काठमाडौं। दराज नेपालले भोटेकोशी बाढी प्रभावित करिब ६०० परिवारलाई लक्षित गर्दै ३० हजार अमेरिकी डलर अर्थात् करिब ४५ लाख रुपैयाँ बराबरका राहत सामग्री उपलब्ध गराएको जनाएको छ । कम्पनीले थप आवश्यक सहयोगका लागि समेत योजना तथा तयारी गरिरहेको बताएको छ ।
नेपाल सरकारसँगको समन्वयमा प्रभावित समुदायलाई तत्काल आवश्यक पर्ने सामग्री पहिचान गरी खरिद तथा व्यवस्थापनमा समेत सहयोग गरिएको दराजले जनाएको छ। हाल उपलब्ध गराइएका राहत सामग्रीमा चामल, दाल, चना, नुन, सोयाबिन, खानेतेल, चिया र बिस्कुटलगायत लामो समयसम्म सुरक्षित राख्न सकिने खाद्य सामग्री रहेका छन् । उक्त राहत सामग्री प्रभावित परिवारसम्म पुर्याउन नेपाल सरकारलाई प्रत्यक्ष हस्तान्तरण गरिएको कम्पनीले जनाएको छ । यसबाट स्थानीय आवश्यकताअनुसार राहतलाई लक्षित गर्दै सबैभन्दा बढी सहयोग आवश्यक रहेका समुदायसम्म प्रभावकारी रूपमा पुर्याउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

बाढी प्रभावित क्षेत्रमा खाना पकाउने तथा वितरणका लागि आवश्यक भाँडाकुँडासहितका सामग्रीको आवश्यकता समेत देखिएकाले आगामी चरणमा त्यस्ता सामग्री खरिद गर्ने तयारी भइरहेको दराजले जनाएको छ । बाढीका कारण सडक तथा यातायात पूर्वाधारमा आएको अवरोधले लजिस्टिक्स तथा डेलिभरी सेवामा समेत चुनौती सिर्जना भएको कम्पनीले बताएको छ । दराजका टोलीले आफ्नो लजिस्टिक्स नेटवर्कअन्तर्गतका विभिन्न मार्ग तथा सञ्चालन अवस्थाको निरन्तर निगरानी र मूल्यांकन गरिरहेका छन् ।

कम्पनीका अनुसार ग्राहक, विक्रेता, डेलिभरी कर्मचारी तथा साझेदारहरूको सुरक्षा पहिलो प्राथमिकतामा रहेको छ । अवस्था अनुकूल र सुरक्षित रहेका क्षेत्रमा लजिस्टिक्स साझेदार तथा सम्बन्धित सरोकारवालासँगको समन्वयमा सेवा सञ्चालन तथा पुनःस्थापनाको काम भइरहेको छ । प्रभावित क्षेत्रमा सडक तथा यातायातको अवस्थाका कारण केही समय डेलिभरी तथा सेवामा ढिलाइ वा अवरोध हुन सक्ने कम्पनीले जनाएको छ ।दराज नेपालका प्रबन्ध निर्देशक बेन यीले विपद्को समयमा स्थलगत आवश्यकतालाई बुझेर छिटो र अर्थपूर्ण सहयोग पुर्याउनु महत्वपूर्ण रहेको बताए ।

उनले तत्कालीन राहतसँगै प्रभावित समुदाय पुनःस्थापित हुँदै अघि बढ्ने क्रममा पनि दराजले आफ्नो सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे । कम्पनीले तत्कालीन उद्धार तथा राहतका आवश्यकता सम्बोधन भएपछि नेपाल सरकारसँग निरन्तर समन्वय गर्दै पुनर्निर्माण तथा पुनःस्थापनाका क्षेत्रमा आफ्नो स्रोत र क्षमतामार्फत योगदान गर्न सकिने सम्भावनाको पहिचान गर्ने जनाएको छ । दराज नेपालले बाढी प्रभावित समुदायको उद्धार तथा सहयोगमा खटिरहेका आपत्कालीन उद्धारकर्मी, सुरक्षाकर्मी, स्वयंसेवक तथा अन्य अग्रपंक्तिका सहयोगीहरूप्रति सम्मान तथा कृतज्ञता व्यक्त गरेको छ ।
















प्रतिक्रिया दिनुहोस्