Advertisement
Advertisement
Corporate Samachar
२२ भाद्र २०८३, सोमबार
Advertisement

भोटेकोशी बाढीले दुई अर्बका सामान बगायो, २० प्रतिशतसम्म मूल्यवृद्धिको जोखिमः अध्यक्ष कार्की (अन्तवार्ता)

भोटेकोशी बाढीले दुई अर्बका सामान बगायो, २० प्रतिशतसम्म मूल्यवृद्धिको जोखिमः अध्यक्ष कार्की  (अन्तवार्ता)
विज्ञापन
Advertisement

काठमाडौं । दशैँ–तिहारको मुखमा चीनबाट आउने चाडपर्व लक्षित सामानको आपूर्ति संकटमा परेको छ । गत बुधबार रसुवागढीमा आएको बाढीले करिब २०० कन्टेनर सामान बगाएको छ । बाढीका कारण रसुवागढी नाका ठप्प भएकै बेला तातोपानी नाका पनि अनिश्चितकालका लागि बन्द भएपछि बजारमा केही सामान अभावसँगै करीब २० प्रतिशतसम्म मूल्य बढ्ने जोखिम देखिएको छ ।

विज्ञापन
Advertisement
Advertisement

नेपाल हिमालय सिमापार वाणिज्य संघका अध्यक्ष रामहरी कार्कीका अनुसार बाढीमा बगेका गाडीमा लत्ताकपडा, जुत्ता–चप्पल, इलेक्ट्रोनिक्स, फलफूललगायत दशैँ–तिहारका लागि आयात गरिएका सामान थिए । ‘व्यवसायीले चीनबाट आयात गर्न लागेका चाडपर्व लक्षित सामान नै बाढीमा बगेकाले तत्काल बजारमा सामान उपलब्ध नहुने चिन्ता छ,’ कार्कीले भने । यस्तो अवस्थामा चीन सरकारले तातोपानी नाका समेत अनिश्चित कालका लागि बन्द गरेपछि अहिले चीनबाट सामान ल्याउने तत्कालको मुख्य विकल्प कोरोला नाका बनेको छ । तर तातोपानीबाट एक दिनमै काठमाडौं आइपुग्ने सामान कोरला नाका हुँदै ल्याउँदा ६ देखि १० दिनसम्म लाग्ने भएकाले आपूर्ति व्यवस्थामा थप दबाब परेको छ । ढुवानी लागतसमेत दोब्बरको हाराहारीमा पुगेको छ । यसअघि एउटा कन्टेनरको भाडा करिब १ लाख ७५ हजारदेखि दुई लाख रुपैयाँ रहेकोमा अहिले तीन लाखदेखि चार लाख रुपैयाँसम्म पुगेको कार्कीले बताए । गाडीको अभावका कारण महँगो भाडा तिर्दा पनि कन्टेनर पाउन कठिन रहेको उनको भनाइ छ । ढुवानी लागत बढ्दा बजारमा १० देखि २० प्रतिशतसम्म मूल्यवृद्धि हुनसक्ने उनले बताए । तर मूल्य बढ्नु भन्दा पनि चाडपर्वमा आवश्यक सामान नै अभाव हुन सक्ने जोखिम बढी रहेको उनको भनाइ छ ।

समुद्री मार्गबाट सामान ल्याएर तत्कालको समस्या समाधान गर्न पनि सम्भव छैन । चीनबाट स्थलमार्ग हुँदै सामान काठमाडौं आइपुग्न करिब १२–१३ दिन लाग्ने भए पनि समुद्री मार्गबाट ५५ देखि ६५ दिनसम्म लाग्ने भएकाले अहिले पठाइएका सामान दशैँ–तिहारअघि बजारमा आइपुग्ने सम्भावना नरहेको कार्कीले बताए । बाढीबाट भएको क्षतिको यकिन विवरण तयार भइनसके पनि संघको प्रारम्भिक अनुमानमा करिब दुई अर्ब रुपैयाँभन्दा बढीको सामान नष्ट भएको छ । ‘एउटा गाडीमा ५० लाखदेखि दुई करोड रुपैयाँसम्मको सामान रहेको आधारमा यस्तो अनुमान गरिएको हो,‘ उनले भने । यसबाट सरकारको राजस्वमा समेत प्रत्यक्ष असर पर्ने देखिएको छ । कार्कीका अनुसार रसुवा र तातोपानी नाकाबाट यस वर्ष करिब ५० अर्ब रुपैयाँ राजस्व उठाउने लक्ष्य रहेकामा बाढीमा बगेका गाडीका सामानबाट मात्रै व्यवसायीले १७–१८ करोड रुपैयाँ राजस्व तिरिसकेका थिए ।

कार्कीले तातोपानी नाका तत्काल सञ्चालनमा ल्याउन नेपाल सरकारले चीनसँग द्विपक्षीय वार्ता गर्नुपर्नेमा जोड दिएका छन् । दीर्घकालीन रूपमा दोलखाको लामाबगर नाकालाई वैकल्पिक व्यापारिक मार्गका रूपमा विकास गर्नुपर्ने उनको भनाइ छ । बाढीले रसुवागढी नाकाबाट हुने नेपाल–चीन व्यापार ठप्प भएपछि चीनतर्फ केरुङमा नेपालका लागि समान बाकेर आएका १७६ वटा कन्टेनर रोकिएका छन् । ती गाडीका लागि ७४ जना चालक मात्र रहेकाले सबै सामान एकैपटक ल्याउन समस्या भएको उनले बताए । विशेषगरी फलफूल बोकेका कन्टेनर लामो समय रोकिँदा कुहिने जोखिम बढेको छ । बाढीबाट संघसँग आबद्ध ७६ जना व्यक्ति अझै बेपत्ता रहेको कार्कीले बताए । बैंकबाट ऋण लिएर दशैँका लागि सामान ल्याएका व्यवसायीको सामान र गाडी गुमेकाले चाडपर्वपछि यसको आर्थिक असर अझ गम्भीर रूपमा देखिन सक्ने उनको भनाइ छ । संघले प्रभावित व्यवसायीलाई नगद सहयोग उपलब्ध गराउने विषयमा समेत छलफल अघि बढाएको जनाएको छ ।

रसुवा बाढीपछि संघको साधारणसभा स्थगित

रसुवामा आएको भीषण बाढी तथा पहिरोका कारण संघले आफ्नो साधारणसभा तथा निर्वाचन प्रक्रिया स्थगित गरेको छ । बाढीबाट संघसँग आबद्ध व्यवसायीहरू प्रभावित भएपछि पूर्वनिर्धारित कार्यक्रम स्थगित गरिएको हो । संघका अध्यक्ष कार्कीका अनुसार आगामी भदौ १४ गते उम्मेदवारी दर्ता गर्ने र १९ गते नयाँ नेतृत्व चयनका लागि साधारणसभा गर्ने कार्यक्रम तय गरिएको थियो । तर भदौ १० गते रसुवामा बाढी तथा पहिरो गएपछि व्यवसायीहरू उद्धार, आफन्तको खोजी तथा क्षतिको व्यवस्थापनमा व्यस्त हुनुपरेकाले कार्यक्रम स्थगित गरिएको हो ।

‘कसैको आफन्त खोज्नुपर्ने अवस्था छ, कसैको सामान हराएको पीडा छ । कसैको शव भेटिएपछि अन्त्येष्टिलगायतका संस्कारमा पनि समय लाग्ने भएकाले अहिले साधारणसभा गर्ने अवस्था रहेन,’ कार्कीले भने । अर्को सूचना जारी नभएसम्म निर्वाचन प्रक्रिया स्थगित गरिएको कार्कीले बताए ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit