काठमाडौं । नेपाली मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र ढाँटले अन्तर्राष्ट्रिय मञ्चमा ऐतिहासिक सफलता हासिल गरेका छन्। चीनको साङ्घाईस्थित अक्टागनमा जारी रोड टु युएफसी सिजन–५ को सेमिफाइनलमा न्युजिल्यान्डका फाइटर कासिब मर्डकलाई पराजित गर्दै ढाँट फाइनलमा प्रवेश गरेका हुन्।
योसँगै रवीन्द्र रोड टु युएफसीको फाइनलमा पुग्ने पहिलो नेपाली फाइटर बनेका छन्। उनको यो सफलता नेपाली एमएमएका लागि समेत महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।
अब फाइनलमा समेत जित हात पार्न सके रवीन्द्रले विश्वकै प्रतिष्ठित मिक्स मार्सल आर्ट्स संस्था युएफसीसँग व्यावसायिक सम्झौता गर्ने अवसर पाउनेछन्। त्यसैले आगामी फाइनललाई उनको करिअरकै सबैभन्दा महत्वपूर्ण भिडन्तका रूपमा लिइएको छ।
‘बझाङ्गी बाघ’ उपनामले परिचित रवीन्द्रले बान्टमवेट विधामा अहिलेसम्म ११ खेल खेलेका छन्। तीमध्ये उनले १० खेलमा जित निकाल्दा एक खेलमा मात्र पराजय व्यहोरेका छन्। सन् २०२३ मा इस्माइल खानसँग पराजित भएपछि रवीन्द्रले लगातार उत्कृष्ट प्रदर्शन गर्दै आएका छन्।
गत वर्ष भारतको नोएडामा आयोजित म्याट्रिक्स फाइट नाइट–१७ को बान्टमवेट उपाधि जितेपछि रवीन्द्र अन्तर्राष्ट्रिय एमएमए वृत्तमा थप चर्चामा आएका थिए। उनले भारतका चर्चित फाइटर चुनरेङ कोरेनलाई तेस्रो चरणमा नकआउट गर्दै उपाधि जितेका थिए। उनी म्याट्रिक्स फाइट नाइटको बान्टमवेट उपाधि जित्ने पहिलो नेपाली खेलाडीसमेत बनेका थिए।















प्रतिक्रिया दिनुहोस्