काठमाडौं । पञ्चकन्या समूहले बाढी प्रभावित नागरिकको राहत तथा पुनर्निर्माणका लागि १ करोड ५५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ।
भदौ १० गते आएको भीषण बाढीबाट प्रभावित नागरिकलाई राहत उपलब्ध गराउने तथा पुनर्निर्माणमा सहयोग पुर्याउने उद्देश्यले समूहले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उपलब्ध गराएको हो।
पञ्चकन्या समूहका अनुसार समूहको तर्फबाट १ करोड ५५ लाख रुपैयाँ आर्थिक सहयोग गरिएको छ। त्यस्तै, पञ्चकन्या फाउन्डेसनमार्फत आवश्यक पुनर्निर्माण सामग्रीसमेत नेपाल सरकारलाई उपलब्ध गराइने जनाएको छ।
समूहमा कार्यरत कर्मचारीहरूले समेत बाढी प्रभावितका लागि १५ लाख रुपैयाँ सहयोग गरेका छन्। पञ्चकन्या समूहका महाप्रबन्धक देवेन्द्र शाहुले विपद्का कारण प्रभावित नागरिकको पीडामा समूह गम्भीर रूपमा संवेदनशील रहेको बताए।
पञ्चकन्या समूह स्थापना भएको ५५ वर्ष पूरा भएको अवसरमा हरेक वर्ष विभिन्न सामाजिक कार्यक्रमसहित वार्षिकोत्सव मनाउँदै आए पनि यसपटक देशमा आएको विपद्का कारण कुनै पनि औपचारिक कार्यक्रम आयोजना नगर्ने निर्णय गरेको जनाएको छ।
समूहले विपद्का समयमा प्रभावित नागरिकको राहत र पुनर्निर्माणमा सक्दो योगदान गर्नु आफ्नो सामाजिक जिम्मेवारी भएको जनाएको छ।
रक्तदान कार्यक्रम पनि आयोजना
यसैबीच, रुपन्देहीको तिलोत्तमा नगरपालिका–१५, कोटिहवास्थित पञ्चकन्या स्टिल उद्योग परिसरमा बुधबार खुला रक्तदान कार्यक्रम आयोजना गरिएको छ।
बाढी तथा अन्य विपद्का कारण रगतको अभाव हुनसक्ने अवस्थालाई मध्यनजर गर्दै रक्तदान कार्यक्रम आयोजना गरिएको महाप्रबन्धक शाहुले बताए। उनले सम्भावित रक्त अभावलाई सम्बोधन गर्न आयोजना गरिएको कार्यक्रममा सबैलाई सहभागी हुन आग्रह गरेका छन्।















प्रतिक्रिया दिनुहोस्