Advertisement
Advertisement
Corporate Samachar
२८ आश्विन २०८३, बुधबार
Advertisement
Advertisement

सरकार फेरियाे, सकिएन उखु किसानको दुःख,थपियो ऋणको भारी

सरकार फेरियाे, सकिएन उखु किसानको दुःख,थपियो ऋणको भारी
विज्ञापन
Advertisement

 

विज्ञापन
Advertisement
Advertisement

                       २२ करोड हाराहारी अझै भुक्तानी हुन बाँकी

सर्लाही । खेतमा उखु हुर्काउँदा किसानले केवल बाली हुर्काइरहेका हुँदैनन्, उनीहरू आफ्नो परिवारको वर्षभरको खर्च, बालबालिकाको पढाइ, चाडपर्व र अर्को खेतीको आशा पनि सँगसँगै हुर्काइरहेका हुन्छन्। तर, उखु बेचिसकेपछि पनि महिनौँसम्म त्यसको पैसा नपाउँदा सर्लाहीका किसानका लागि यही नगदे बाली अहिले ऋणको बोझ बन्न थालेको छ।

उखु बिक्री गरेको छ महिना बितिसक्दा पनि भुक्तानी नपाएपछि धन्कौल गाउँपालिका–२ स्थित अन्नपूर्ण चिनी उद्योगका किसान समस्यामा परेका छन्। खेतबाट उखु उद्योगसम्म पुगे पनि किसानको हातमा त्यसको मूल्य नपुग्दा दैनिक घरखर्चदेखि अर्को बालीका लागि आवश्यक मलखाद र मजदुरको व्यवस्थापनसम्म प्रभावित भएको छ।

धन्कौल गाउँपालिका–३ का कैलाश पासवानले गत याममा अन्नपूर्ण चिनी उद्योगलाई ३०० क्विन्टल उखु बिक्री गरे। त्यसको केही रकम पाए पनि अझै ५६ हजारभन्दा बढी भुक्तानी बाँकी छ।

पासवानले ५० कट्ठा जमिनमा उखु लगाएका छन्। त्यसमध्ये २० कट्ठा आफ्नै हो भने बाँकी जमिन ठेक्कामा लिएका छन्। उखु बिक्रीबाट आएको रकमले ठेक्काको पैसा तिर्नेदेखि घरायसी खर्च धान्नेसम्मको योजना हुन्छ। तर, उद्योगबाट समयमै पैसा नआएपछि त्यही योजना ऋणमा बदलिएको छ।

‘घरको सबै खर्च खेतीबाट आएको पैसाले पु¥याउनुपर्छ। बालबच्चाको लालनपालन, शिक्षादीक्षा, चाडपर्व सबै यही उखु बेचेर आएको पैसाबाट टार्नु छ,’ पासवानले भने, “तर उद्योगले हरेक वर्ष झुटो आशा देखाउँदै दुःख दिने गरेको छ।’

केही समयअघि छोरीको विवाह गरेका पासवानलाई घरायसी गर्जो टार्न उद्योगको भुक्तानी कुर्न सम्भव भएन। साहुमहाजनसँग सयकडा तीन ब्याजमा ऋण लिनुप¥यो।

भुक्तानीमा हुने ढिलाइबाट आजित भएपछि पासवानले यसपटक करिब ४०० क्विन्टल उखु उद्योगलाई भन्दा बिचौलियामार्फत नगदमा बिक्री गरे। बिचौलियाले उद्योगले दिने मूल्यभन्दा प्रतिक्विन्टल ३५ देखि ४० रुपैयाँ कम दिए पनि तत्काल पैसा पाइने भएकाले किसान त्यतातिर आकर्षित भएका छन्। यसले किसानले पाउने अनुदान रकमसमेत बिचौलियाको माध्यमबाट दुरुपयोग हुने अवस्था सिर्जना गरेको छ।

सात वर्ष पुरानो भुक्तानी अझै बाँकी

धन्कौल–२ का पाँचु सहनीको पीडा झन् पुरानो छ। खेतीपाती नै आयआर्जनको मुख्य आधार रहेका सहनीले ठेक्कामा जमिन लिएर उखु खेती गर्छन्। स्थानीय किसानलाई सुविधा पुग्ने अपेक्षासहित सञ्चालनमा आएको अन्नपूर्ण चिनी उद्योग नै अहिले किसानका लागि पीडाको कारण बनेको उनको गुनासो छ।

२०७४ सालमा उद्योगलाई बिक्री गरेको उखुको केही रकम अझै पाउन नसकेको सहनीको भनाइ छ। त्यही समयमा उद्योग आर्थिक संकटमा परेपछि पुरानो सञ्चालकले उद्योग बिक्री गरेको र त्यसपछि किसानको भुक्तानी अन्योलमा परेको उनको अनुभव छ।

‘माग्न जाँदा २०७४ सालसम्मको भुक्तानी पुरानो मालिकले गर्ने हो भनियो। पछि विवरण फेला परेन भनेर पैसा दिइएन,’ सहनीले भने।

पुरानो भुक्तानी नपाएपछि सहनीले रौतहट तथा सर्लाहीको हरिवनस्थित इन्दुशङ्कर चिनी उद्योगमा उखु बिक्री गर्दै आएका थिए। तर, यस वर्ष मिलगेट क्षेत्र तोकेर अन्य उद्योगले बाहिरबाट उखु खरिद नगर्ने सहमति भएपछि उनीहरू बाध्य भएर अन्नपूर्णमै उखु बिक्री गर्न पुगे। यसपटक करिब ५०० क्विन्टल उखु अन्नपूर्णलाई बिक्री गरेका सहनीको पनि भुक्तानी बाँकी छ।

हरिवनमा रहेको इन्दुशङ्कर चिनी उद्योगले उखु बिक्री गरेको करिब १५ दिनमै भुक्तानी दिने गरेको उनको अनुभव छ। त्यसको तुलनामा अन्नपूर्णको ढिलाइले किसानलाई थप समस्यामा पारेको छ।

२२ करोड हाराहारी अझै भुक्तानी हुन बाँकी

अन्नपूर्ण चिनी उद्योगले सिजन २०८२-८३ मा ३ हजार १८६ किसानबाट ९ लाख ९३ हजार ७५२।६७ क्विन्टल उखु खरिद गरी क्रसिङ गरेको थियो।

उखु खरिदबापत किसानलाई तिर्नुपर्ने रकम ६१ करोड ६१ लाख २७ हजार ६५५ मध्ये करिब २२ करोड रुपैयाँ अझै भुक्तानी हुन बाँकी रहेको देखिएको छ।

किसानको उजुरीपछि सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरेको अध्यक्षतामा गठित छानबिन समितिले उद्योगबाट किसानले करिब २२ करोड रुपैयाँ पाउन बाँकी रहेको प्रतिवेदन सार्वजनिक गरेको थियो।

यता उद्योग प्रशासनले भने दैनिक रूपमा किसानको भुक्तानी भइरहेको दाबी गरेको छ। उद्योगका प्रशासकीय प्रमुख रमेश श्रीवास्तवले भुक्तानी बाँकी रहेको स्वीकार गर्दै कात्तिक मसान्तसम्म सबै रकम चुक्ता गर्ने योजना रहेको बताए।

दसैंअघि नै किसानको खातामा रकम पु¥याउने गरी काम भइरहेको दाबी उद्योग प्रशासनको छ। तर, हालसम्म बाँकी रकममध्ये कति किसानको खातामा दाखिला भइसकेको हो भन्ने यकिन तथ्याङ्क भने उद्योग प्रशासनसँग छैन।

पक्राउपछि छुटे उद्योग मालिक

भुक्तानी नपाएका किसानको उजुरीपछि अन्नपूर्ण चिनी उद्योगका मालिक शैलेन्द्र गुप्ता पक्राउसमेत परेका थिए। जिल्ला अदालत सर्लाहीबाट जारी पक्राउ पुर्जीका आधारमा पक्राउ परेका गुप्ता उद्योगमा मौज्दात करिब ११ करोड रुपैयाँ बराबरको चिनी बिक्री गर्ने र अपुग रकम बैंकबाट ऋण लिएर दसैँसम्म किसानको खातामा जम्मा गर्ने शर्तमा रिहा भएका थिए।

उद्योगमा बिक्री हुन बाँकी चिनी बिक्री गरेर अपुग रकम बैंकबाट ऋण लिई किसानको भुक्तानी गर्ने प्रतिबद्धता उद्योगीले गरेको नेपाल उखु उत्पादक किसान महासङ्घका अध्यक्ष श्यामबाबु रायले बताए।

त्यही प्रतिबद्धताका आधारमा किसान र उद्योगबीचको विवाद समाधानका लागि आफूहरूले सहजीकरण गरेको रायको भनाइ छ।

तर, स्थानीय किसान भने उद्योगले प्रतिबद्धता पूरा गर्नेमा अझै विश्वस्त छैनन्। अहिलेसम्म भुक्तानीका लागि अपेक्षित काम अघि नबढेको भन्दै दसैँअघि पैसा पाउने आशामा समेत उनीहरू सशङ्कित छन्।

उखु खेतीबाटै किसान किन निराश हुँदैछन् ?

उखु उत्पादन गर्न किसानले महिनौँसम्म खेतमा पसिना बगाउँछन्। बिउ, मल, मजदुर, सिँचाइदेखि जमिनको ठेक्कासम्म ठूलो रकम खर्च हुन्छ। बाली तयार भएपछि उद्योगमा बिक्री गरिन्छ। तर, बिक्री भएको रकम नै समयमा नपाउँदा किसानले फेरि साहुमहाजनको ढोका ढकढक्याउनुपर्ने अवस्था छ।

उखु बिक्री गरेको पैसा नआउँदा दैनिक घरखर्च धान्न, अर्को खेतीका लागि मलखाद किन्न र मजदुरको ज्याला तिर्नसमेत समस्या हुने किसानको गुनासो छ।

किसान धीरु बर्माका अनुसार आफूले रगत पसिना गरेर उत्पादन गरेको उखुको पैसा नपाउँदा सामान्य उपचारका लागि समेत ऋण खोज्नुपर्ने अवस्था छ।

सर्लाहीको बागमती नगरपालिका–११ का नप्लकण्ठ देवकोटाको प्रश्न पनि उस्तै छ—किसानलाई नै मारेर देशको विकास कसरी सम्भव हुन्छ ?

उखु किसानको समस्या केवल एउटा उद्योगको भुक्तानीमा सीमित छैन। यो कृषि उत्पादनको बजार, मूल्य निर्धारण, उद्योग–किसान सम्बन्ध र सरकारी अनुगमनसँग जोडिएको दीर्घकालीन समस्या हो।

किसानले उत्पादन गरेको बालीको बजार सुनिश्चित नहुँदा र बिक्रीपछि पनि महिनौँसम्म भुक्तानी नपाउँदा उखु खेतीप्रतिको आकर्षण घट्दै गएको छ। नगद आम्दानी हुने आशामा उखु खेती गर्ने किसान अन्ततः ऋणमा डुब्ने अवस्था दोहोरिँदै गए राज्यले उखु खेतीको दिगोपनाबारे गम्भीर भएर सोच्नुपर्ने देखिन्छ।

रगत–पसिना बगाएर उत्पादन गरेको उखुको पैसा लिन किसानले हरेक वर्ष उद्योगको ढोका धाउनुपर्ने अवस्था अन्त्य नभएसम्म उखु किसानको पीडा उस्तै रहनेछ

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit