काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट क्षतिग्रस्त सडक तथा पुललगायत यातायात पूर्वाधार पुनर्निर्माण गर्न करिब ५० अर्ब रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान गरिएको छ। प्रारम्भिक क्षति आकलनअनुसार सडक पूर्वाधारमा मात्रै ३० अर्ब रुपैयाँभन्दा बढीको क्षति पुगेको छ।
विभिन्न जिल्लामा बाढीले भोटेकोशी, त्रिशूली नदी आसपासका सडक, पुल, कल्भर्ट तथा अन्य यातायात संरचनामा व्यापक क्षति पुर्याएको छ। कतिपय सडकखण्ड नदी कटानमा परेका छन् भने केही स्थानमा सडकको ट्र्याक नै बगाएको छ। नदीमाथि निर्माण गरिएका पुल तथा अन्य संरचनामा समेत ठूलो क्षति पुगेको छ। सडक विभागका अनुसार क्षतिग्रस्त सडक तथा पुलको विस्तृत प्राविधिक मूल्यांकन भइरहेको छ। पूर्ण विवरण संकलन तथा प्राविधिक अध्ययन सम्पन्न भएपछि पुनर्निर्माणको लागत अझ बढ्न सक्ने अनुमान गरिएको छ।
सडक विभागले मंगलबार सार्वजनिक गरेको प्रारम्भिक आकलनअनुसार सडक तथा पुल पुनर्निर्माणका लागि आवश्यक पर्ने करिब ५० अर्ब रुपैयाँमध्ये सडकतर्फ मात्रै ३० अर्ब रुपैयाँभन्दा बढी खर्च हुने देखिएको छ। बाढीले पुर्याएको क्षतिको गम्भीरता, भौगोलिक अवस्था, नदीको बहाव र जोखिमयुक्त क्षेत्रलाई ध्यानमा राखेर पुनर्निर्माण गर्नुपर्ने भएकाले लागत ठूलो हुने भएको हो।
सरकारले क्षतिग्रस्त संरचना तत्काल सञ्चालनमा ल्याउनेसँगै दीर्घकालीन रूपमा सुरक्षित र दिगो पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेको विभागले जनाएको छ। क्षतिको अवस्था हेरेर कतिपय स्थानमा पुरानै संरचना मर्मत गर्ने र जोखिमयुक्त क्षेत्रमा नयाँ संरचना निर्माण गर्ने तयारी भइरहेको छ। भोटेकोशी नदीमा आएको बाढीले रसुवामा चीनसँगको सीमा जोड्ने सडक तथा उत्तरी व्यापारिक नाकासँगको यातायात सम्पर्कमा समेत गम्भीर चुनौती थपेको छ। त्यसैले क्षतिग्रस्त सडक तथा पुलको पुनर्निर्माणलाई सामान्य मर्मतसम्भारभन्दा रणनीतिक महत्वको विषयका रूपमा अघि बढाउनुपर्ने देखिएको छ।
सरकारले पुनर्निर्माणका लागि आवश्यक बजेट, प्राविधिक जनशक्ति र निर्माणको प्राथमिकता निर्धारण गरी काम अघि बढाउने तयारी गरेको विभागले जनाएको छ। यद्यपि, ५० अर्ब रुपैयाँको अनुमान प्रारम्भिक भएकाले विस्तृत प्राविधिक अध्ययनपछि मात्रै वास्तविक पुनर्निर्माण लागत यकिन हुने बताइएको छ।















प्रतिक्रिया दिनुहोस्