काठमाडौं । रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान आएको भीषण बाढीबाट टिमुरे, स्याफ्रुबेँसी तथा रसुवागढी क्षेत्रमा ठूलो जनधनको क्षति भएकोप्रति नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले गहिरो दुःख व्यक्त गरेको छ।
नाइमाका अनुसार बाढीबाट सडक तथा पुल, विद्युत् तथा सञ्चार पूर्वाधार, सवारीसाधन, बजार क्षेत्र, जलविद्युत् आयोजना, सरकारी तथा सुरक्षा निकायका संरचना र अन्य महत्वपूर्ण भौतिक सम्पत्तिमा ठूलो क्षति पुगेको प्रारम्भिक विवरण प्राप्त भएको छ।
बाढीका कारण इलाका प्रहरी कार्यालय टिमुरे, प्रहरी चौकी स्याफ्रुबेँसी तथा प्रहरी चौकी रसुवागढीसमेत प्रभावित भएका छन्। घटनाको विस्तृत विवरण आउन बाँकी रहेकाले मानवीय, भौतिक तथा आर्थिक क्षति अझ बढ्न सक्ने भन्दै नाइमाले चिन्ता व्यक्त गरेको छ।
नाइमाले बाढीबाट प्रभावित नागरिक, परिवार, व्यवसायी, सुरक्षाकर्मी तथा स्थानीय समुदायप्रति सहानुभूति व्यक्त गर्दै खोज, उद्धार तथा राहतमा खटिएका नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना, स्थानीय प्रशासन तथा सम्पूर्ण उद्धारकर्मीप्रति सम्मान व्यक्त गरेको छ।
भोटेकोशी तथा त्रिशूली नदी प्रणालीसँग जोडिएका क्षेत्रमा थप जोखिम हुन सक्ने भएकाले रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवनलगायत सम्भावित प्रभावित क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन तथा सुरक्षित स्थानमा रहन नाइमाले आग्रह गरेको छ। सम्बन्धित निकायबाट जारी सुरक्षा सूचना तथा निर्देशन पालना गर्नसमेत उसले अनुरोध गरेको छ।
नाइमाले विपद्को यस कठिन परिस्थितिमा प्रभावित समुदायसँग साथमा रहेको जनाउँदै उद्धार, राहत तथा पुनर्स्थापनाका कार्यमा सम्बन्धित सरकारी तथा सुरक्षा निकायसँग आवश्यक सहकार्य गर्न तयार रहेको जनाएको छ। साथै, बाढी प्रभावित क्षेत्रमा शीघ्र उद्धार तथा राहत पुग्नुका साथै पुनर्स्थापना कार्य प्रभावकारी रूपमा अघि बढ्ने विश्वास व्यक्त गरेको छ।















प्रतिक्रिया दिनुहोस्