काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढी सामान्य वर्षाका कारण नभई हिउँ–चट्टानको पहिरो र त्यसपछि नदी थुनिएर फुट्दा उत्पन्न भएको पाइएको छ । सुवा–भोटेकोशी बाढीसम्बन्धी अध्ययन प्रतिवेदनले उच्च हिमाली क्षेत्रमा हिउँ–चट्टानको ठूलो भाग खस्दा नदीको बहाव अवरुद्ध भई अकस्मात् बाढी आएको निष्कर्ष निकालेको हो ।
प्रतिवेदनअनुसार २०८३ भदौ १० गते बिहान करिब ८ बजेर ३७ मिनेटमा सुरु भएको बाढीले केही मिनेटमै तल्लो क्षेत्रमा ठूलो विनाश निम्त्याएको थियो । घटना हुनुअघि उक्त क्षेत्रमा भारी वर्षा भएको थिएन । पछिल्लो छ घण्टामा जम्मा १।५ मिलिमिटर वर्षा भएको देखिए पनि हिउँ–चट्टानको पहिरो र नदी थुनिएर फुट्नु बाढीको मुख्य कारण बनेको अध्ययनले देखाएको छ ।
क्यान्जिङ स्टेसनमा औसत तापक्रम बढेर ११.७८ डिग्री सेल्सियससम्म पुगेको र यसले हिउँ पग्लिन तथा भित्री सतह कमजोर बनाउन भूमिका खेलेको हुन सक्ने प्रतिवेदनमा उल्लेख छ । हिउँ–चट्टानको ठूलो समूह खस्दा ५.२ म्याग्निच्युडको भूकम्पीय कम्पनसमेत रेकर्ड भएको थियो ।
२२ किलोमिटर दूरी सात–आठ मिनेटमै पार
अध्ययनअनुसार बाढीको वेग असाधारण रूपमा तीव्र थियो । स्रोत क्षेत्रबाट रसुवागढीस्थित नेपाल–चीन सीमासम्मको करिब २२ किलोमिटर दूरी बाढीको तरंगले सातदेखि आठ मिनेटमै पार गरेको थियो । यसअनुसार बाढीको गति करिब १८८ किलोमिटर प्रतिघण्टासम्म पुगेको अनुमान गरिएको छ ।
सीमाक्षेत्रबाट करिब २०१ किलोमिटर दूरीमा रहेको देवघाटसम्म बाढी पुग्न करिब छ घण्टा ४२ मिनेट लागेको थियो । देवघाटमा सोही दिन अपराह्न ४ बजे पानीको सतह अधिकतम ६.५७ मिटर र बहाव ५ हजार ८५० घनमिटर प्रतिसेकेन्ड पुगेको प्रतिवेदनमा उल्लेख छ ।
बाढीका कारण करिब दुई करोड घनमिटर अतिरिक्त पानी नदी प्रणालीमा मिसिएको अनुमान गरिएको छ । तीव्र वेग र ठूलो परिमाणमा आएको पानीले नदी आसपासका बस्ती, सडक, पुल तथा जलमापन संरचनामा गम्भीर क्षति पुर्याएको थियो ।
जलमापन केन्द्र र पुलहरूमा ठूलो क्षति
बाढीको चपेटामा परी जल तथा मौसम विज्ञान विभागका विभिन्न प्रमुख जलमापन केन्द्रहरू पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् । प्रतिवेदनअनुसार रसुवागढीको भोटेकोशी, स्याफ्रुबेसीका भोटेकोशी र लाङटाङ खोला, बेत्रावतीका त्रिशूली र फलाखु खोला तथा फर्केरमलेखु क्षेत्रका त्रिशूली नदी जलमापन केन्द्रहरू बाढीले बगाएको वा पूर्ण रूपमा क्षति पुर्याएको छ ।
जलमापन केन्द्र तथा पुलहरूमा क्षति पुगेपछि बाढीको वास्तविक अवस्था तत्काल मापन गर्न कठिनाइ भएको थियो । यसले उच्च हिमाली तथा नदी तटीय क्षेत्रमा भरपर्दो पूर्वसूचना प्रणालीको आवश्यकता थप स्पष्ट पारेको प्रतिवेदनले जनाएको छ ।
६ लाख ७८ हजारभन्दा बढी एसएमएसबाट चेतावनी
बाढीको सूचना प्राप्त हुनासाथ जल तथा ऊर्जा आयोग तथा बाढी पूर्वानुमान महाशाखाले आपत्कालीन चेतावनी प्रणाली सक्रिय बनाएका थिए । नेपाल टेलिकम र एनसेलमार्फत रसुवा, नुवाकोट, धादिङ, गोरखा, नवलपरासी र चितवनका त्रिशूली तथा नारायणी नदी तटीय क्षेत्रका नागरिकलाई ६ लाख ७८ हजार २९५ भन्दा बढी एसएमएस पठाइएको प्रतिवेदनमा उल्लेख छ ।
अकस्मात् बाढी आएको अवस्थामा केही मिनेटको सूचना पनि नागरिकको ज्यान जोगाउन महत्त्वपूर्ण हुने भएकाले पूर्वसूचना प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्ने आवश्यकता प्रतिवेदनले औंल्याएको छ ।
बाढीपछि दुई अस्थायी हिमताल, जोखिम कायमै
उपग्रहबाट प्राप्त तस्बिरको अध्ययनबाट घटनापछि लेन्दे खोला तथा आसपासका क्षेत्रमा दुईवटा अस्थायी ताल बनेको पाइएको छ । यी तालले भविष्यमा पुनः बाढीको जोखिम निम्त्याउन सक्ने भएकाले निरन्तर निगरानी आवश्यक रहेको प्रतिवेदनमा उल्लेख छ ।
लेन्दे र लिरुङ खोलाको दोभाननजिक बनेको तल्लो तालको सतह क्षेत्रफल करिब एक लाख ६० हजार वर्गमिटर रहेको छ । उक्त ताल प्राकृतिक रूपमा भरिएर बग्न थालेकाले यसको जोखिम क्रमशः घट्दै गएको अध्ययनले देखाएको छ ।
हिउँ–चट्टानको पहिरो खसेको क्षेत्रनजिक बनेको माथिल्लो तालको सतह क्षेत्रफल करिब एक लाख ८० हजार वर्गमिटर रहेको थियो । भदौ १३ गते उक्त ताल फुट्दा तल्लो क्षेत्रमा पुनः पानीको सतह बढेको प्रतिवेदनमा उल्लेख छ । यस घटनाले हिमाली क्षेत्रमा बाढीपछि पनि नयाँ जोखिम उत्पन्न हुन सक्ने देखाएको छ ।
टिमुरेमा सीसीटीभीबाट चौबिसै घण्टा बाढी निगरानी
बाढीका कारण जलमापन केन्द्रहरू बगेपछि जल तथा मानवस्रोत अनुसन्धान केन्द्र (सीएचडब्लूआरआर) को पहलमा रसुवाको टिमुरेमा नयाँ प्रविधिमा आधारित बाढी निगरानी सुरु गरिएको छ । नदीको सतहभन्दा करिब ७० मिटर माथि सीसीटीभी क्यामेरा जडान गरी चौबिसै घण्टा नदीको अवस्था प्रत्यक्ष अनुगमन गर्न थालिएको हो ।
नेपालमा पहिलोपटक यस प्रकारको सीसीटीभीमा आधारित रियल–टाइम बाढी निगरानी सुरु गरिएको प्रतिवेदनमा उल्लेख छ । जलमापन केन्द्रहरू क्षतिग्रस्त भएका अवस्थामा पनि नदीको सतह र बहावमा आएको परिवर्तन प्रत्यक्ष हेर्न सकिने भएकाले यस प्रविधिले भविष्यमा अकस्मात् बाढीको जोखिम न्यूनीकरणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
जलवायु परिवर्तनले बढाउँदैछ हिमाली जोखिम
प्रतिवेदनले जलवायु परिवर्तनका कारण उच्च हिमाली क्षेत्रमा तापक्रम वृद्धि, पर्माफ्रोस्ट अर्थात् जमिनभित्रको स्थायी रूपमा जमेको तह पग्लिनु र भिरालो भूभाग कमजोर हुनुले असामान्य बाढी तथा पहिरोको जोखिम बढाउँदै लगेको निष्कर्ष निकालेको छ ।
वर्षामा आधारित परम्परागत बाढी पूर्वानुमान प्रणालीले यस्ता घटनाको पूर्वानुमान गर्न कठिन हुने भएकाले टेलिमेट्री, सीसीटीभी, राडार तथा उपग्रह प्रविधिको प्रयोग विस्तार गर्नुपर्ने सुझाव प्रतिवेदनले दिएको छ । साथै, जल तथा मौसम विज्ञान विभाग, जल तथा ऊर्जा आयोग, सुरक्षा निकाय, स्थानीय तह र सञ्चार सेवा प्रदायकबीचको समन्वयलाई अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिइएको छ ।
भोटेकोशीमा आएको बाढीले हिमाली क्षेत्रमा जलवायु परिवर्तन र भौगोलिक जोखिमबीचको सम्बन्धलाई पुनः उजागर गरेको छ । भविष्यमा यस्ता विपद्बाट हुने मानवीय तथा भौतिक क्षति घटाउन नियमित अनुगमन, जोखिम पहिचान, पूर्वसूचना र तयारी प्रणालीलाई प्राथमिकताका साथ सुदृढ गर्नुपर्ने देखिएको छ ।















प्रतिक्रिया दिनुहोस्