काठमाडौं । सञ्चालन आम्दानी र नाफामा सुधार देखिएपछि इक्रा नेपालले अशोक लेल्याण्डका व्यावसायिक सवारी साधनको नेपालका लागि आधिकारिक बिक्रेता आईएमई मोटर्स प्राइभेट लिमिटेडको दीर्घकालीन कर्जा रेटिङमा स्तरोन्नति गरेको छ।
इक्रा नेपालले कम्पनीको दीर्घकालीन कर्जा सीमाको रेटिङ ‘इक्रा एनपी एलबी माइनस’ बाट बढाएर इक्रा एनपी एलबी प्लस’ कायम गरेको हो। कम्पनीको अल्पकालीन कर्जा सीमाको रेटिङ भने ‘इक्रा एनपी ए४’ मा यथावत् राखिएको छ। कम्पनीको कुल रेटेड कर्जा सीमा ३ अर्ब २५ करोड रुपैयाँबाट घटेर २ अर्ब ४२ करोड ४० लाख रुपैयाँ कायम भएको छ।
इक्रा नेपालका अनुसार आईएमई मोटर्सको सञ्चालन आम्दानी आर्थिक वर्ष २०२४-२०२५ मा ३९ प्रतिशतले बढेर ३ अर्ब २६ करोड ५० लाख रुपैयाँ पुगेको थियो। आर्थिक वर्ष २०२५-२०२६ मा समेत कम्पनीको आम्दानी थप ७ प्रतिशतले बढेर ३ अर्ब ५० करोड ४० लाख रुपैयाँ पुगेको छ।
आम्दानी वृद्धिसँगै कम्पनीको सञ्चालन नाफा मार्जिनमा पनि उल्लेख्य सुधार आएको छ। आर्थिक वर्ष २०२४-२०२५ मा ११.६ प्रतिशत रहेको सञ्चालन नाफा मार्जिन आर्थिक वर्ष २०२५-२०२६ मा बढेर १५.६ प्रतिशत पुगेको इक्रा नेपालले जनाएको छ। सञ्चालन नाफामा भएको निरन्तर सुधार, पुँजी थप तथा ऋण–पुँजी अनुपातमा आएको कमीले कम्पनीको वित्तीय अवस्था बलियो बनेको रेटिङ विवरणमा उल्लेख छ।
२०२६ को मध्य अप्रिलमा ७.६ गुणा रहेको कम्पनीको ऋण–पुँजी अनुपात मध्य जुलाईसम्ममा घटेर करिब २.३ गुणामा झरेको छ। त्यसैगरी, ब्याज कभरेज अनुपात २.६ गुणा र ऋण सेवा कभरेज अनुपात १.९ गुणा पुगेको छ। कम्पनीले पछिल्लो १२ महिनादेखि सावाँ तथा ब्याज भुक्तानी नियमित गर्दै आएको पनि इक्रा नेपालले जनाएको छ।
आईएमई ग्रुपअन्तर्गत सञ्चालित कम्पनीलाई ग्रुपको बैंकिङ, बिमा, रेमिट्यान्स, ऊर्जा तथा पर्यटनलगायतका क्षेत्रमा रहेको अनुभव र वित्तीय पहुँचले सहयोग पुर्याएको इक्रा नेपालको विश्लेषण छ।
यद्यपि, सरकारले मे २०२६ देखि नयाँ व्यावसायिक सवारी साधनको दर्तामा लगाएको अनिश्चितकालीन रोकका कारण आर्थिक वर्ष २०२६-२०२७ मा कम्पनीको व्यापार प्रभावित हुन सक्ने जोखिम रहेको छ। उक्त रोक अक्टोबरसम्म कायम रहेमा चाडपर्वपछिको मुख्य बिक्री सिजनमा कम्पनीको कारोबारमा असर पर्न सक्ने आकलन गरिएको छ।
त्यस्तै, ग्राहकबाट रकम उठाउन लाग्ने लामो समयका कारण कम्पनीको कार्यशील पुँजी सघनता ७१ प्रतिशत रहेको छ। बैंक कर्जा सीमाको उपयोग करिब ९८ प्रतिशतसम्म पुगेकाले तरलतामा दबाब पर्न सक्ने जोखिम पनि औँल्याइएको छ। टाटा मोटर्स, आइसर र भारतबेन्जलगायतका ब्रान्डसँगको प्रतिस्पर्धा तथा विद्युतीय व्यावसायिक सवारी साधनतर्फ बढ्दो आकर्षण कम्पनीका थप चुनौतीका रूपमा रहेका छन्।
सन् २०१० मा स्थापना भएको आईएमई मोटर्स हिन्दुजा ग्रुपअन्तर्गतको भारतस्थित सवारी साधन निर्माता कम्पनी अशोक लेल्याण्डको नेपालका लागि आधिकारिक बिक्रेता हो। कम्पनीले बस, ट्रक, टिपर तथा हलुका र मध्यम क्षमताका व्यावसायिक सवारी साधन बिक्री–वितरण गर्दै आएको छ। कम्पनीको अध्यक्षमा उद्योगी चन्द्रप्रसाद ढकाल रहेका छन्।
















प्रतिक्रिया दिनुहोस्