काठमाडौं । नेपाल बीमा सर्भेयर संघले सभापति ऋषि कोइरालालाई निलम्बन गरेको छ।
संघको भदौ २७ गते बसेको कार्यसमिति बैठकले सदस्य, सर्भेयर, बीमा कम्पनी तथा अन्य सरोकारवालाबाट प्राप्त लिखित तथा मौखिक गुनासामाथि छलफल गर्दै कोइरालालाई निलम्बन गर्ने निर्णय गरेको हो।
संघका अनुसार विधान, २०५९ को दफा ७(क) र ७(ग) बमोजिम कोइरालाको साधारण सदस्यता तथा सभापति पद अर्को निर्णय नभएसम्मका लागि निलम्बन गरिएको हो। निलम्बन अवधिमा उनले संघको कुनै निर्णय, पत्राचार, प्रतिनिधित्व वा सार्वजनिक अभिव्यक्ति गर्न पाउने छैनन्।
उठेका विषयमा निष्पक्ष छानबिन गर्न सचिव लोचन केन्द्र देवकोटाको संयोजकत्वमा तीन सदस्यीय स्वतन्त्र छानबिन समिति गठन गरिएको छ। समितिले लिखित स्पष्टीकरणसहित आवश्यक प्रमाण संकलन गरी एक महिनाभित्र कार्यसमितिलाई प्रतिवेदन बुझाउनेछ। आरोप पुष्टि नभए निलम्बन स्वतः फुकुवा हुने संघले जनाएको छ।
















प्रतिक्रिया दिनुहोस्