काठमाडौं । त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङबाट १० दिनपछि जीवितै उद्धार गरिएका कवीर महर्जनको परिवारले उनको उद्धारलाई पुनर्जन्मकै रूपमा लिएको छ। कवीरकी सासुआमा नीलकुमारी महर्जनले लामो समयसम्म जीवित उद्धारको आशा रहे पनि आठ–नौ दिनपछि आशा कमजोर हुँदै गएको बताइन्।
शुक्रबार बिहान सुरुङबाट जीवितै उद्धार गरिएका कवीर महर्जन र सञ्जय साहको काठमाडौंस्थित छाउनीस्थित श्री वीरेन्द्र अस्पतालमा उपचार भइरहेको छ। नीलकुमारीले सुरुङभित्र रहेका कवीर जीवितै उद्धार हुने आशा सुरुमा रहे पनि समय बित्दै जाँदा परिवार निराश हुन थालेको बताइन्। उनले भनिन्, ‘सुरुङ भनेको ठूलो हुन्छ नि, आफ्नो ज्यान जोगाउन भित्र–भित्र पस्दै गयो भने उहाँहरू सकुशल हुनुहुन्छ भन्ने आशा त थियो। तर आठ–नौ दिन भइसकेपछि बिस्तारै आशा पनि मर्दै गएको थियो।’
कवीर सकुशल उद्धार भएको खबर पाएपछि परिवारमा खुसी छाएको उनले बताइन्। ‘उहाँको सकुशल उद्धार भन्ने खबर पाएपछि धेरै खुसी भयौँ। उहाँको पुनर्जन्म नै भएको हो। धर्ती माताको गर्भबाट पुनर्जन्म भएको भन्नुपर्छ,’ उनले भनिन्। कवीरको उद्धारमा खटिएका नेपाली सेनाप्रति आभार व्यक्त गर्दै उनले सुरुङभित्र रहेका अन्य व्यक्तिको पनि सकुशल उद्धार होस् भन्ने कामना गरिन्। ‘उद्धार गर्ने नेपाली सेनालाई सबै पीडितको तर्फबाट धेरै धन्यवाद दिन चाहन्छौँ। भित्र रहेका अरू थुप्रैको पनि सकुशल उद्धार होस्,’ उनले भनिन्।
नीलकुमारीका अनुसार कवीरको स्वास्थ्य अवस्था अहिले खतरामुक्त छ। लामो समय सुरुङभित्र बस्नुपरेका कारण खान नपाएको तथा तनाव र चिन्ताका कारण केही कमजोरी भए पनि अवस्था गम्भीर नरहेको उनले बताइन्। ‘खासै गम्भीर छैन। निकै दिनभित्र पसेको, खान नपाएको र चिन्ता–पीरका कारण सामान्यजस्तो त हुँदैन। तर गम्भीर नै भन्न मिल्दैन। अहिले खतरा छैन, खतराबाट मुक्त नै हुनुहुन्छ,’ उनले भनिन्। कवीर जीवितै उद्धार भएको खबर परिवारले सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत थाहा पाएको उनले बताइन्।कृष्ण जन्माष्टमीकै दिन कवीरको उद्धार हुनुलाई आफूहरूले भगवान् श्रीकृष्णको कृपाका रूपमा लिएको पनि नीलकुमारीले बताइन्।
















प्रतिक्रिया दिनुहोस्