काठमाडौं । ग्यास अभावका बेला वास्तविक समस्यामा परेका उपभोक्तालाई प्राथमिकतामा राखेर बिक्री वितरण गर्न ग्यास बिक्रेता महासंघ नेपालले आफ्ना सदस्य व्यवसायीलाई आग्रह गरेको छ।
महासंघले प्रेस विज्ञप्ति जारी गर्दै कठिन परिस्थितिमा उपभोक्ताबाट अनुचित मूल्य असुल्ने तथा अन्य उपभोग्य वस्तु बिक्री गर्दा दण्डनीय कार्य हुने भन्दै त्यस्तो नगर्न व्यवसायीलाई आग्रह गरेको हो। महासंघका अनुसार पछिल्लो समय भोटेकोशीमा आएको भीषण बाढीका कारण कृष्णभीरको बाटो अवरुद्ध हुँदा उपत्यकाको आपूर्ति प्रणालीमा ठूलो समस्या परेको छ। ग्यासको अभाव भएको वर्तमान परिस्थितिमा आम उपभोक्तालाई अत्यावश्यक वस्तु उपलब्ध गराउनु सरकार, ग्यास उद्योगी र बिक्रेताको मुख्य दायित्व रहेको महासंघले जनाएको छ।
महासंघले सरकारबाट तोकिएको बिक्री दरभन्दा बढी मूल्यमा ग्यास बिक्री गरी अनुचित लाभ लिने जोसुकैलाई कानुनी कारबाही गर्न सरकारसँग जोडदार मागसमेत गरेको छ।
ग्यास अभावका कारण उपभोक्ता समस्यामा परिरहेका बेला आपूर्ति व्यवस्थालाई सहज बनाउन सबै पक्षले आफ्नो जिम्मेवारी पूरा गर्नुपर्ने महासंघले जनाएको छ।
















प्रतिक्रिया दिनुहोस्