काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा रहेको अतिरिक्त तरलता व्यवस्थापन गर्न २० अर्ब रुपैयाँ बराबरको तीनमहिने निक्षेप संकलन उपकरण जारी गर्ने भएको छ।
राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले सोमबार ८६ दिन अवधिको निक्षेप संकलनका लागि बोलकबोल आह्वान गरेको हो। बोलकबोल आजै दिउँसो ३ बजेसम्म अनलाइन बिडिङ सिस्टम मार्फत मात्र हुनेछ। सोही दिन निक्षेप संकलन उपकरण निष्काशन गरिनेछ। यस उपकरणको साँवा तथा ब्याज मंसिर ९ गते भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ। यसको ब्याजदर भने बोलकबोलमार्फत निर्धारण हुनेछ। बोलकबोलमा सहभागी संस्थाले आफूले निक्षेप गर्न चाहेको रकम र ब्याजदर उल्लेख गरी बोलपत्र पेश गर्नुपर्नेछ। एउटै संस्थाले फरक–फरक ब्याजदरमा एकभन्दा बढी बोलपत्र पेश गर्न सक्ने व्यवस्था छ।
बोलकबोलमा राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउनेछन्। न्यूनतम १० करोड रुपैयाँ र त्यसपछि १० करोड रुपैयाँकै गुणकमा अधिकतम २० अर्ब रुपैयाँसम्म बोल गर्न सकिनेछ। राष्ट्र बैंकले सबैभन्दा कम ब्याजदरलाई प्राथमिकता दिँदै आह्वान गरिएको रकमसम्म क्रमशः बोलपत्र बाँडफाँड गर्ने जनाएको छ। समान ब्याजदरमा माग गरिएको रकम निष्काशित रकमभन्दा बढी भएमा प्रो–राटा आधारमा बाँडफाँड गरिने उल्लेख छ।
निक्षेप संकलन उपकरण अन्य बैंक तथा वित्तीय संस्थामा धितोका रूपमा प्रयोग गर्न सकिनेछ। तर, भुक्तानी मितिभन्दा अघि यसको रकम फिर्ता वा प्रिम्याचुअर भुक्तानी भने गर्न पाइने छैन। राष्ट्र बैंकका अनुसार संकलित निक्षेप सम्बन्धित बैंकको लगानी पोर्टफोलियोमा गणना हुनेछ। उक्त रकम अनिवार्य नगद मौज्दात (सीआरआर) मा गणना गर्न पाइने छैन भने राष्ट्र बैंकले तोकेको एसएलआर तथा तरलता अनुपातमा भने गणना गर्न सकिनेछ। केन्द्रीय बैंकले आवश्यकताअनुसार आह्वान गरिएको रकमको सम्पूर्ण वा आंशिक बोल स्वीकार वा अस्वीकार गर्न सक्ने जनाएको छ। स्वीकृत बोलपत्रबापतको रकम सम्बन्धित काउण्टरपार्टीको राष्ट्र बैंकमा रहेको खाताबाट कट्टा गरी छुट्टै निक्षेप खातामा जम्मा गरिनेछ।















प्रतिक्रिया दिनुहोस्