Advertisement
Advertisement
Corporate Samachar
२२ भाद्र २०८३, सोमबार
Advertisement

बाढीपीडितको उद्धार–राहतमा २० अर्ब परिचालन गर्दै सरकार, विश्व बैंकबाट २५ अर्ब सहायता सुनिश्चित

बाढीपीडितको उद्धार–राहतमा २० अर्ब परिचालन गर्दै सरकार, विश्व बैंकबाट २५ अर्ब सहायता सुनिश्चित
विज्ञापन
Advertisement

काठमाडौं । चीनको तिब्बतबाट आएको भीषण बाढीबाट भएको क्षति व्यवस्थापन, उद्धार तथा राहतका लागि सरकारले तत्काल परिचालन गर्न सकिने गरी करिब २० अर्ब रुपैयाँ बराबरको स्रोत जुटाउने जनाएको छ।

विज्ञापन
Advertisement
Advertisement

अर्थमन्त्री ड स्वर्णिम वाग्लेका अनुसार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष, गृह मन्त्रालयलगायतका निकायमा उपलब्ध रकम आवश्यकताअनुसार परिचालन गरिनेछ । चालु आर्थिक वर्षको बजेटमा विपद् व्यवस्थापनका लागि करिब १० अर्ब रुपैयाँ विनियोजन गरिएको छ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ अर्ब ३४ करोड रुपैयाँ र गृह मन्त्रालयको कोषमा १ अर्ब १७ करोड रुपैयाँ सुरक्षित रहेको अर्थमन्त्रीले बताए ।

वाग्लेले तत्काल उद्धार, राहत तथा अन्य व्यवस्थापनका लागि स्रोतको अभाव नहुने स्पष्ट पारेका छन् । उनका अनुसार सरकारले उपलब्ध स्रोत तत्काल परिचालन गर्ने र आवश्यकताअनुसार थप स्रोत जुटाउने तयारी गरेको छ ।

यसैबीच सरकारले विश्व बैंकको ‘क्याट डिडीओ र्‍यापिड रेस्पोन्स’ सुविधामार्फत करिब २५ अर्ब रुपैयाँ बराबरको सहयोग जुटाउने प्रक्रिया अघि बढाएको छ । चीन, भारत र जापान सरकार तथा एसियाली विकास बैंक ९एडीबी० र इन्टरनेसनल फेडेरेसन अफ रेडक्रस ९आईएफआरसी० बाट समेत सहयोग वा सहयोगको प्रतिबद्धता प्राप्त भएको अर्थमन्त्री वाग्लेले बताए ।

बाढी प्रभावित क्षेत्रमा उद्धारका लागि सुरुमा दुईवटा हेलिकप्टर परिचालन गरिएकोमा अहिले २२ वटा हेलिकप्टर परिचालन गरिएको उनले जानकारी दिए । भूगोल र मौसमले साथ दिएसम्म बेपत्ता तथा अलपत्र परेका नेपाली नागरिक र विदेशी पर्यटकको उद्धार जारी रहने उनको भनाइ छ ।

वाग्लेका अनुसार बाढी तथा विपद्का कारण २२ देखि २५ वटा पक्की पुल र करिब ७ सय मेगावाट क्षमताका जलविद्युत् आयोजनामा क्षति पुगेको प्रारम्भिक जानकारी प्राप्त भएको छ । ठूलो जनधनको क्षति भएको र विभिन्न क्षेत्रमा शव फेला पर्न थालेको उनले बताए । ‘२२–२५ वटा पक्की पुल, सात सय मेगावाटजतिको हाइड्रोपावर क्षतिग्रस्त, धेरै जनधनको क्षति भएको छ। शवहरू नवलपुर, चितवनमा गएर भेटिन थालेका छन् । समाजका सबै पक्ष, दल, निकायहरू नै यसमा लाग्नुपर्ने आवश्यकताका साथ अगाडि बढेका छौँ,’ उनले भने ।

अर्थमन्त्री वाग्लेले उद्धार र राहतपछि प्रारम्भिक पुनरुत्थान तथा मध्यकालीन र दीर्घकालीन पुनर्निर्माणमा सरकार केन्द्रित हुने बताए। उनले २०७२ सालको भूकम्पपछि गरिएको सफल पुनर्निर्माणको अनुभवलाई आधार बनाउँदै यसपटक पनि वैज्ञानिक तथ्य, अध्ययन र आवश्यकताका आधारमा पुनर्निर्माणको महाअभियान सञ्चालन गरिने जानकारी दिए । उनले भने, ‘अहिले दुई–चार दिन राहत र उद्धारमा छौँ । गृहमन्त्रीज्यूले बिफ्रिङ गर्नुभएको छ । बेपत्ता रहनुभएका, अलपत्र पर्नुभएका धेरै नेपाली नागरिक र विदेशी पर्यटकहरू सबैको उद्धार चलिरहेको छ।’

उनले राष्ट्रिय संकटको समयमा सरकार, राजनीतिक दल, नागरिक समाज र निजी क्षेत्रसहित सबै पक्ष एकजुट भएर राहत, उद्धार, पुनरुत्थान र पुनर्निर्माणमा अघि बढ्नुपर्नेमा जोड दिए । ‘हिजो दुईवटा हेलिकप्टरबाट अहिले २२ वटा हेलिकप्टर उडान गरेर, भूगोल र मौसमले साथ दिएसम्म उद्धारका गतिविधिहरू चलिरहेका छन् । त्यससँगसँगै अब साधन–स्रोत, अन्तर्राष्ट्रिय सहयोग जुटाउने काममा पनि लागिसकेका छौँ।’

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit