काठमाडौं । जीडब्ल्यूएम नेपालले नेपाली बजारमा सार्वजनिक गरिएका ओरा ५ ईभी र हावाल जोलियन म्याक्स ईभीको डेलिभरी प्रक्रिया अघि बढाएको छ। जीडब्ल्यूएमको आधिकारिक आयातकर्ता तथा वितरक भीजी इम्पेक्स प्रालिले बुकिङ गरेका ग्राहकलाई गाडी उपलब्ध गराउने तयारी तीव्र बनाएको जनाएको छ।
भोटेकोशीमा आएको बाढीका कारण रसुवागढी नाकातर्फको सडकमार्ग प्रभावित भएपछि कम्पनीले सवारीसाधन ढुवानीका लागि वैकल्पिक मार्गका रूपमा कोरला नाका प्रयोग गरिरहेको जनाएको छ। सडक अवरोधका कारण नियमित ढुवानी प्रभावित भए पनि वैकल्पिक नाकामार्फत गाडी ल्याउने प्रक्रिया अघि बढाइएको कम्पनीको भनाइ छ।
हालै सम्पन्न नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा सार्वजनिक गरिएको हावाल जोलियन म्याक्स ईभी, जीडब्ल्यूएमको ओरा ५ पछि नेपाली बजारमा आएको दोस्रो पूर्ण विद्युतीय एसयूभी हो। कम्पनीले जोलियन म्याक्स ईभीलाई ५९ लाख ९९ हजार रुपैयाँको विशेष सुरुवाती मूल्यमा बजारमा ल्याएको थियो।
कम्पनीका अनुसार ओरा ५ र जोलियन म्याक्स ईभी दुवै मोडलले नेपाली ग्राहकबाट उत्साहजनक प्रतिक्रिया पाइरहेका छन्। नयाँ पुस्ताको डिजाइन, विद्युतीय प्रविधि तथा प्रिमियम एसयूभी सेगमेन्टलाई लक्षित यी मोडलप्रति ग्राहकको चासो बढिरहेको कम्पनीले जनाएको छ। भीजी इम्पेक्सका अनुसार ग्राहकबाट प्राप्त बुकिङहरू क्रमशः प्रशोधन भइरहेको छ। बुकिङ गरेका ग्राहकलाई डेलिभरीको समयतालिकाबारे थप जानकारी चाँडै सार्वजनिक गरिने कम्पनीले जनाएको छ।
















प्रतिक्रिया दिनुहोस्