काठमाडौं। २०८२ भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा विभिन्न शाखामा भएको तोडफोड तथा आगजनीको प्रत्यक्ष असर भाटभटेनी सुपरमार्केट एन्ड डिपार्टमेन्टल स्टोरको व्यापारमा परेको छ। आन्दोलनका कारण कम्पनीको व्यापारमा करिब २० प्रतिशतले गिरावट आएको छ।
भाटभटेनीको व्यापार सन् २०२५ मा अघिल्लो वर्षको तुलनामा १२ प्रतिशतले बढेर ३४ अर्ब १५ करोड ६० लाख रुपैयाँ पुगेको थियो। तर, आन्दोलनका क्रममा कम्पनीका २७ शाखामध्ये ११ वटा स्टोर र एउटा गोदाममा पूर्ण क्षति पुगेपछि गत आर्थिक वर्षमा व्यापार उल्लेख्य रूपमा खुम्चिएको हो। गत आवमा कम्पनीले २७ अर्ब ४७ करोड ६० लाख रुपैयाँको कारोबार गरेको छ। अघिल्लो वर्षको तुलनामा यो करिब ६ अर्ब ६८ करोड रुपैयाँ कम हो।
यसअघि भाटभटेनीको कारोबार निरन्तर बढ्दै आएको थियो। कम्पनीले सन् २०२४ मा ३० अर्ब ६२ करोड रुपैयाँ, सन् २०२३ मा २९ अर्ब ७९ करोड ४० लाख रुपैयाँ र सन् २०२२ मा २६ अर्ब ८८ करोड ६० लाख रुपैयाँको व्यापार गरेको थियो। लगातार बढिरहेको कारोबारमा जेनजी आन्दोलनले गत आवमा ठूलो धक्का दिएको हो। सन् १९९२ मा कम्पनीका रूपमा स्थापना भएको भाटभटेनीले अहिले नेपालका प्रमुख सहरहरूमा ठूलो क्षमताका सुपरमार्केट सञ्चालन गर्दै आएको छ।
यसको व्यवसाय भने सन् १९८४ मा काठमाडौंको नक्सालबाट सानो पसलका रूपमा सुरु भएको थियो। गत असारसम्म कम्पनीका २७ स्टोरमध्ये २२ वटा सञ्चालनमा थिए। आन्दोलनका क्रममा १२ वटा स्टोरमा क्षति पुगेकामा हाल चारवटा स्टोर पुनर्निर्माणको क्रममा छन्। क्षतिका कारण केही शाखा अस्थायी रूपमा बन्द हुँदा कम्पनीको कारोबारमा प्रत्यक्ष असर परेको हो।
जेनजी आन्दोलनका क्रममा ९ अर्बको सम्पत्ति क्षति
जेनजी आन्दोलनका क्रममा भाटभटेनीले करिब ९ अर्ब रुपैयाँ बराबरको सम्पत्ति क्षति व्यहोरेको छ। यसमध्ये करिब ६ अर्ब रुपैयाँ बराबरको मौज्दात नोक्सान भएको छ भने करिब ३ अर्ब रुपैयाँ बराबरको भौतिक सम्पत्तिमा क्षति पुगेको छ। कम्पनीले उक्त क्षतिबापत बीमा दाबी गरेको भए पनि दाबी रकमको ठूलो हिस्सा अझै प्राप्त हुन बाँकी छ। हालसम्म मौज्दात क्षतिसम्बन्धी दाबी रकमको करिब ३८ प्रतिशत र सम्पत्ति क्षतिसम्बन्धी दाबी रकमको करिब ६ प्रतिशत मात्रै अग्रिम भुक्तानीका रूपमा प्राप्त भएको छ।
व्यापार घटे पनि कर्जा संरचना तुलनात्मक रूपमा बलियो
भाटभटेनीले पछिल्ला केही वर्षदेखि शाखा विस्तार तथा पूर्वाधार निर्माणमा ठूलो पुँजीगत खर्च गर्दै आएको थियो। त्यसका लागि कम्पनी ऋणमा समेत निर्भर थियो। सन् २०२५ देखि उक्त ऋणको भुक्तानी क्रमशः सुरु भएपछि कम्पनीको कर्जा सेवा गर्ने क्षमतामा केही दबाब परेको थियो। सन् २०२५ मा कम्पनीको कर्जा सेवा कवरेज अनुपात १.२ गुणा थियो। तर, गत आवमा व्यापार तथा नाफामा आएको कमीका बाबजुद दीर्घकालीन ऋणको पुनर्संरचना गरी सावाँ भुक्तानी दुई वर्षका लागि स्थगित गरिएपछि उक्त अनुपात १.८ गुणा पुगेको छ।
यसैबीच कम्पनीको सञ्चालन नाफा मार्जिनमा सुधार आएको र कर्जाको ब्याजदरसमेत घटेकाले वित्तीय दबाब केही कम भएको देखिएको छ।आन्दोलनपछि पुनर्निर्माणका लागि कम्पनीले थप ऋण लिए पनि यसको गियरिङ अनुपात १.५ गुणामा सीमित रहेको छ। सन् २०२४ मा यस्तो अनुपात १.८ गुणा थियो। गियरिङ घट्नुले कम्पनीको ऋणमा आधारित वित्तीय निर्भरता केही कम भएको संकेत गर्छ।कम्पनीले आफ्ना सहायक तथा सम्बद्ध कम्पनीहरूमा १ अर्ब ३३ करोड ९० लाख रुपैयाँ लगानी गरेको छ। यो कम्पनीको कुल नेटवर्थको करिब १३ प्रतिशत हो। लिज दायित्वसमेत समावेश गर्दा कम्पनीको एड्जस्टेड गियरिङ अनुपात २.१ गुणा रहेको छ भने कुल बाह्य दायित्व तथा ट्यान्जिबल नेटवर्थ अनुपात २.८ गुणा पुगेको तथ्यांकले देखाउँछ ।
१७ अर्ब २४ करोडको कर्जा रेटिङ
भाटभटेनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि कुल १७ अर्ब २४ करोड ६६ लाख रुपैयाँको रेटिङ गराएको छ। यसमध्ये ९ अर्ब १४ करोड ४९ लाख रुपैयाँ दीर्घकालीन र ८ अर्ब १० करोड १७ लाख रुपैयाँ अल्पकालीन कर्जा रहेको छ। रेटिङ एजेन्सी इक्रा नेपालले सार्वजनिक गरेको रिपोर्टमा कम्पनीको रेटिङमा सुधार गर्दै ‘वाच विथ नेगेटिभ इम्प्लिकेसन’बाट हटाएको छ। कम्पनीलाई दीर्घकालीन कर्जाका लागि ( ICRANP) BB+ र अल्पकालीन कर्जाका लागि ( ICRANP) A4+ रेटिङ प्रदान गरिएको छ। भाटभटेनीमा मीनबहादुर गुरुङको करिब ६० प्रतिशत र उनकी श्रीमती सावित्री घले गुरुङको करिब ४० प्रतिशत स्वामित्व रहेको छ। बाँकी नाममात्रको हिस्सा परिवारका अन्य नौ सदस्यको सामूहिक स्वामित्वमा रहेको छ।
तीनै लगानी कम्पनीमा देखिन्छन् समान चुनौती
भाटभटेनी इन्भेस्टमेन्ट, श्रीवृद्धि र श्रीनिवास होल्डिङ कम्पनीको लगानी क्षेत्र फरक भए पनि तीनै कम्पनीको वित्तीय जोखिममा केही समानता देखिन्छ। इक्रा नेपालका अनुसार, सीमित सञ्चालन इतिहास, लगानीबाट हुने आम्दानीमा उच्च निर्भरता तथा बैंक र प्रवर्द्धक ऋणमार्फत लगानी विस्तार गर्नु तीनै कम्पनीका साझा चुनौती हुन्।
भाटभटेनी इन्भेस्टमेन्टका लागि निर्माणाधीन परियोजनामा गरिएको ठूलो लगानी, सूचीकृत नभएका कम्पनीको शेयरमा रहेको उच्च लगानी तथा ऋणमा निर्भरता प्रमुख जोखिमका रूपमा देखिएका छन्। त्यसैगरी, श्रीवृद्धिको लगानी पोर्टफोलियोमा बैंकिङ क्षेत्रको हिस्सा ७७ प्रतिशत रहेको छ भने एउटै कम्पनीमा मात्रै ४६ प्रतिशत लगानी केन्द्रित भएकाले क्षेत्रगत तथा कम्पनीगत एकाग्रताको जोखिम उच्च छ। श्रीनिवास होल्डिङ कम्पनीमा भने कुल लगानीमध्ये करिब ७२ प्रतिशत जलविद्युत् क्षेत्रमा केन्द्रित छ। त्यसमध्ये ६९ प्रतिशत एउटै कम्पनीको शेयरमा लगानी गरिएको छ। लगानी पोर्टफोलियोमा देखिएको घाटाले यस्तो एकाग्रताबाट उत्पन्न जोखिमलाई थप बढाएको छ।
यद्यपि, यी तीनै कम्पनीका लागि भाटभटेनी समूहसँगको सम्बन्ध सकारात्मक पक्षका रूपमा रहेको छ। नेपालभर फैलिएको भाटभटेनी सुपरमार्केटको सञ्जाल, विभिन्न क्षेत्रमा समूहको व्यावसायिक उपस्थिति तथा मीनबहादुर गुरुङको लामो व्यावसायिक अनुभवले कम्पनीहरूलाई लगानीका अवसर खोज्न र आवश्यक वित्तीय स्रोत तथा ऋणमा पहुँच विस्तार गर्न सहयोग पुर्याएको देखिन्छ। तर, प्रवर्द्धक समूहको बलियो व्यावसायिक पृष्ठभूमि मात्रले लगानी कम्पनीहरूको दीर्घकालीन वित्तीय सफलता सुनिश्चित गर्न सक्दैन। विशेषगरी छोटो सञ्चालन इतिहास भएका लगानी कम्पनीका लागि लगानी पोर्टफोलियोमा विविधीकरण, ऋणको उचित व्यवस्थापन र स्पष्ट लगानी नीतिको विकास दीर्घकालीन वित्तीय स्थायित्वका लागि महत्वपूर्ण हुने देखिन्छ।
आन्दोलनबाट व्यापारमा तत्कालीन धक्का लागे पनि पुनर्निर्माण पूरा भएपछि शाखाहरू पूर्ण क्षमतामा सञ्चालनमा आउने, बीमा दाबीबाट रकम प्राप्त हुने तथा सञ्चालन नाफामा सुधार कायम रहन सके कम्पनीको वित्तीय अवस्थामा क्रमशः सुधार आउने अपेक्षा कम्पनीको छ ।
















प्रतिक्रिया दिनुहोस्