ललितपुर । किष्ट शिक्षण अस्पतालअन्तर्गतको किष्ट प्रत्यारोपण केन्द्रले ५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण गरेको छ। प्रत्यारोपणपछि आवश्यक उपचार र विशेषज्ञ निगरानी पूरा भएपछि बालिकालाई अस्पतालबाट डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ।
बालिकाको उपचारका क्रममा उनकी ३३ वर्षीया आमाले आफ्नै कलेजोको केही हिस्सा छोरीलाई दान गरेकी थिइन्। प्रत्यारोपणपछि बालिकाको स्वास्थ्य अवस्था स्थिर र सन्तोषजनक रहेको अस्पतालले जनाएको छ। अस्पतालका अनुसार यो प्रत्यारोपण जटिल शल्यक्रियाको सफलतामात्र नभई आमाको त्याग, परिवारको आशा र चिकित्सकीय टोलीको समर्पणको परिणाम हो।
नेपालमै जटिल तथा उन्नत प्रत्यारोपण सेवा विस्तार गर्ने उद्देश्यले किष्ट प्रत्यारोपण केन्द्रले आधुनिक पूर्वाधार, अनुभवी विशेषज्ञ टोली, शल्यक्रिया तथा सघन उपचार सुविधा र विभिन्न विधाका चिकित्सकबीचको समन्वयमा सेवा दिँदै आएको जनाएको छ। केन्द्रले प्रत्यारोपण शल्यक्रियामा मात्र सीमित नरही प्रत्यारोपणअघि, प्रत्यारोपणका क्रममा र त्यसपछि आवश्यक पर्ने उपचारलाई एकीकृत गर्दै बहुविषयगत उपचार प्रणालीमार्फत सेवा प्रदान गर्दै आएको बताएको छ। बालिकाकी आमाले कलेजोको केही हिस्सा दान गरेर छोरीलाई नयाँ जीवनको अवसर दिएको र विशेषज्ञ चिकित्सकीय टोलीको प्रयासबाट प्रत्यारोपण सफल भएको अस्पतालको भनाइ छ।
५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपणलाई किष्ट शिक्षण अस्पतालले आफ्नो प्रत्यारोपण सेवाको महत्वपूर्ण उपलब्धिका रूपमा लिएको जनाएको छ। अस्पतालले आगामी दिनमा बालबालिकासहित जटिल अवस्थाका बिरामीका लागि उन्नत प्रत्यारोपण सेवा थप विस्तार गर्दै नेपालमै गुणस्तरीय उपचार उपलब्ध गराउने प्रतिबद्धता पनि जनाएको छ।
















प्रतिक्रिया दिनुहोस्