कृत्रिम बौद्धिकता (एआई) को सुरक्षा र नियन्त्रणसम्बन्धी चिन्ता बढ्दै गएपछि ओपन एआईले आफ्नो बहुप्रतीक्षित प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) तत्काल अघि नबढाउने भएको छ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) साम अल्टम्यानले सन् २०२६ मा कम्पनीले आईपीओ निष्कासन नगर्ने संकेत दिएका छन्।
प्रतिष्ठित व्यावसायिक पत्रिका यचतगलभ का प्रधान सम्पादक एलिसन शोन्टेलसँगको अन्तर्वार्तामा अल्टम्यानले अहिलेको अवस्थामा एआई सुरक्षाका विषयमा भइरहेको बहसलाई ध्यानमा राख्दा ओपन एआईलाई सार्वजनिक कम्पनीमा रूपान्तरण गर्नु उचित समय नभएको बताएका हुन्। ‘सुरक्षासँग सम्बन्धित अहिले भइरहेका सबै घटनालाई हेर्दा, अहिले सार्वजनिक कम्पनी बन्नु उचित समय नहुन सक्छ र हामीमाथि त्यसका लागि कुनै दबाब छैन,’ अल्टम्यानले भनेका छन्।
आईपीओ सन् २०२६ मै निष्कासन हुने सम्भावनाबारे सोधिएको प्रश्नमा उनले स्पष्ट रूपमा ‘२०२६ मा हुँदैन’ भन्ने संकेत दिएका छन्। यद्यपि उनले २०२७ मा पनि आईपीओ आउने निश्चित मिति खुलाएका छैनन्। उनका अनुसार कम्पनीले सुरक्षा, एआई प्रणालीको ‘अलाइनमेन्ट’ तथा सरकार र प्रविधि उद्योगबीच सहकार्यका विषयमा अझै महत्वपूर्ण काम गर्न बाँकी छ। अल्टम्यानको यस्तो धारणा प्रतिद्वन्द्वी एआई कम्पनी एन्थ्रोपिकका सीईओ डारियो अमोडेईले अत्याधुनिक एआई विकासको गति केही सुस्त बनाउनुपर्ने धारणा सार्वजनिक गरेको केही समयपछि आएको हो। अमोडेईले हालै तीव्र गतिमा अघि बढिरहेको एआई विकासले भविष्यमा मानिसको नियन्त्रण क्षमताभन्दा बाहिर जान सक्ने जोखिम औंल्याउँदै सुरक्षा उपायलाई प्राथमिकता दिनुपर्ने बताएका थिए ।
अल्टम्यानले पनि एआई क्षेत्रले सुरक्षा चुनौती सम्बोधन गर्न अझै लामो यात्रा तय गर्नुपर्ने स्वीकार गरेका छन्। अत्यधिक शक्तिशाली एआई प्रणालीले मानिसको नियन्त्रण गुमाउन सक्ने सम्भावनालाई गम्भीर रूपमा लिनुपर्ने उनको भनाइ छ। ओपन एआईले पछिल्ला दिनमा आफ्ना अत्यधिक सक्षम एआई मोडलहरूको विकास र परीक्षणमा पनि सुरक्षा पक्षलाई थप प्राथमिकता दिएको जनाएको छ। कम्पनीले अगस्टमा बढ्दो एआई क्षमतासँगै जोखिम पनि बढिरहेको भन्दै सुरक्षा, निगरानी, ‘अलाइनमेन्ट’ र नियन्त्रणसम्बन्धी सुरक्षात्मक उपाय बलियो बनाउन विकासको गति अस्थायी रूपमा सुस्त बनाएको जनाएको थियो।
त्यस्तै, सेप्टेम्बरमा ओपन एआईले आफ्नो नयाँ एआई मोडल ‘अस्ट्रा’ ले साइबर सुरक्षासम्बन्धी अत्यन्त उच्च क्षमताको तह पूरा गरेको बताइएको छ। त्यसपछि कम्पनीले मोडलको दुरुपयोग र अनधिकृत गतिविधिबाट हुन सक्ने जोखिम नियन्त्रणका लागि थप सुरक्षा व्यवस्था लागू गरेको थियो । यसले विश्वकै चर्चित एआई कम्पनीमध्ये एक ओपन आगामी व्यावसायिक रणनीतिमा आईपीओभन्दा एआई सुरक्षा र नियन्त्रणलाई तत्काल प्राथमिकता दिइरहेको संकेत गरेको छ। कम्पनीको सार्वजनिक निष्कासन कहिले हुन्छ भन्ने विषयमा भने अहिलेसम्म निश्चित समयसीमा घोषणा गरिएको छैन।
















प्रतिक्रिया दिनुहोस्