Advertisement
Advertisement
Corporate Samachar
२२ भाद्र २०८३, सोमबार
Advertisement

कांग्रेसले भन्यो– सुरुङमा फसेकाको उद्धारमा सरकारले गरेको ढिलाइ अमानवीय

कांग्रेसले भन्यो– सुरुङमा फसेकाको उद्धारमा सरकारले गरेको ढिलाइ अमानवीय
विज्ञापन
Advertisement

काठमाडौं । नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले बाढीका कारण सुरुङभित्र फसेका नागरिकको खोज तथा उद्धारमा भएको ढिलाइ अमानवीय र गम्भीर विषय भएको बताएका छन् ।

विज्ञापन
Advertisement
Advertisement

बुधबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै आङ्देम्बेले विपद्को समयमा सरकार प्रचारभन्दा नागरिकको जीवन बचाउन केन्द्रित हुनुपर्ने बताए । उनले सरकार फिल्डमा भन्दा सामाजिक सञ्जालमा बढी देखिएको टिप्पणी गर्दै गृहमन्त्री सुधन गुरुङको कार्यशैलीप्रति समेत प्रश्न उठाए । ‘सरकार र सत्तासीन साथीहरूलाई विनम्रतापूर्वक आग्रह गर्न चाहन्छु, यो प्रचार होइन, प्राण बचाउने समय हो । नागरिकको जीवनसँगको प्रश्नलाई गालीको विषय होइन, आफैँभित्र समीक्षाको विषय बनाउनुहोला,’ उनले भने ।

खोज तथा उद्धार अहिले सबैभन्दा बढी खड्किएको विषय भएको उल्लेख गर्दै उनले अझै ६२ जिल्लाका ३ हजार ९१६ नागरिक सम्पर्कविहीन रहेको विवरण आएको बताए । समयक्रममा यो संख्या अझै बढ्न सक्ने उनको भनाइ थियो । ‘सुरुङभित्र फसेकाको खोज तथा उद्धारमा भएको ढिलाइ अमानवीय र गम्भीर विषय हो,’ उनले भने । आङ्देम्बेले सरकारका मन्त्रीहरू सामाजिक सञ्जालमा फोटो र भिडियो राख्नमा भन्दा उद्धारका लागि प्राविधिक, विज्ञ र आवश्यक साधन जुटाउन सक्रिय हुनुपर्ने बताए । ‘यदि मन्त्रिपरिषद्का सदस्यहरूकै कोही परिवार वा आफन्तको सदस्य परेको भए मन्त्रीज्यूले प्राविधिक, विज्ञ र साधन खोजेर उद्धारमा जुट्नुहुन्थ्यो कि मन्त्रीले माटो खोस्रेको फोटो, भिडियो “वाह मन्त्रीजी” भन्न पोस्ट गरिराख्नुहुन्थ्यो ?’ उनले प्रश्न गरे ।

उनले विपद्को समयमा नेपाली कांग्रेस सरकारको साथमा रहेको तर सरकारले गरेका सबै कामलाई आँखा चिम्लेर समर्थन नगर्ने स्पष्ट पारे । राम्रो काममा साथ र बाटो बिराउँदा खबरदारी तथा प्रश्न गर्नु नै सहयोग भएको उनको भनाइ थियो । ‘विपद्मा सरकारको साथमा छौँ भन्नुको अर्थ सरकारले गरेका सबै कुरा माफ भन्ने पनि होइन । राम्रो काम गर्छ, साथ–समर्थन छ । बाटो बिराउँछ भने खबरदारी र प्रश्न पनि छ,’ उनले भने ।

बाढी आएको एक साता बितिसक्दा पनि उद्धार, राहत र पुनःस्थापनाको अवस्था ठीकठाक छ कि छैन भन्ने विषयमा सरकार गम्भीर हुनुपर्ने उनले बताए । मौन बसेर खबरदारी नगर्नु जिम्मेवारीबाट विमुख हुनु भएको उनको भनाइ थियो । आङ्देम्बेले विपद्को पहिलो दिनदेखि नै प्रधानमन्त्रीलाई भेटेर तत्काल गर्नुपर्ने कामबारे ध्यानाकर्षण गराएको बताए । कांग्रेसले तत्काल बैठक बसेर पार्टी पंक्तिलाई परिचालन गर्ने तथा सरकारको प्रयासमा साथ दिने निर्णय गरेको उनले जानकारी दिए ।

सर्वदलीय बैठकमा कांग्रेस सभापतिले सरकारलाई स्पष्ट रूपमा सहयोग गर्ने प्रतिबद्धता जनाएको स्मरण गराउँदै उनले पार्टीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरिसकेको बताए । विपद्को समयमा सत्ता पक्ष र प्रतिपक्ष नभनी सबै मिलेर उद्धार, राहत तथा पुनःस्थापनामा जुट्नुपर्नेमा जोड दिँदै उनले पीडित परिवारसँग कांग्रेस साथमा रहेको बताए । ‘विपद् कुन बेला आउँछ थाहा हुँदैन रहेछ । नेपाली कांग्रेस पार्टीले यही सदनमा पनि पटक–पटक विपद् जुनसुकै बेला आउन सक्छ, त्यसका लागि पूर्वतयारीमा लागौँ भनेर ध्यानाकर्षण गराएको स्मरण गराउन चाहन्छु,’ उनले भने ।

आङ्देम्बेले राष्ट्रिय विपद्को समयमा देशभित्र र बाहिर रहेका नेपाली तथा अन्तर्राष्ट्रिय समुदायबाट प्राप्त तत्परता, एक्यबद्धता र सहयोगप्रति धन्यवादसमेत व्यक्त गरे।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit