद्युतीय सवारी, नेपालमै उत्पादित सवारीसाधन तथा विभिन्न ब्रान्डका नयाँ मोडल प्रदर्शन गरिँदैछन्।
अटोमोबाइल बजारको पछिल्लो अवस्था, विद्युतीय सवारीको बढ्दो प्रयोग, पूर्वाधारको चुनौती, बैंकिङ तरलता, सवारीसाधनको ऋण प्रवाह, चिनियाँ ब्रान्डको बढ्दो प्रभाव र नाडा अटो शोको तयारीलगायत विषयमा नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष सुरेन्द्र उप्रेतीसँग गरिएको कुराकानीको सम्पादित अंश :
यस वर्षको नाडा अटो शो नाडाका लागि किन विशेष छ?
यस वर्षको नाडा अटो शो हाम्रा लागि निकै महत्वपूर्ण छ। पहिलो कुरा, नाडा स्थापना भएको ५० वर्ष पूरा भएको अवसर हो। दोस्रो, हामी १८औं संस्करणको अटो शो आयोजना गर्दैछांै यी दुवै कारणले यसपटकको अटो शोमा विशेष उत्साह र उल्लास छ। नाडा अटो शो भनेको हरेक वर्ष अटोमोबाइल क्षेत्रका व्यवसायी, उपभोक्ता र सरोकारवालाले उत्सुकतापूर्वक प्रतीक्षा गर्ने कार्यक्रम हो। त्यसैले हामीले हरेक संस्करणमा अघिल्लो वर्षभन्दा केही फरक, नयाँ र नवीन प्रविधि प्रस्तुत गर्ने प्रयास गर्दै आएका छौं। बजारको सम्भावना,उपभोक्ताको आवश्यकता र अटोमोबाइल क्षेत्रमा भइरहेका नयाँ प्रविधिगत विकासलाई ध्यानमा राखेर प्रदर्शनी तयार गरेका छौं।
यस वर्षको अटो शोमा उपभोक्ताले के नयाँ अनुभव गर्न पाउनेछन्?
हामी हरेक वर्ष नयाँ कुरा सिक्ने र नयाँ प्रविधि उपभोक्तामाझ प्रस्तुत गर्ने प्रयास गछौं। गत वर्ष रोबोटले धेरैको ध्यान आकर्षित गरेको थियो। यसपटक पनि रोबोट रहनेछन्, तर अघिल्लो पटकको भन्दा फरक रूपमा प्रस्तुत गरिनेछ। गत वर्ष रोबोटले मुख्यतः स्वागत गरेका थिए भने यसपटक रोबोटले गर्न सक्ने विभिन्न कामलाई प्रदर्शनमार्फत देखाउने तयारी छ। यसका साथै नयाँ–नयाँ गाडीका मोडल सार्वजनिक हुँदैछन्।
नेपालमै उत्पादन भएको यात्री स्कुटर पनि यसपटकको प्रदर्शनीमा हेर्न पाइनेछ। नेपाली इन्जिनियरहरूले विकास गरेको यो उत्पादनसँगै अन्य स्वदेशी ब्रान्डका उत्पादन पनि प्रदर्शनीमा रहनेछन्। नयाँ प्रविधिमा आधारित विभिन्न उत्पादन र सेवाहरू पनि देख्न पाइनेछन्। केही विषय भने हामीले अहिले नै सार्वजनिक नगरी ‘सरप्राइज’का रूपमा राखेका छौं ।
नेपालको अटोमोबाइल बजार अहिले कुन अवस्थामा छ?
नेपालको अटोमोबाइल बजार क्रमिक रूपमा सुधार हुँदै गएको छ। विगतको तुलनामा बजार बिस्तारै आफ्नो लयमा फर्किने क्रममा छ। तर यो सुधारलाई अझै पर्याप्त भन्न सकिने अवस्था छैन।
अर्कोतर्फ, बजारको प्रवृत्ति पनि परिवर्तन हुँदैछ। पेट्रोल र डिजेलमा आधारित सवारीसाधनबाट विद्युतीय सवारीतर्फ उपभोक्ताको आकर्षण बढिरहेको छ। विशेषगरी प्यासेन्जर भेहिकलमा विद्युतीय सवारीको प्रयोग र माग बढ्दै गएको देखिन्छ। अहिले समग्र चारपांग्रे सवारीसाधनको बजारमा ठूलो हिस्सा विद्युतीय सवारीतर्फ रूपान्तरण भइरहेको छ।
अटोमोबाइलको बढ्दो प्रयोगसँगै पूर्वाधारको अवस्था कस्तो छ?
पूर्वाधारको अवस्था हामी सबैले महसुस गरिरहेको विषय हो। सडकमा सवारीसाधन जुन गतिमा बढेका छन्, त्यसको अनुपातमा पूर्वाधार विकास हुन सकेको छैन। विद्युतीय सवारीको कुरा गर्दा चार्जिङ पूर्वाधार पनि पर्याप्त छैन। विद्युतीय सवारीको आयात जुन गतिमा भइरहेको छ, त्यसअनुसार चार्जिङ स्टेसन निर्माण हुन सकेका छैनन्। यद्यपि सवारीसाधन आयातकर्ता र नाडाको सहकार्यमा ठूला तथा फास्ट चार्जिङ स्टेसन निर्माण भइरहेका छन्।
बैंकिङ प्रणालीमा पर्याप्त तरलता भए पनि अटोमोबाइल बजारमा त्यसको प्रभाव अपेक्षाकृत कम देखिएको छ। यसको समाधान के हुन सक्छ?
अहिले बैंकिङ प्रणालीमा रहेको तरलतालाई प्रभावकारी रूपमा उपयोग गर्न सक्ने अवस्था सिर्जना गर्न आवश्यक छ। विशेषगरी सवारीसाधन खरिदका लागि ऋण प्रवाहमा रहेको एलटीभी (लोन टु भ्यालु) अनुपातलाई सुधार गर्न आवश्यक देखिन्छ। आजको अवस्थामा सवारीसाधन खरिद गर्दा उपभोक्ताले ठूलो रकम डाउन पेमेन्ट गर्नुपर्ने अवस्था छ। यदि डाउन पेमेन्टलाई केही सहज बनाउँदै १० देखि १५ प्रतिशतको हाराहारीमा ल्याउन सकियो भने बैंकमा रहेको तरलता लगानीमा रूपान्तरण हुन सक्छ।
सवारीसाधन आयात बढ्दा सरकारको राजस्व पनि बढ्छ। तर यसको प्रभाव सवारीसाधन आयातसम्म मात्र सीमित हुँदैन। एउटा सवारीसाधन बजारमा आएपछि त्यससँग जोडिएको सम्पूर्ण इकोसिस्टम—बीमा, बैंकिङ, सर्भिसिङ, स्पेयर पाट्र्स, टायर, लुब्रिकेन्टलगायत क्षेत्रमा पनि आर्थिक गतिविधि बढ्छ। त्यसैले एलटीभी अनुपातमा सुधार गर्नु अहिले महत्वपूर्ण विषय हो।
नयाँ सरकार आएको छ। बजेट र मौद्रिक नीति पनि आइसकेका छन्। अब अटोमोबाइल क्षेत्रले सरकारबाट के अपेक्षा गरेको छ?
सरकार भर्खरै आएको अवस्थामा अहिले नै सरकारले यो ग¥यो वा त्यो गरेन भनेर मूल्यांकन गर्ने समय भइसकेको जस्तो मलाई लाग्दैन। हामी धेरैजसो विषयलाई ‘ओभरनाइट’ मूल्यांकन गर्न खोज्छौँ। त्यसले कहिलेकाहीँ गलत निष्कर्ष पनि दिन सक्छ। केही समय कुर्न सक्ने क्षमता पनि हामीले विकास गर्नुपर्छ।
सरकारले केही गरिरहेको छैन भन्ने होइन। सार्वजनिक यातायातलाई कसरी व्यवस्थित र प्रभावकारी बनाउने, मास ट्रान्सपोर्टेसनको प्रयोग कसरी बढाउनेलगायत विषयमा काम भइरहेको छ। आगामी नीति, बजेट वा कानुनी व्यवस्थामार्फत साना सार्वजनिक सवारीसाधनलगायत अटोमोबाइल क्षेत्रका अन्य विषयलाई पनि सम्बोधन गरिने अपेक्षा गरेका छौं ।
अहिले विद्युतीय सवारीमा चिनियाँ ब्रान्डको निर्भरता बढेको देखिन्छ। यसलाई कसरी हेर्नुभएको छ?
जुन देशबाट सवारीसाधन बढी उत्पादन र आयात हुन्छ, स्वाभाविक रूपमा त्यही देशमा निर्भरता बढ्छ। विगतमा नेपालमा भारतबाट धेरै सवारीसाधन आउँदा भारतीय ब्रान्डको उपस्थिति बढी थियो। त्यसभन्दा अगाडि जापानबाट धेरै सवारीसाधन आउँदा जापानी ब्रान्डको प्रभाव थियो।
अहिले चीनमा विद्युतीय सवारीसाधनको उत्पादन र प्रविधि तीव्र रूपमा विकास भएकाले चिनियाँ ब्रान्डको उपस्थिति बढेको हो। तर यहाँ महत्वपूर्ण कुरा सवारीसाधन बिक्री मात्र होइन, बिक्रीपछिको सेवा पनि हो।
उपभोक्ताले सवारीसाधन खरिद गर्नुअघि त्यसको सर्भिस नेटवर्क, स्पेयर पाट्र्सको उपलब्धता, बिक्रीपछिको सेवा र कम्पनीको नेपालमा विगतको उपस्थितिबारे अध्ययन गर्नुपर्छ। कुनै ब्रान्डको सर्भिस र स्पेयर पाट्र्सको व्यवस्था कमजोर छ भने उपभोक्ताले त्यसबारे प्रश्न गर्नुपर्छ। उपभोक्ताको सचेतनाले कम्पनीहरूलाई पनि बिक्रीपछिको सेवा सुधार गर्न दबाब दिन्छ।
यसपटकको नाडा अटो शोको संरचना र सहभागिता कस्तो छ?
यसपटक हामीले २०० भन्दा बढी स्टलमा विभिन्न उत्पादन तथा सेवा प्रस्तुत गर्दैछौं । विभिन्न ब्रान्डहरूले आफ्ना नयाँ उत्पादन तथा मोडल सार्वजनिक गर्ने तयारी पनि गरेका छन्। अटो शोमा सुरक्षा हाम्रो पहिलो प्राथमिकता हो। यहाँ आउने सर्वसाधारण, प्रदर्शक, सवारीसाधन र सम्पूर्ण आगन्तुकको सुरक्षाका लागि आवश्यक सबै उपाय अपनाउने प्रयास गरेका छौं।
पार्किङ पनि महत्वपूर्ण चुनौती हो। सीमित पार्किङ क्षमताका कारण हामीले विभिन्न वैकल्पिक स्थानको व्यवस्थापनका लागि सम्बन्धित निकाय तथा विद्यालयहरूसँग समेत समन्वय गरिरहेका छौं । ट्राफिक व्यवस्थापनका लागि पनि सम्बन्धित निकायसँग सहकार्य भइरहेको छ। अटो शो सफल बनाउन नाडा मात्र होइन, सञ्चारमाध्यम, सुरक्षा निकाय, ट्राफिक प्रहरी, प्रदर्शक र सर्वसाधारण सबैको सहकार्य आवश्यक हुन्छ।
अन्त्यमा उपभोक्ता तथा अटो शोमा आउने दर्शकलाई के भन्न चाहनुहुन्छ?
नाडा अटो शो भदौ ९ देखि १४ गतेसम्म आयोजना हुँदैछ। यो नाडाको मात्र होइन, तपाईं–हाम्रो सबैको अटो शो हो। एकपटक अटो शोमा आएर अवलोकन गरिदिनुहोस्। यहाँ देखाइएका राम्रा पक्षसँगै सुधार गर्नुपर्ने कमजोरी पनि हामीलाई बताइदिनुहोस्। तपाईंहरूले दिएको सुझाव र प्रतिक्रिया हाम्रा लागि अमूल्य हुन्छ।
अर्को महत्वपूर्ण कुरा, नाडा अटो शो गाडी किन्न आउने मानिसका लागि मात्र होइन। नयाँ प्रविधि हेर्न, विद्युतीय गतिशीलताबारे बुझ्न, नयाँ उत्पादन अनुभव गर्न र समग्र अटोमोबाइल इकोसिस्टमबारे जानकारी लिन पनि अटो शोमा आउन सकिन्छ। हामीले गाडी, मोटरसाइकल वा स्कुटर मात्र होइन, त्यससँग सम्बन्धित टायर, लुब्रिकेन्ट, ब्याट्री, बीमा, बैंकिङ सेवा, एक्सेसरिज, कम्पोनेन्ट्स तथा स्पेयर पाट्र्सलगायत सम्पूर्ण अटोमोबाइल इकोसिस्टमलाई एउटै ठाउँमा प्रस्तुत गर्ने प्रयास गरेका छौँ। त्यसैले सबैलाई भदौ ९ गतेदेखि भृकुटीमण्डपमा आयोजना हुने नाडा अटो शोमा आउन र नयाँ प्रविधि तथा उत्पादनको अनुभव लिन आग्रह गर्दछु।















प्रतिक्रिया दिनुहोस्