Advertisement
Advertisement
Corporate Samachar
२२ आश्विन २०८३, बिहीबार
Advertisement
Advertisement

सङ्कट पर्दा मात्र सम्झने कान्ति लोकपथ, चाप थेग्नै मुस्किल

सङ्कट पर्दा मात्र सम्झने कान्ति लोकपथ, चाप थेग्नै मुस्किल
विज्ञापन
Advertisement

ललितपुर । पृथ्वी राजमार्ग अवरुद्ध भएपछि काठमाडौँ उपत्यका र हेटौँडाबीचको वैकल्पिक मार्गका रूपमा प्रयोगमा आएको कान्ति लोकपथ यतिबेला आफैँ समस्याको चपेटामा परेको छ । साँघुरो र निर्माणाधीन सडकमा मालवाहक सवारीसाधनको चाप बढेपछि आवागमन प्रभावित हुनुका साथै सडकको स्तरोन्नति र नियमित मर्मतसम्भारमा समेत चुनौती थपिएको छ ।

विज्ञापन
Advertisement
Advertisement

धादिङको बेनीघाट रोराङ गाउँपालिका–७ कृष्णभीरमा भदौ १४ गते त्रिशूली नदीमा आएको बाढीले सडक कटान गरेपछि पृथ्वी राजमार्गको काठमाडौँ–मुग्लिन खण्ड अवरुद्ध छ । वैकल्पिक ट्र्याक खोलिए पनि नियमित यातायात सहज हुन अझै समय लाग्ने देखिएपछि हेटौँडाबाट त्रिभुवन राजपथ हुँदै मालवाहक तथा यात्रुवाहक सवारीसाधन काठमाडौँ भित्र्याउने र उपत्यकाबाट खाली मालवाहक सवारीसाधन कान्ति लोकपथ हुँदै हेटौँडा पठाउने व्यवस्था गरिएको छ ।

यससँगै सामान्य अवस्थामा दैनिक सीमित सवारीसाधन सञ्चालन हुने कान्ति लोकपथमा अहिले ठूला ट्रक तथा कन्टेनरको चाप ह्वात्तै बढेको छ । सडकको कमजोर अवस्था, नियमित पहिरो र एकतर्फी ट्र्याकका कारण सवारीसाधनले ठाउँ–ठाउँमा लामो समय जाम खेप्नुपरेको छ ।

निर्माणाधीन सडकमा बढ्दो चाप

ललितपुरको गोदावरी नगरपालिका–६ टीकाभैरवदेखि मकवानपुरको भीमफेदी गाउँपालिकासम्म फैलिएको कान्ति लोकपथको विभिन्न खण्डमा अहिले पनि सडक विस्तार, पहाड कटान र पहिरो नियन्त्रणका काम भइरहेका छन् । उपत्यकाबाट बाहिरिने सवारीसाधन एकान्तकुना हुँदै टीकाभैरव पुगेर कान्ति लोकपथमार्फत हेटौँडा जाने गरेका छन् ।

कान्ति लोकपथ योजनाका सुपरभाइजर माधवप्रसाद घिमिरेका अनुसार गोदावरी गाउँपालिकाको बिर्खेधारादेखि बागमती गाउँपालिकाका विभिन्न स्थानसम्म सडकमा अवरोध छन् । भालुखोला, कार्कीबास, काल्चे, टाकुर्से, पाङ्दुर र भान्सेखोलालगायतका क्षेत्रमा पहिरो तथा साँघुरो सडकका कारण सवारी आवागमन प्रभावित हुँदै आएको छ ।

‘बागमती गाउँपालिका–३ का भालुखोला, कार्कीबास, छपेलीनजिकको काल्चे पहिरो, टाकुर्से र पाङ्दुर सडकका प्रमुख अवरोध हुन्,’ घिमिरेले भन्नुभयो, ‘भान्सेखोलामा एकतर्फी ट्र्याक भएकाले ठूला सवारीसाधन केही समय लाइनमा बस्नुपर्ने बाध्यता छ ।’

पाङ्दुरमा करिब ८०० मिटर सडक पार गर्न २५ मिनेटदेखि आधा घण्टासम्म लाग्ने गरेको उनले बताए ।
अहिले कान्ति लोकपथमा दैनिक दुई हजार ५०० देखि तीन हजारसम्म १२, १४ र १६ चक्के मालवाहक सवारीसाधन गुड्ने गरेको उनको भनाइ छ ।

‘रातभरि पुरेको सडक दिनभरिमा फेरि भत्किसकेको हुन्छ,’ घिमिरेले भने, ‘सवारीसाधनको चाप अत्यधिक बढेकाले सडक मर्मत र निर्माणको काम गर्नसमेत कठिन भएको छ ।’

बागमती गाउँपालिकाको तामाखानीमा करिब ६५ मिटर सडकखण्डमा चट्टान कटानको काम जारी छ । उक्त स्थानमा सडक साँघुरो भएकाले सवारीसाधनले केही दूरी पार गर्न पनि लामो समय कुर्नुपर्ने अवस्था छ ।

ठूला बस र मालवाहक सवारीसाधनबीच समस्या

कान्ति लोकपथको अधिकांश भाग निर्माणाधीन र साँघुरो भएकाले ठूला यात्रुवाहक बस सञ्चालनमा समेत समस्या देखिएको छ । विशेषगरी रात्री बस र मालवाहक सवारीसाधन एकैपटक गुड्दा सडकमा जाम हुनुका साथै ठोक्किने जोखिम बढेको योजनाका सुपरभाइजर घिमिरेले बताए ।

‘नियमित पहिरो जाने क्षेत्रबाहेक सडकको अवस्था कतिपय ठाउँमा राम्रो छ । तर एकतर्फी सडक भएकाले सवारीसाधन जाममा बस्नुपर्छ,’ उनले भने, ‘रात्री बसका कारण मालवाहक सवारीसाधनले पनि समस्या भोग्नुपरेको छ ।’

घिमिरेका अनुसार कान्ति लोकपथलाई सरकारले सामान्य अवस्थामा पर्याप्त प्राथमिकता नदिने, तर मुख्य राजमार्ग अवरुद्ध भएपछि मात्र वैकल्पिक मार्गका रूपमा सम्झिने गरेको छ । उनले ११ वर्षदेखि कान्ति लोकपथ योजनामा सुपरभाइजरका रूपमा काम गर्दै आएका छ ।

‘सरकारले आपत् वा सङ्कट पर्दा मात्र यो सडक सम्झिन्छ,’ उनले भने, ‘पछिल्लो समय योजनाका लागि एकमुष्ट रु तीन अर्ब बजेट आएको छ । योजनाअनुसार करिब ७० प्रतिशत काम सकिएको छ । तर अहिले सवारीसाधनको चाप बढेकाले काम गर्न समस्या भएको छ ।’

ट्राफिक व्यवस्थापनमा चौबिसै घण्टा निगरानी

कान्ति लोकपथमा बढेको सवारी चाप व्यवस्थापन गर्न काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले विभिन्न स्थानमा जनशक्ति परिचालन गरेको छ ।

सडकमा अवरोध उत्पन्न भए तत्काल हटाउन भट्टेडाँडा र टीकाभैरवमा २४ घण्टा हेभी इक्युपमेन्ट तयारी अवस्थामा राखिएको कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए ।

उनका अनुसार टाखेल, ट्याक्सी पार्क, ढोलाहिटी, टीकाभैरव फूलबारी, टीकाभैरव बजार, तीनपाने र भट्टेडाँडालगायतका स्थानमा ट्राफिक प्रहरी परिचालन गरिएको छ ।

‘भदौ १० गते भोटेकोशीमा बाढी आउनुअघि यो सडकमा दैनिक एक सयको हाराहारीमा सवारीसाधन गुड्ने गरेका थिए,’ सुवेदीले भने , ‘बाढीपछि सवारी चाप बढेर एकै दिन एक हजारदेखि एक हजार ५०० सम्म सवारीसाधन गुडेको तथ्याङ्क छ ।’

सवारीसाधन बढे, व्यापार घट्यो

कान्ति लोकपथमा मालवाहक सवारीसाधनको चाप बढे पनि सडक आसपासका व्यवसायीले त्यसको लाभ लिन सकेका छैनन् । यात्रुसहितका सवारीसाधनको तुलनामा खाली ट्रक र कन्टेनर बढी गुड्न थालेपछि होटल तथा पसलको व्यापार घटेको स्थानीय व्यवसायीको भनाइ छ ।

छपेलीमा होटल व्यवसाय गर्दै आउनुभएकी प्रमिला दाहालका अनुसार यसअघि यात्रुसहितका साना सवारीसाधन रोकिने गरेकाले होटलमा ग्राहकको चाप हुने गरेको थियो । अहिले भने ठूला मालवाहक सवारीसाधन गुडे पनि यात्रु नहुँदा व्यापार घटेको छ ।

‘अहिले यो बाटोमा सबै खाली गाडी गुड्छन् । ठूलाठूला गाडी गुडेका छन् तर व्यापार छैन,’ दाहालले भने, ‘एकछिन गाडी रोक्दा पनि जाम हुन्छ । एउटा गाडीमा चालक मात्र हुन्छ । के व्यापार हुनु ’

उनका अनुसार पहिले दैनिक करिब २०० जनालाई खाना खुवाउने होटलमा अहिले पाँचदेखि १० जनासम्मले मात्र खाना खाने गरेका छन् । सवारीसाधनको चाप बढे पनि स्थानीय व्यवसायीको आम्दानी भने घटेको उहाँको भनाइ छ ।

विपद्मा मात्रै होइन, सधैँ प्राथमिकता आवश्यक

ललितपुर क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य बुद्धरत्न महर्जनले कान्ति लोकपथलाई सङ्कट पर्दा मात्रै प्रयोग गर्ने वैकल्पिक सडकका रूपमा सीमित गर्न नहुने बताए ।

प्रतिनिधिसभाको बैठकको शून्य समयमा बोल्दै उनले राष्ट्रिय राजमार्गका रूपमा रहेको यस सडकलाई सामान्य अवस्थामा पनि सुरक्षित, व्यवस्थित र सक्षम बनाउन सरकारको ध्यानाकर्षण गराए ।

‘राष्ट्रिय राजमार्गका रूपमा रहेको यस सडकलाई राज्यले सामान्य अवस्थामा पर्याप्त प्राथमिकता दिएको देखिँदैन,’ उनले भने , ‘जब विपत्ति आउँछ र मुख्य सडक अवरुद्ध हुन्छ, तब यही सडकलाई वैकल्पिक मार्गका रूपमा खोल्नुपर्ने अवस्था आउँछ । सङ्कट पर्दा मात्र सम्झिने होइन, सङ्कट आउनुअघि नै यस्ता मार्गलाई सक्षम र सुरक्षित बनाउनु राज्यको दायित्व हो ।’

कान्ति लोकपथको वर्तमान अवस्थाले पनि सांसद महर्जनको भनाइलाई पुष्टि गरेको देखिन्छ । मुख्य राजमार्ग अवरुद्ध हुँदा देशको राजधानी जोड्ने महत्त्वपूर्ण वैकल्पिक मार्गका रूपमा प्रयोग हुने सडकलाई नियमित मर्मत, स्तरोन्नति र पूर्वाधार विकासमार्फत वर्षैभरि भरपर्दो बनाउनु आवश्यक देखिएको छ ।

सात दशक पुरानो ऐतिहासिक मार्ग

ललितपुर र मकवानपुरलाई जोड्ने कान्ति लोकपथ काठमाडौं उपत्यकालाई हेटौंडासँग जोड्ने ऐतिहासिक सडक हो । यसको निर्माण विसं २०१३ देखि सुरु भएको थियो । तत्कालीन राजा महेन्द्रले २०१४ माघ ९ गते सडकको उद्घाटन गरेका छन् ।

ट्र्याक खुलेपछि २०१६ सालमा राजा महेन्द्र आफैं यही मार्ग हुँदै गाडी चलाएर हेटौंडा पुगेको इतिहास छ ।

त्यसै वर्ष आएको पहिरोपछि यो सडकखण्ड करिब ४० वर्षसम्म पूर्ण रूपमा ठप्प भएको थियो । विसं २०५५ मा कोरिया सरकारले अनुदानमा कान्ति लोकपथको विस्तृत आयोजना प्रतिवेदन तयार गर्ने प्रस्ताव अघि बढाएपछि २०५६ सालदेखि डिपिआर डिजाइनको काम सुरु भएको थियो ।

त्यसपछि काठमाडौंलाई हेटौं डासँग जोड्ने वैकल्पिक राजमार्गका रूपमा यसको पुनःनिर्माण, विस्तार र स्तरोन्नतिको काम अघि बढ्यो ।

विसं २०६६ देखि ‘कान्ति लोकपथ आयोजना’मार्फत सडक पुनःनिर्माण, विस्तार तथा स्तरोन्नतिको काम भइरहेको छ । विभिन्न समयमा पहिरो तथा बाढीका कारण सडक अवरुद्ध हुँदै आएपछि सडक सुधारका लागि निरन्तर बजेट विनियोजन हुँदै आएको छ ।

कान्ति लोकपथको ८९ किलोमिटर लम्बाइमध्ये ५१ किलोमिटर मकवानपुर र ३८ किलोमिटर ललितपुरमा पर्छ । अधिकांश भाग कालोपत्र भए पनि पहिरो नियन्त्रण, पहाड कटान र सडक विस्तारको काम भइरहेका स्थानमा करिब चार किलोमिटर सडक अझै कच्ची रहेको छ ।

विसं २०८१ को बाढीले बागमती खोलाको पुल बगाएपछि त्यहाँ बेलिब्रिज जडान गरिएको छ । उक्त पुलको भारवहन क्षमता र सुरक्षालाई ध्यानमा राख्दै हाल कान्ति लोकपथमा खाली मालवाहक सवारीसाधनलाई मात्र सञ्चालनको अनुमति दिइएको छ ।

ऐतिहासिक महत्त्व बोकेको कान्ति लोकपथ अहिले फेरि सङ्कटको सारथि बनेको छ । तर, मुख्य सडक अवरुद्ध हुँदा मात्रै यसको उपयोग खोज्ने प्रवृत्तिले यसको दीर्घकालीन विकास र सुरक्षा ओझेलमा परेको छ । देशको राजधानीलाई तराईसँग जोड्ने वैकल्पिक मार्गका रूपमा कान्ति लोकपथलाई स्थायी रूपमा सक्षम नबनाए आगामी विपद्मा पनि यही समस्या दोहोरिने जोखिम कायमै रहनेछ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit