काठमाडौं। बञ्चरेडाँडा ल्यान्डफिल साइटका कारण स्थानीय बासिन्दा खेतबारीमा काम गर्न नसक्ने र गाउँ नै छाडेर डेरामा बस्नुपर्ने अवस्थामा पुगेका छन् ।
धादिङको धुनिवेशी नगरपालिका प्रमुख बालकृष्ण आचार्यलेले बञ्चरेडाँडामा फोहोरबाट निस्कने लिचड खेतबारीमा पुग्ने, असह्य दुर्गन्ध फैलिने तथा स्वास्थ्य जोखिम बढ्दै गएको बताएका हुन्। उनका अनुसार लिचड मिसिएको पानीका कारण खेतीयोग्य जमिन प्रयोग गर्न नसकिने अवस्था छ भने स्थानीयले मानिसको खुट्टासमेत कुहिने समस्या भोग्नुपरेको गुनासो गर्दै आएका छन्।
फोहोरका कारण पशुचौपाया मर्ने, चिल–गिद्धले फोहोर बस्ती तथा खेतबारीमा ल्याएर फाल्ने र दुर्गन्धका कारण जनजीवन कष्टकर बनेको आचार्यको भनाइ छ। ‘जनताले आफ्नै खेतबारी छाड्नुपरेको छ, गाउँ छाडेर डेरा लिएर बस्नुपर्ने अवस्था आएको छ,’ उनले भने, ‘त्यहाँको अवस्था एकदमै दर्दनाक छ, जनता अति पीडित छन्।’ आचार्यका अनुसार बञ्चरेडाँडाको समस्या नयाँ होइन। सरकारले २०६२/६३ सालदेखि उक्त क्षेत्रमा फोहोर लैजान थाले पनि फोहोर व्यवस्थापनका लागि अधिग्रहण गरिएको भनिएको जग्गाको वास्तविक अवस्था र सीमासमेत अझै स्पष्ट हुन नसकेको उनले बताए।

हाल उपत्यकासहित करिब २१ स्थानीय तहको फोहोर दैनिक तीन सयभन्दा बढी गाडीमार्फत बञ्चरेडाँडा पुर्याइने गरेको उनले बताए। कानुनले प्रत्येक स्थानीय तहलाई आफ्नो फोहोर आफैं व्यवस्थापन गर्नुपर्ने व्यवस्था गरे पनि व्यवहारमा ठूलो संख्यामा स्थानीय तहको फोहोर एउटै क्षेत्रमा थुपारिएको उनको आरोप छ। काठमाडौं महानगरपालिकाले अन्य स्थानीय तहको फोहोर व्यवस्थापनको जिम्मेवारी लिएर ठेकेदारको जस्तो भूमिका खेलेको भन्दै आचार्यले फोहोर पठाउने स्थानीय तहले समेत त्यसको व्यवस्थापनबारे पर्याप्त चासो नदिएको बताए।
फोहोर व्यवस्थापनका नाममा पटक–पटक बैठक, सहमति र सम्झौता भए पनि कार्यान्वयन नभएको भन्दै उनले पछिल्ला छलफललाई ‘नाटकबाजी’ को संज्ञा दिए। उनका अनुसार बञ्चरेडाँडासम्बन्धी यसअघि नै करिब ७६–७७ वटा सम्झौता भइसकेका छन्। ‘साँच्चै समाधान गर्ने हो भने पुराना सम्झौताका फाइल खोल्ने, फोहोर फालिएको ठाउँको वास्तविक अवस्था हेर्ने र विज्ञसँग बसेर काम गर्ने हो। फेरि बैठक गरेर देखाउने काम मात्रै भइरहेको छ,’ उनले भने।

नयाँ ल्यान्डफिल साइट पनि भरिँदै
आचार्यले बञ्चरेडाँडामा फोहोर फाल्न सुरु गरिएको नयाँ स्थानसमेत अपेक्षाभन्दा छिटो भरिँदै गएको बताए। फोहोर छुट्याएर व्यवस्थापन गरे करिब ४० वर्ष र त्यसो नगरे करिब २० वर्षसम्म प्रयोग गर्न सकिने भनिएको उक्त क्षेत्रमा करिब चार वर्षमै फोहोरलाई मेसिनले ठेलेर व्यवस्थापन गर्नुपर्ने अवस्था आएको उनको भनाइ छ। अब केही वर्षमै उक्त स्थान पनि भरिएपछि त्यसपछिको विकल्पबारे सरकारले तत्कालै गम्भीर योजना बनाउनुपर्ने उनले बताए।
विगतमा स्थानीयको विरोध नियन्त्रण गर्न ठूलो संख्यामा प्रहरी परिचालन गरिएको स्मरण गर्दै आचार्यले समस्या समाधानका लागि केन्द्र सरकार, सहरी विकास मन्त्रालय, काठमाडौं महानगरपालिका तथा फोहोर पठाउने सबै स्थानीय तहबीच ठोस समन्वय आवश्यक रहेको बताए। अहिलेका प्रधानमन्त्रीबाट समाधानको अपेक्षा गरिए पनि पाँच–छ महिनासम्म ठोस पहल नदेखिँदा स्थानीय निराश हुन थालेको उनको भनाइ छ। ‘जनताको आक्रोश जायज छ। तर समाधान स्थानीयलाई आन्दोलनमा धकेलेर होइन, जिम्मेवार निकायले आफ्नो जिम्मेवारी पूरा गरेर खोज्नुपर्छ,’ आचार्यले भने।
छलफलमै चर्काचर्की
शुक्रबार सञ्चारमन्त्री विक्रम तिमल्सिनाको सहजीकरणमा काठमाडौं उपत्यकाको फोहोरमैला व्यवस्थापनका विषयमा सरोकारवालाबीच छलफल भएको थियो। सहरी विकास मन्त्रालयले आयोजना गरेको छलफलमा मन्त्री तिमल्सिनाले फोहोर व्यवस्थापनका लागि आवश्यक जग्गा उपलब्ध गराउन कानुनी तथा नीतिगत बाटो खोजेर अघि बढ्ने बताएका थिए। मन्त्री नुवाकोटकाट जितेका प्रतिनिधि सभा सदस्य समेत रहेकाले उनले समस्या समाधान हेतु पहल गरेपनि भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयका प्रतिनिधि उपस्थित नभएको भन्दै बैठकमा ललितपुर महानगरका नगरप्रमुख चिरीबाबु महर्जनले गुनासो गरेका थिए ।
छलफलमा उपत्यकाका विभिन्न पालिका तथा महानगरका प्रतिनिधिहरू सहभागी थिए। सोही क्रममा सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङ बैठकबाट बाहिरिएकी थिइन्।
धादिङ–१ बाट निर्वाचित सांसद तामाङले उपत्यकाका स्थानीय सरकारहरू बञ्चरेडाँडाका जनताले भोग्दै आएको समस्याप्रति गम्भीर नभएको भन्दै आक्रोश व्यक्त गरेकी थिइन्। सबै स्थानीय तहका प्रमुख बैठकमा सहभागी नभएको तथा सहभागीमध्ये पनि केही बीचमै उठेर गएको भन्दै उनले मेयरहरूप्रति असन्तुष्टि जनाएकी थिइन्। त्यसपछि उनले काठमाडौंको फोहोर रोक्ने चेतावनी दिँदै बैठकस्थलबाट बाहिरिइन् । शनिबार बञ्चरेडाँडाका स्थानीयले फोहोर बोकेका ट्रकलाई केहीबेर अवरोध समेत गरेका थिए। नेपाल न्युज बैंक















प्रतिक्रिया दिनुहोस्