काठमाडौं । नुवाकोट क्षेत्र नं. १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले बञ्चरेडाँडा ल्याण्डफिल साइटमा देखिएका समस्या समाधानका लागि संघ, प्रदेश र स्थानीय तहबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताएका छन्।
बिहीबार सञ्चार मन्त्रालयमा काठमाडौं महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलसँग भएको छलफलमा मन्त्री तिमिल्सिनाले ल्याण्डफिल साइटसम्म पुग्ने सडक स्तरोन्नति तथा कालोपत्रका लागि संघीय सरकार र महानगरपालिकाले आवश्यक बजेट छुट्याएर काम अघि बढाउनुपर्ने बताए।
बञ्चरेडाँडा क्षेत्रका स्थानीयवासीले जीर्ण सडक, फोहोरबाट फैलिएको दुर्गन्ध, फोहोर बोकेका सवारीसाधन नछोपी सञ्चालन गर्ने, बाटोमै फोहोर खसाल्ने तथा फोहोर विसर्जनपछि सवारीसाधन नधोई उपत्यका फर्काउनेलगायतका समस्या उठाउँदै आएका छन्। फोहोर विसर्जनपछि पर्याप्त मात्रामा माटोले छोप्ने (क्यापिङ) काममा समेत लापरवाही भइरहेको स्थानीयको गुनासो छ।
मन्त्री तिमिल्सिनाले आफ्नो निर्वाचन क्षेत्रबाट बञ्चरेडाँडासम्बन्धी धेरै गुनासा आएपछि महानगरपालिकासँग छलफल गरिएको बताए। सडकको अवस्था, दुर्गन्ध र स्वास्थ्यसम्बन्धी समस्याका कारण स्थानीयवासी प्रभावित भएको भन्दै उनले फोहोर व्यवस्थापन स्थलसम्म पुग्ने सडक र अन्य पूर्वाधार सुधारमा प्राथमिकता दिनुपर्ने बताए। ‘कतिपय क्षेत्रमा सडक कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको गुनासो निकै धेरै आएको छ,’ मन्त्री तिमिल्सिनाले भने, ‘ फोहोर व्यवस्थापन स्थलसम्म पुग्ने बाटो वरपरका स्थानीय वास्तवमै पीडित छन् । त्यहाँ दुर्गन्ध फैलिएको छ र विभिन्न रोगको संक्रमण बढेको गुनासो पनि आएको छ ।’
छलफलमा कार्यवाहक प्रमुख डंगोलले बञ्चरेडाँडामा काठमाडौं महानगरपालिकासहित उपत्यकाका अन्य स्थानीय तहबाट समेत फोहोर जाने भए पनि फोहोर व्यवस्थापनको अधिकांश आर्थिक दायित्व काठमाडौं महानगरपालिकाले मात्रै व्यहोर्दै आएको बताइन्। अन्य स्थानीय तहले समेत आर्थिक योगदान गरे स्थानीयका समस्या समाधान गर्न थप सहज हुने उनको भनाइ थियो। ‘फोहोर व्यवस्थापनका लागि लाग्ने खर्च सबै पालिकाले व्यहोर्ने प्रतिबद्धता जनाएका थिए,’ उनले भनिन्‘ तर, अहिलेसम्मको अधिकांश खर्च काठमाडौं महानगरपालिकाले मात्रै व्यहोर्दै आएको छ । अन्य पालिकाले पनि आर्थिक योगदान गर्ने हो भने स्थानीयका समस्या समाधान गर्न थप सहज हुन्छ।’
डंगोलले फोहोर संकलनस्थल तथा कुहिने र नकुहिने फोहोर छुट्याउने केन्द्रका लागि आवश्यक जग्गा प्राप्त गर्न नसकिएको जानकारी दिइन्। महानगरपालिकाले विकेन्द्रित फोहोरमैला व्यवस्थापनअन्तर्गत काठमाडौंलाई सातवटा फोहोर क्लस्टरमा विभाजन गरी सुक्खा फोहोर पुनःप्रयोग तथा रिसाइकल गर्ने योजना अघि सारे पनि जग्गा प्राप्ति तथा अन्य प्रक्रिया पूरा हुन नसक्दा कार्यान्वयनमा ढिलाइ भएको उनले बताइन्। हाल काठमाडौं महानगरपालिकाबाहेक अन्य २० वटा स्थानीय तहबाट समेत बञ्चरेडाँडामा फोहोर ल्याइने भए पनि ती पालिकालाई फोहोर व्यवस्थापनको जिम्मेवारीमा पर्याप्त रूपमा सहभागी गराउन नसकिएको महानगरपालिकाको भनाइ छ। ल्याण्डफिल साइटको सञ्चालन, व्यवस्थापन तथा आर्थिक भार मुख्यतः काठमाडौं महानगरपालिकाले व्यहोर्दै आएको छ।
छलफलमा दीर्घकालीन रूपमा बञ्चरेडाँडा जाने फोहोरको मात्रा घटाउने, स्रोतमै फोहोर वर्गीकरण गर्ने तथा फोहोर संकलन र ढुवानी प्रणालीलाई व्यवस्थित बनाउने विषयमा समेत छलफल भएको थियो। फोहोर संकलन केन्द्रको संख्या बढाउने, वर्गीकरण तथा ग्रेडिङ प्रणाली विस्तार गर्ने र तीनै तहका सरकारबीच सहकार्य बढाउने विषयमा पनि छलफल भएको जनाइएको छ। महानगरपालिकाका अनुसार बञ्चरेडाँडा पुग्ने फोहोरमध्ये करिब ६० प्रतिशत कुहिने र ४० प्रतिशत नकुहिने फोहोर रहेको छ। स्रोतमै फोहोर छुट्याउने अभ्यास प्रभावकारी नहुँदा ल्याण्डफिल साइटमा फोहोर व्यवस्थापन थप चुनौतीपूर्ण बनेको छ। दैनिक दुई सयभन्दा बढी फोहोर बोकेका ट्रक बञ्चरेडाँडा पुग्ने गरेका छन्।
वर्षायाममा सडक बिग्रिँदा फोहोर बोकेका सवारीसाधन बाटोमै अड्किने, दुर्गन्ध फैलिने तथा स्थानीय जनजीवन प्रभावित हुने समस्या रहेको बताइएको छ। मन्त्री तिमिल्सिनाले महानगरपालिकाले आवश्यक सहयोग र समन्वयका विषयमा जानकारी गराए सरकारले समस्या समाधानका लागि द्रुत पहल गर्ने प्रतिबद्धता जनाएका छन्। नेपाल सरकारले एक हजार ७९२ रोपनी जग्गा अधिग्रहण गरी निर्माण गरेको बञ्चरेडाँडा ल्याण्डफिल साइटमा २०७९ जेठ १० गतेदेखि फोहोर विसर्जन सुरु गरिएको हो। नुवाकोटको ककनी गाउँपालिका–२ र धादिङको धुनीबेँसी नगरपालिका–१ को सीमाक्षेत्रमा रहेको यो ल्याण्डफिल साइट काठमाडौं उपत्यकाको प्रमुख फोहोर व्यवस्थापनस्थलका रूपमा प्रयोग हुँदै आएको छ।















प्रतिक्रिया दिनुहोस्