Advertisement
Advertisement
Corporate Samachar
२८ आश्विन २०८३, बुधबार
Advertisement
Advertisement

‘अर्थमन्त्री एउटा कुरा गर्छन् प्रधानमन्त्री अर्को, देशले चाहेको आर्थिक दिशा र संस्थागत सुधारबारे सरकारको स्पष्ट भिजन छैन ’

‘अर्थमन्त्री एउटा कुरा गर्छन् प्रधानमन्त्री अर्को, देशले चाहेको आर्थिक दिशा र संस्थागत सुधारबारे सरकारको स्पष्ट भिजन छैन ’
विज्ञापन
Advertisement

काठमाडौं । एक वर्षअघि भदौ २३ गते सडकमा उत्रिएको नेपाली युवाको एउटा पुस्ताले केवल सामाजिक सञ्जालमाथिको तत्कालिन प्रतिबन्धविरुद्ध आवाज उठाएको मात्र थिएन। त्यसको भित्री तहमा भ्रष्टाचार, अन्याय, विभेद, राजनीतिक बेथिति र सार्वजनिक संस्थाप्रतिको घट्दो विश्वासविरुद्ध लामो समयदेखि सञ्चित असन्तुष्टिहरु पोखिएको थियो।

विज्ञापन
Advertisement
Advertisement

त्यही असन्तुष्टि अन्ततः सडकमा विस्फोट भयो। आन्दोलनले ठूलो मानवीय क्षति व्यहो¥यो। दर्जनौँ युवाले ज्यान गुमाए। त्यसपछिको दिन देशका विभिन्न ठाउँमा भएको हिंसा, आगजनी र विध्वंसले राजनीतिक घटनाक्रमलाई थप जटिल बनायो। जेनजी आन्दोलनको एक वर्ष पूरा हुँदा आन्दोलनका अगुवा रवि किरण हमालले त्यसको उद्देश्य, उपलब्धि, वर्तमान राजनीतिक अवस्था र आगामी चुनौतीबारे गम्भीर प्रश्न उठाएका छन्।

जेनजी दिवसका अवसरमा विशेष कुराकानी गर्दै हमालले पछिल्लो एक वर्षलाई नेपालको राजनीतिक जीवनमा ‘त्रासदीपूर्ण वर्ष’ का रूपमा चित्रण गरे। आन्दोलनका क्रममा युवाहरूको ज्यान गएकोदेखि त्यसपछि देशका विभिन्न संरचना र सार्वजनिक संस्थाप्रतिको विश्वास कमजोर हुँदै गएको अवस्थासम्मलाई एउटै घटनाक्रमका रूपमा हेर्नुपर्ने उनको भनाइ छ। ‘पछिल्लो एक वर्ष, नेपालको २३ गतेदेखि आजसम्म आइपुग्दाखेरि हामीले त्रासदीपूर्ण दिनहरू गुजार्यौँ । आन्दोलनमा पनि धेरै मान्छेको क्षति भयो । दर्जनौँ मानिसहरूको गोली प्रहार गरेर हत्या गरियो । त्यसलगत्तै देशलाई जलाएर खरानी पनि बनाइयो,’ हमालले भने।

सामाजिक सञ्जालको प्रतिबन्धबाट सुरु भएको असन्तुष्टि सडकसम्म

हमालले जेनजी आन्दोलन अचानक जन्मिएको नभई लामो समयदेखि सञ्चित असन्तुष्टि र अभिव्यक्ति स्वतन्त्रताको प्रश्नबाट विकसित भएको दाबी गरे। सामाजिक सञ्जालमाथिको प्रतिबन्धको विरोधदेखि भ्रष्टाचार, अन्याय र विभेदविरुद्ध युवाहरूले उठाउँदै आएको आवाज अन्ततः सडक आन्दोलनमा परिणत भएको उनको भनाइ छ। आन्दोलनको पूर्वसन्ध्यामा आफूहरूले पत्रकार सम्मेलनमार्फत युवाहरूलाई सडकमा आउन आह्वान गरेको पनि उनले स्मरण गरे।
‘२२ गते हामीले पत्रकार सम्मेलन गरेर सबै देशवासीलाई त्यसमा साथ दिन र युवालाई सडकमा उत्रिन आह्वान गरेका थियौँ र २३ गते सहभागी भयौँ,’ हमालले भने।

आन्दोलनलाई हिंसात्मक बनाउने सक्रिय गिरोह थियो

हमालले जेनजी आन्दोलनलाई योजनाबद्ध रूपमा हिंसात्मक बनाइएको आरोप लगाएका छन्। आन्दोलनमा भएको दमन र त्यसपछि भएको विध्वंसलाई उनले एउटै घटनाक्रमसँग जोडेर हेरेका छन्। उनका अनुसार आन्दोलनका क्रममा भएको दमनपछि त्यसलाई थप हिंसात्मक बनाउने र मुठभेडको अवस्था सिर्जना गर्ने प्रयास भएको थियो। ‘जुन प्रकारले दर्जनौँ नेपाली युवाहरूको हत्या भयो, त्यसपछि योजनाबद्ध रूपमा आन्दोलनलाई पनि हिंसात्मक बनाउने, मुठभेडतर्फ लैजान जुन एउटा सक्रिय गिरोह थियो त्यसलाई मानवअधिकार आयोगलगायत अन्य आयोग र मिडियाले फ्ल्यास गरिसकेको छ,’ उनले भने।

आन्दोलनपछि भएको विध्वंसमा समेत त्यही शक्तिको भूमिका रहेको उनको आरोप छ। ‘एकातिर आन्दोलनलाई हिंसात्मक बनाएर मान्छेलाई मर्न–मार्न लगाउने, राज्यको तर्फबाट दमन गर्न र यताबाट भिडन्तको परिस्थिति निर्माण गर्ने शक्तिले भोलिपल्ट सिङ्गो देशलाई खरानी बनायो,’ हमालले भने। यस क्रममा उनले सुशीला कार्कीदेखि तत्कालीन तथा वर्तमान राजनीतिक नेतृत्व र जेलबाट कैदी भगाइएको घटनासम्मलाई जोडेर प्रश्न उठाए। देशका संरचनामाथि प्रहार गर्ने शक्तिहरू नै अहिले नेतृत्वमा रहेको उनको दाबी छ। ‘जुन शक्तिले यो देशलाई खरानी बनायो, जुन समूहले यो देशको आत्मामाथि, सार्वभौमिकतामाथि प्रहार ग¥यो, त्यसैले अहिले नेतृत्व गरिराखेको छ,’ उनले भने।

जेनजी आन्दोलनको उद्देश्य पूरा भएको छैन

हमालका अनुसार आन्दोलनमा सहभागी सबै युवाको राजनीतिक चेतना र आन्दोलनको दीर्घकालीन उद्देश्यबारे समान धारणा छैन। जेनजी पुस्ताभित्रै उमेर र राजनीतिक बुझाइमा ठूलो अन्तर रहेकाले सबैलाई एउटै राजनीतिक दृष्टिकोणमा राख्न नसकिने उनको भनाइ छ। ‘जेन–जी भनेको त उमेर १२ देखि २८ भनियो, १२ वर्षदेखि २८ वर्षमध्ये अब १६, १७, १८, १९, २०, २१ वर्षका सबै युवाहरूलाई कसरी चाहिँ यो राजनीतिक चेत हुन सक्छ?’ हमालले प्रश्न गरे। तर आन्दोलनमा सहभागी भएर राजनीतिक चेत र दृष्टिकोण बनाएका युवाहरूले भने आन्दोलनले उठाएका मूल प्रश्नबाट देश विचलित हुन नहुने भन्दै निरन्तर आवाज उठाइरहेको उनले बताए। उनका अनुसार जेनजी आन्दोलनको उद्देश्य भ्रष्टाचार नियन्त्रणमा मात्रै सीमित थिएन। सार्वजनिक संस्थाको पुनर्संरचना, पारदर्शी शासन, विधिको शासन र आर्थिक अवसर सिर्जना त्यसका प्रमुख उद्देश्य थिए।
‘खासगरी पाँचवटाः नेपालको जुडिसियरी, ब्युरोक्रेसी, सेक्युरिटी एजेन्सी, युनिभर्सिटी र डिप्लोमेटिक इन्स्टिच्युसनहरू । यसमा कम्प्रिहेन्सिभ तवरले रिस्ट्रक्चर र रिफर्म हुनुपर्छ,’ उनले भने।

सार्वजनिक संस्थाहरू बलियो नभएसम्म देशले दिगो प्रगति गर्न नसक्ने उनको भनाइ छ। कुनै पनि देश अगाडि बढ्नका लागि सार्वजनिक संस्थाहरू सही ढंगले सञ्चालन हुनु आवश्यक रहेको उनले बताए।

एक वर्षमा के राम्रो भयो ?

जेनजी आन्दोलनपछि बनेको सरकारको कार्यसम्पादनप्रति हमालले तीव्र असन्तुष्टि व्यक्त गरेका छन्। सरकारले के उपलब्धि हासिल ग¥यो भन्ने प्रश्न गर्दै उनले नेतृत्वको बाहिरी प्रस्तुति वा शैलीलाई मात्र उपलब्धिको रूपमा व्याख्या गर्न नसकिने टिप्पणी गरे । ‘यो राम्रो छ भन्ने कुरा, के छ त अहिले ? प्रधानमन्त्रीले लगाउने चस्मा राम्रो छ कि, अथवा उहाँले लगाउने कोट राम्रो छ कि, जुत्ता राम्रो छ कि, के राम्रो छ ? उहाँहरूले के काम गर्नुभयो ?’ उनले प्रश्न गरे। सरकार गठनपछिका हिंसात्मक घटना, सुकुम्बासी बस्तीका घटना तथा युवाको बढ्दो विदेश पलायनलाई सरकारको कार्यसम्पादनसँग जोडेर हेर्नुपर्ने उनको भनाइ छ। ‘आज नेपाली युवाहरूको विश्वास टुट्दैछ, सार्वजनिक संस्थाहरूप्रति विश्वास टुट्दैछ,’ हमालले भने। देशभित्र रोजगारी तथा अवसर सिर्जना हुन नसक्दा युवाहरू विदेश पलायन हुने क्रम बढिरहेको उनको तर्क छ। ‘विगतको रेसियो हेर्ने हो भने ६५ हजारले एक महिनामा देश छाडिराखेका थिए भने अहिले ७०–७२ हजारतर्फ पुग्यो । यसलाई तपाईं राम्रो भन्न सक्नुहुन्छ ?’ उनले प्रश्न गरे।

सरकारसँग स्पष्ट दिशा छैन

हमालले वर्तमान सरकारसँग देशलाई अघि बढाउने स्पष्ट आर्थिक तथा संस्थागत दृष्टिकोण नरहेको आरोप लगाए। सरकारले सुरुआतमै आफ्नो प्राथमिकता र कार्यदिशा स्पष्ट गर्नुपर्ने भए पनि त्यस्तो दृष्टिकोण अहिलेसम्म सार्वजनिक हुन नसकेको उनको भनाइ छ। ‘सुरुआती चरण भनेको ‘दिस इज आवर वे’ भन्ने हुनुपर्छ । इकोनोमिकली देशले चाहेको, पब्लिक इन्स्टिच्युसनहरूलाई यसरी रिस्ट्रक्चर गर्न खोजेको, देशमा उद्यमशीलता प्रवद्र्धन गर्न खोजेको, नेपाली युवाहरूलाई स्वरोजगार बनाएर देशलाई माथि उठाउने भन्ने खालको कुनै क्लियर भिजन वा वे सरकारको तर्फबाट आएकै छैन,’ उनले भने। सरकारभित्रै फरक–फरक धारणा सार्वजनिक हुनु पनि उनले कमजोरीका रूपमा औँल्याए। ‘अर्थमन्त्री एउटा कुरा गर्ने, प्रधानमन्त्रीले त्यो कुरा फेसबुक स्टाटस लेखेर फेरि ‘होइन’ भनेर हटाउने, अर्को मन्त्रीले अर्कै कुरा गर्ने, सिंगो क्याबिनेट नै एउटा दिशामा हिँड्न सकिरहेको छैन,’ हमालले भने।

संसद् मृत्युशैय्यामा छ

हमालले नेपालको संसद्को भूमिकामाथि समेत गम्भीर प्रश्न उठाएका छन्। संसद्ले जनताको आवाज प्रभावकारी रूपमा उठाउन नसकेको र उठाइएका विषयलाई सरकारबाट सम्बोधन गराउनसमेत नसकेको उनको आरोप छ। ‘पार्लियामेन्ट डेड भयो, अहिले नेपालको संसद् मृत्युशैय्यामा छ । संसदमा जनताको कुरा उठाउन पनि सकिरहेको छैन र उठाएको कुरा सरकारलाई सम्बोधन गराउन पनि पार्लियामेन्टले सकिरहेको छैन,’ उनले भने। यही अवस्थाका कारण देश पुनः राजनीतिक संकटतर्फ जान सक्ने उनले चेतावनी दिए।‘यो चाँडै नै कोल्याप्स हुनसक्छ र नेपाल फेरि ठूलो पोलिटिकल क्राइसिसको चरणबाट गुज्रिन सक्छ,’ हमालले भने।

२३ गते राष्ट्रिय एकताको सन्देश दिन सडकमा आउनुपर्छ

जेनजी आन्दोलनको एक वर्ष पूरा हुने अवसरमा भदौ २३ गते देशभरका नागरिकलाई सडकमा आउन हमालले अपिल गरेका छन्।पछिल्लो समय रसुवालगायतका क्षेत्रमा आएको बाढीपहिरोबाट भएको जनधनको क्षतिप्रति श्रद्धा व्यक्त गर्दै आन्दोलनमा ज्यान गुमाएका तथा घाइतेप्रति सम्मान व्यक्त गर्नुपर्ने उनको भनाइ छ। शहीद परिवार र घाइतेसँग आफू निरन्तर संवादमा रहेको उनले बताए। ‘म चाहन्छु, काठमाडौंका सबै मान्छेहरू ओर्लिएर ऐक्यबद्धता जनाऊन्, सहभागी होऊन् । देशभरि नै त्यो आन्दोलनलाई आत्मसात् गर्ने हिसाबले सडकमा निस्कियोस् भन्ने म कामना गर्छु,’ हमालले भने।

बलिदानको कारण बुझ्नुपर्छ

शहीद परिवारलाई राहत, घाइतेलाई उपचार तथा रोजगारीको व्यवस्था आवश्यक भए पनि आन्दोलनको मूल उद्देश्य त्यसमा सीमित नरहेको हमालले बताए। ‘शहीद परिवारलाई सम्मान दिने कुरा, रोजगारी दिने, आत्मसम्मानपूर्वक बाँच्ने वातावरण र घाइतेहरूलाई उपचार तथा राहत दिने कुरा त सेकेन्डरी कुरा हुन् । त्यो त घटना घटिसकेपछिको दायित्व हो,’ उनले भने। उनका अनुसार मुख्य प्रश्न युवाहरू किन सडकमा गए र किन बलिदान दिए भन्ने हो। ‘मान्छेहरु किन सडकमा गएर गोली खान तयार भए, किन हात र खुट्टा गुमाए, मान्छे किन सडकमा गए र केका लागि गयो भन्ने कुरा मुख्य हो । त्यो आन्दोलनको स्प्रिटलाई नजरअन्दाज गरेर अहिलेको नेतृत्व बाहिर–बाहिर गइरहेको देखिन्छ,’ हमालले भने।

राज्यले प्रतिशोध साँध्नु हुँदैन

राज्यको नेतृत्वमा रहेका व्यक्तिले राजनीतिक प्रतिशोध लिन नहुनेमा उनले जोड दिए। सरकारको नेतृत्व गर्नेहरूले सबै नागरिकको अभिभावकको भूमिका निर्वाह गर्नुपर्ने उनको धारणा छ। ‘प्रतिशोध भन्ने कुरा कसैले पनि साँध्नुहुँदैन । राज्यको नेतृत्वमा बसेका मान्छेले प्रतिशोध लिन थाले भने त्यो अमानवीयता, क्रूरता र घृणित काम हुन्छ, सबैको अभिभावक बनेर सरकारको नेतृत्व गर्नेहरूले प्रतिशोध साँध्ने कल्पना पनि गर्न सकिँदैन,’ हमालले भने।

सबै शक्ति एक ठाउँमा बसेर समीक्षा गर्नुपर्छ

अबको बाटोका रूपमा तत्कालीन राजनीतिक विवादभन्दा माथि उठेर संविधान, सार्वजनिक संस्था र राज्य संरचनाको समग्र समीक्षा गर्नुपर्ने हमालको प्रस्ताव छ। ‘सबै शक्तिहरू एक ठाउँमा बसेर संविधान, सार्वजनिक संस्था र संरचनामा कहाँ अवरोध छ, त्यसलाई समीक्षा गरी दीर्घकालीन दिशा तय गर्नुपर्छ,’ उनले भने। देशका लागि दीर्घकालीन मार्गचित्र आवश्यक रहेकोमा जोड दिँदै उनले ५० वर्षदेखि १०० वर्षसम्मको स्पष्ट दृष्टिकोण बनाएर तीव्र आर्थिक वृद्धि र न्यायोचित वितरणतर्फ देशलाई लैजानुपर्ने बताए। तर अहिलेको राजनीतिक नेतृत्व र संसद्बाट यस्तो दीर्घकालीन परिवर्तन सम्भव हुनेमा उनले आशंका व्यक्त गरे।

राजनीतिक, आर्थिक र विपद् संकटका लागि तयार रहनुपर्छ

यसैगरी, हमालले नेपालले आगामी दिनमा राजनीतिक, आर्थिक, विपद् तथा भूराजनीतिक संकट एकैसाथ सामना गर्नुपर्ने अवस्था आउन सक्ने धारणा राखे। ‘आन्दोलनमा लडेका युवा मात्र होइन, सबै पुस्ताले मस्तिष्क तयार राखेर अब देशले झेल्नुपर्ने पोलिटिकल, इकोनोमिक, डिजास्टर र जियोपोलिटिकल क्राइसिसलाई समाधान गरी देशलाई सही दिशा दिन तयार रहन म सबै देशवासी र युवाहरूलाई आह्वान गर्छु,’ उनले भने। उनका अनुसार जेनजी आन्दोलनको मूल्यांकन तत्कालीन राजनीतिक परिवर्तनबाट मात्रै नभई त्यसले उठाएका प्रश्न र खोजेको राज्य संरचनाको परिवर्तनबाट गरिनुपर्छ।

भदौ २३ गते सडकमा निस्किन गरिएको आफ्नो आह्वानलाई उनले आन्दोलनको पुनरावृत्तिका रूपमा नभई बलिदानको सम्मान, विपद्मा परेकाप्रति ऐक्यबद्धता र देशलाई सही दिशामा लैजाने राष्ट्रिय संकल्प का रूपमा व्याख्या गरेका छन्। सरकारले आज जेनजी दिवस मनाइरहेको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit