काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले सामाजिक सञ्जालमा डिडिसीको चिजको फोटो राख्दै स्वदेशी उत्पादनको प्रचार गरेपछि चर्चामा आएको दुग्ध विकास संस्थान (डिडिसी) अहिले चर्चालाई कारोबार र बजार विस्तारमा बदल्ने प्रयासमा छ।
लामो समयदेखि किसानको बक्यौता, ठूलो मौज्दात, कमजोर बजार र ऋणको दबाब झेल्दै आएको डिडिसीले अब दैनिक एक लाख ५० हजार लिटर दूध संकलन गर्ने महत्वाकाङ्क्षी लक्ष्य अघि सारेको छ। अहिले किसानबाट दैनिक करिब ६५ हजार लिटर दूध संकलन भइरहेकोमा थप ८५ हजार लिटर बढाउने योजना संस्थानको छ।
बालेनको सार्वजनिक प्रचारपछि डिडिसीका उत्पादनप्रति उपभोक्ताको चासो बढेको संस्थानको अनुभव छ। त्यही प्रभावलाई दीर्घकालीन बजारमा रूपान्तरण गर्न बिक्री केन्द्र विस्तार, उत्पादन विविधीकरण, निर्यात र दूध संकलनको दायरा बढाउने रणनीति अघि सारिएको हो। प्रधानमन्त्रीको सामाजिक सञ्जाल पोस्टपछि डिडिसीको चिजको मागमा उल्लेख्य वृद्धि भएको रिपोर्टहरू सार्वजनिक भएका थिए।
७२ हजार लिटर दूध बिक्री, कारोबार एक करोड नजिक
डिडिसीको पछिल्लो तथ्यांकले बजारमा आएको परिवर्तन देखाउँछ। काठमाडौँमा दैनिक दूध बिक्री करिब ६० हजार लिटरबाट बढेर ७२ हजार लिटर पुगेको छ। दैनिक दूध संकलन पनि ५० हजार लिटर हाराहारीबाट बढेर ६५ हजार लिटर पुगेको छ।
बिक्री केन्द्र विस्तारसँगै कारोबारमा समेत वृद्धि भएको छ। काठमाडौँमा दैनिक ५० देखि ६० लाख रुपैयाँ हाराहारीमा सीमित रहेको कारोबार अहिले करिब एक करोड रुपैयाँ पुगेको छ। यसअघि डिडिसीका आफ्नै ‘डेडिकेटेड’ बिक्री काउन्टर खासै थिएनन्। अहिले काठमाडौँमा मात्रै १५ वटा त्यस्ता काउन्टर सञ्चालनमा ल्याइएको छ।
बजार बढाउन नसक्दा उत्पादन थन्किने र उत्पादन थन्किँदा किसानको भुक्तानी प्रभावित हुने पुरानो चक्र तोड्न डिडिसीले अहिले संकलन–उत्पादन–बजारीकरणलाई एउटै रणनीतिमा जोडेको छ।
७२ करोडको बक्यौता २० करोडमा
डिडिसीका लागि सबैभन्दा ठूलो चुनौती किसानको बक्यौता थियो। महाप्रबन्धक डा। शरणकुमार पाण्डेले जिम्मेवारी सम्हाल्दा करिब ७२ करोड रुपैयाँ किसानलाई तिर्न बाँकी थियो। अहिले त्यो रकम घटेर करिब २० करोड रुपैयाँ मा झरेको छ।
पछिल्लो साढे तीन महिनामा मात्रै किसानलाई करिब ७० करोड रुपैयाँ भुक्तानी गरिएको संस्थानले जनाएको छ। आठ महिनासम्म भुक्तानी बाँकी रहने अवस्थाबाट अहिले करिब दुई महिनाको बक्यौतामा झरेको र अब मासिक हुँदै क्रमशः १५ दिनमै किसानलाई भुक्तानी गर्ने प्रणालीतर्फ जाने तयारी छ।
किसानको पैसा समयमा नपाउने समस्या समाधान नगरी दूध संकलन बढाउन नसकिने भएकाले नियमित भुक्तानीलाई डिडिसीको नयाँ रणनीतिको केन्द्रमा राखिएको छ।
६०० टन मिल्क पाउडरबाट १२० टनमा
बक्यौता मात्र होइन, डिडिसीको गोदाममा थुप्रिएको उत्पादन पनि पछिल्लो समय घटेको छ । महाप्रबन्धक पाण्डेले जिम्मेवारी सम्हाल्दा संस्थानसँग करिब ६०० टन धुलो दूध, ५०० टन बटर र १० टन पनिर मौज्दात थियो। अहिले धुलो दूधको मौज्दात करिब १२० टन र बटरको मौज्दात १२५ टन मा झरेको छ।
अर्थात् उत्पादन गरेर गोदाममा थन्क्याउनेभन्दा बजार खोजेर बिक्री गर्ने रणनीतिमा डिडिसी अघि बढेको देखिन्छ।
पहिलो पटक खाडी बजारमा घ्यू
आन्तरिक बजारमा मात्र निर्भर रहने पुरानो ढाँचाबाट बाहिर निस्कने प्रयासस्वरूप डिडिसीले अन्तर्राष्ट्रिय बजारसमेत खोज्न थालेको छ।
हालै ५०० किलो घ्यू दुबई निर्यात गरिएको छ। वार्षिक ५० हजार किलो घ्यू निर्यात गर्ने सम्झौता समेत भएको संस्थानले जनाएको छ। चिज र पेडाका लागि समेत विदेशबाट माग आउन थालेको छ भने दक्षिण कोरिया, मलेसिया र जापानमा डिडिसीका उत्पादन पठाउने विषयमा छलफल भइरहेको छ।
करिब २० प्रकारका दुग्धजन्य उत्पादन बनाउँदै आएको डिडिसीले बजारको मागअनुसार ‘स्लाइस चिज’ लगायत नयाँ उत्पादन थप्ने तयारीसमेत गरेको छ। पोखरामा उत्पादन तथा बजार विस्तारका लागि सम्झौताको प्रक्रिया अघि बढाइएको छ।
अब लक्ष्य दूध मात्रै होइन, डिडिसीको मोडल बदल्ने
डिडिसीको अगाडिको चुनौती भने अझै ठूलो छ। संस्थानमा करिब ८०० कर्मचारी छन्। कर्मचारी खर्च, दूध संकलन र बजारबीचको असन्तुलन तथा पुरानो ऋणको भारले वित्तीय सुधारलाई चुनौती दिइरहेको छ।
हाल डिडिसीमाथि करिब एक अर्ब २६ करोड रुपैयाँ ऋण रहेको छ। आगामी एक वर्ष छ महिनाभित्र ऋण तिर्ने लक्ष्य राखिएको छ। पछिल्लो अवधिमा मात्रै करिब तीन करोड रुपैयाँ ऋण भुक्तानी गरिएको संस्थानले जनाएको छ।
त्यसैले बालेनको एउटा सामाजिक सञ्जाल पोस्टबाट सुरु भएको बजार चर्चा डिडिसीका लागि केवल प्रचारको अवसरमा सीमित हुने कि सरकारी संस्थानको व्यवसायिक पुनरुत्थानको सुरुआत बन्ने, अबको परीक्षा त्यही हो।
दैनिक ६५ हजार लिटर दूध संकलन गरिरहेको डिडिसीले डेढ लाख लिटर पुर्याउने लक्ष्य राख्नु आफैँमा ठूलो छलाङ हो। तर त्यसका लागि किसानको विश्वास, गुणस्तरीय उत्पादन, नियमित भुक्तानी, बलियो बजार र निर्यातलाई एकसाथ अघि बढाउनुपर्नेछ।
बालेनको ‘डिडिसीको चिज’बाट सुरु भएको चर्चा अब किसानको भुक्तानी, बढ्दो बिक्री र विदेशी बजारसम्म पुग्ने डिडिसीको यात्रामा बदलिने अपेक्षा गरिएको छ।
















प्रतिक्रिया दिनुहोस्