Advertisement
Advertisement
Corporate Samachar
२२ भाद्र २०८३, सोमबार
Advertisement

चोरी निकासीले स्पेयर पाटर्सका व्यवसायमा चुनौति थपिदिएको छ : गणेश प्रसाद भट्टराई( अन्तर्वार्ता)

चोरी निकासीले स्पेयर पाटर्सका व्यवसायमा चुनौति थपिदिएको छ : गणेश प्रसाद भट्टराई( अन्तर्वार्ता)
विज्ञापन
Advertisement

नेपालको अटोमोबाइल क्षेत्र पछिल्लो समय विद्युतीय सवारीसाधनको बढ्दो प्रयोग, स्वदेशमै सवारीसाधन तथा अटो कम्पोनेन्ट उत्पादनको सुरुवात र नयाँ प्रविधिको प्रवेशसँगै तीव्र रूपान्तरणको चरणमा छ। यही परिवेशमा यस वर्ष १८औं संस्करणको नाडा अटो शो आयोजना हुँदैछ। अटोमोबाइल क्षेत्रको वर्तमान अवस्था, नाडा अटो शोका विशेषता, बजारका चुनौती तथा नीतिगत सुधारका विषयमा नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका उपाध्यक्ष गणेश प्रसाद भट्टराईसँग गरिएकाे कुराकानीकाे सम्पादित अंश :

विज्ञापन
Advertisement
Advertisement

आगामी नाडा अटो शोको तयारी कस्तो भइरहेको छ ?

नेपालमा अटोमोबाइल क्षेत्रको प्रवद्र्धन, नयाँ प्रविधिबारे जानकारी र उपभोक्तालाई अटोमोबाइलसम्बन्धी ज्ञान दिने उद्देश्यले नाडाले लामो समयदेखि अटो शो आयोजना गर्दै आएको छ। यस वर्ष पनि शो सफल बनाउन हामीले तयारीलाई तीव्र बनाएका छौं ।

उपाध्यक्षका रूपमा मेरो जिम्मेवारी भनेर कुनै एउटा क्षेत्रमा मात्र सीमित छैन। नाडा अटो शो सफल बनाउन आवश्यक पर्ने जुनसुकै भूमिकामा सक्रिय भएर काम गर्नुपर्छ भन्ने हाम्रो मान्यता हो। विशेषगरी प्रदेशमा रहेका अटो व्यवसायी तथा आम उपभोक्तासम्म शोको जानकारी पु¥याउन विभिन्न माध्यमबाट प्रचार–प्रसार गरिरहेका छौं।

अहिले नेपालको अटोमोबाइल बजारलाई तपाईंले कसरी मूल्यांकन गर्नुभएको छ ?

कोभिडपछि अटोमोबाइल मात्र होइन, नेपालको समग्र व्यवसाय र अर्थतन्त्रमा केही समस्या देखिएका थिए। तर अहिले बजारमा क्रमशः सुधारको संकेत देखिन थालेको छ। विगतका तुलनामा आर्थिक गतिविधि बढ्दै गएको र विभिन्न क्षेत्रमा सुधारको अवस्था देखिएको छ।

स्थिर सरकार र स्थिर नीतिगत वातावरणले यो सुधारलाई थप गति दिन सक्छ। अटोमोबाइल क्षेत्र पनि अर्थतन्त्रसँग प्रत्यक्ष जोडिएको क्षेत्र भएकाले अटो शो जस्ता गतिविधिले बजारमा सकारात्मक वातावरण निर्माण गर्न महत्वपूर्ण भूमिका खेल्न सक्छन्।

भन्सार, चोरी–पैठारी र सीमावर्ती क्षेत्रमा देखिएका समस्याले अटो व्यवसायलाई कस्तो असर पारेको छ ?

यो निकै महत्वपूर्ण विषय हो। विशेषगरी लुम्बिनी प्रदेश भन्सार नाकासँग नजिक रहेको क्षेत्र भएकाले चोरी–पैठारीको समस्या हामीले प्रत्यक्ष रूपमा भोगिरहेका छौँ। विगतको तुलनामा केही सुधार भए पनि समस्या पूर्ण रूपमा समाधान भएको छैन।

भन्सारबाट हुने आयातलाई व्यवस्थित गर्न सरकारले केही कडाइ गरेको छ। तर सीमावर्ती क्षेत्रमा रातको समयमा अवैध रूपमा सामान ल्याउने समस्या अझै छ। यस विषयमा हामीले भन्सार प्रमुख, प्रमुख जिल्ला अधिकारी तथा सशस्त्र प्रहरी बलका सम्बन्धित अधिकारीहरूसँग समेत पटक–पटक छलफल गरेका छौं। समस्या समाधानका लागि पहल भइरहेको जानकारी पाएका छौं, तर ठोस रूपमा समाधान हुन अझै बाँकी छ।

एमआरपी र भन्सार मूल्यांकनसम्बन्धी समस्या पनि व्यवसायीले उठाउँदै आएका छन्। यसलाई कसरी हेर्नुभएको छ ?

एमआरपीको विषयले अहिले व्यापारीहरूलाई केही असहज बनाएको छ। भारतबाट सामान आयात गर्दा एमआरपी राखेर ल्याउनुपर्ने अवस्था हुन्छ। तर नेपालका सबै भूभागको बजार अवस्था र ढुवानी लागत समान हुँदैन। दुर्गम क्षेत्रमा सामान पठाउँदा ढुवानी तथा अन्य लागत थपिन्छ। त्यसैले एउटै मूल्यमा सबै ठाउँमा सामान बिक्री गर्नुपर्ने अवस्थाले व्यवसायीलाई समस्या पारिरहेको छ।

त्यसैगरी, विदेशबाट आयात हुने सामानको भन्सार मूल्यांकन र शुल्क निर्धारणमा पनि वैज्ञानिक र व्यावहारिक प्रणाली आवश्यक छ। कतिपय अवस्थामा एउटा सानो पाट्र्सको मूल्य धेरै हुन्छ, तर त्यसैलाई जोडेर बनेको सम्पूर्ण सामानको मूल्य तुलनात्मक रूपमा कम हुन्छ। यस्तो अवस्थामा विद्यमान मूल्यांकन प्रणालीले व्यवसायीलाई समस्या पार्ने गरेको छ। यी समस्याको दीर्घकालीन समाधानका लागि सरकारले व्यवसायीसँग प्रत्यक्ष छलफल र अन्तरक्रिया गर्नुपर्छ। उद्योग वाणिज्य संघहरू पनि यस विषयमा निरन्तर पहल गरिरहेका छन्।

नयाँ–नयाँ गाडी नेपालमा भित्रिँदै गर्दा स्पेयर पाट्र्सको उपलब्धता भने अपेक्षाअनुसार हुन नसकेको गुनासो छ। यसको कारण के हो ?

नयाँ गाडी बजारमा आउनेबित्तिकै त्यसका सबै स्पेयर पाट्र्स उपलब्ध हुन नसक्नु स्वाभाविक समस्या पनि हो। कम्पनीले नयाँ मोडल उत्पादन गरेपछि त्यसका पाट्र्स उत्पादन र विभिन्न बजारमा वितरण गर्न केही समय लाग्छ।

नेपालमा नयाँ गाडी आइसकेपछि पनि कतिपय अवस्थामा आवश्यक पाट्र्स आउन ढिला हुने गरेको छ। ओरिजिनल पाट्र्सबाहेक अन्य विकल्प सहज रूपमा उपलब्ध नहुँदा ग्राहक र व्यवसायी दुवैलाई समस्या हुन्छ। यसको समाधानका लागि नेपालमा गाडी आयात गर्ने डिलर तथा व्यवसायीले सम्बन्धित कम्पनीसँग नियमित समन्वय गरेर आवश्यक पाट्र्स छिटो उपलब्ध गराउन पहल गर्नुपर्छ। कम्पनीहरूले पनि नेपालजस्तो बजारका लागि आवश्यक स्पेयर पाट्र्सको आपूर्ति प्रणालीलाई थप प्रभावकारी बनाउनुपर्छ।

अहिले बैंक तथा वित्तीय क्षेत्रमा तरलता रहेको अवस्थामा निजी क्षेत्रको लगानी बढाउन सरकारले के गर्नुपर्छ ?

निजी क्षेत्रलाई लगानीका लागि प्रोत्साहित गर्ने वातावरण बनाउन सरकारको भूमिका अत्यन्त महत्वपूर्ण हुन्छ। अहिले दुई तिहाइको सरकार भएकाले नीतिगत सुधार गर्ने अवसर पनि छ। विशेषगरी करमा केही सहुलियत र नयाँ उद्योग तथा व्यवसाय स्थापना गर्न प्रोत्साहन आवश्यक छ।

नेपालमा उद्योग खोल्ने र उत्पादन गर्ने व्यवसायीलाई सुरुवाती वर्षमा केही कर छुट तथा अन्य सुविधा दिन सकिन्छ। भारतका विभिन्न क्षेत्रमा नयाँ उद्योग स्थापना गर्दा प्रारम्भिक वर्षमा कर तथा विद्युत् लगायतका सुविधाहरू दिने अभ्यास छ। नेपालले पनि यस्ता अभ्यासबाट सिक्न सक्छ।
उद्योग स्थापना गरेर उत्पादन र रोजगारी सिर्जना गर्ने व्यवसायीलाई सुरुवाती एक–दुई वर्ष केही सुविधा दिइयो भने उनीहरू स्थापित हुन सक्छन्। व्यवसाय सफल भएपछि सरकारले करमार्फत राजस्व प्राप्त गर्न सक्छ। यसबाट देशमै रहेको पुँजी परिचालन हुन्छ, रोजगारी सिर्जना हुन्छ र समग्र अर्थतन्त्र बलियो हुन्छ।

नेपालमा सवारीसाधन एसेम्बल गर्ने उद्योगलाई सरकारले कस्तो सुविधा दिनुपर्छ ?

नेपालमै सवारीसाधन एसेम्बल गर्ने उद्योगलाई सरकारले विशेष प्राथमिकता दिनुपर्छ। अहिले भारतलगायत अन्य मुलुकबाट पाट्र्स ल्याएर नेपालमा एसेम्बल गर्ने अभ्यास सुरु भएको छ। यस्तो उद्योगलाई कर, भन्सार तथा अन्य नीतिगत सुविधामार्फत प्रोत्साहन गर्न सकिन्छ।

नेपालमा एसेम्बल भएपछि सवारीसाधनको मूल्य आयातित गाडीको तुलनामा प्रतिस्पर्धी बन्ने वातावरण बनाउनुपर्छ। यसका लागि आवश्यक कच्चा पदार्थ तथा पाट्र्स आयातमा सहुलियत दिन सकिन्छ। यस्ता उद्योग विस्तार भएमा देशमा रोजगारी बढ्छ, औद्योगिक गतिविधि विस्तार हुन्छ र अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्छ।

निजी क्षेत्रले अहिले लगानी गर्न कत्तिको सुरक्षित र सहज वातावरण महसुस गरिरहेको छ ?

निजी क्षेत्र लगानी गर्न तयार छ, तर लगानीका लागि विश्वासिलो र स्थिर वातावरण आवश्यक हुन्छ। व्यवसायीले लगानी गरेपछि नीति परिवर्तन भइरहने, कर प्रणाली जटिल हुने वा आयात–निर्यातमा अनिश्चितता हुने अवस्था रहनु हुँदैन।

सरकारले निजी क्षेत्रसँग निरन्तर संवाद गरेर समस्या पहिचान र समाधान गर्नुपर्छ। सरकारले उद्योगी तथा व्यवसायीलाई ‘तपाईंहरू लगानी गर्नुस्, हामी आवश्यक सुविधा दिन्छौँ’ भन्ने विश्वास दिलाउन सक्नुपर्छ। त्यसो भयो भने अहिले बैंकमा रहेको पुँजी पनि उत्पादनमूलक क्षेत्रमा जान सक्छ।

यस वर्षको नाडा अटो शोबाट उपभोक्ता र व्यवसायीले के अपेक्षा गर्न सक्छन् ?

नाडा अटो शो केवल गाडी प्रदर्शन गर्ने कार्यक्रम मात्र होइन। यो अटोमोबाइल क्षेत्रसँग जोडिएका प्रविधि, व्यवसाय, उद्योग, रोजगारी र अर्थतन्त्रका विविध पक्षबारे जानकारी र छलफल गर्ने महत्वपूर्ण प्लेटफर्म हो।

यस वर्ष पनि नयाँ प्रविधि, नयाँ मोडल र अटोमोबाइल क्षेत्रमा भएका पछिल्ला विकासबारे उपभोक्ताले प्रत्यक्ष जानकारी पाउने अवसर प्राप्त गर्नेछन्। साथै, देशको औद्योगिक तथा व्यावसायिक वातावरणबारे अन्तरक्रियात्मक कार्यक्रमहरू पनि आयोजना हुनेछन्। त्यसैले यो शो व्यवसायीका लागि मात्र नभई आम उपभोक्ताका लागि पनि महत्वपूर्ण छ।

 

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit