काठमाडौं । गत भदौ १० गते आएको विनाशकारी बाढीका कारण परेको ठूलो बीमा दाबीको दबाब नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको वित्तीय अवस्थामा पर्ने जोखिम बढेसँगै कम्पनीको क्रेडिट रेटिङ घटेको छ । क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले कम्पनीको इस्युअर रेटिङलाई ‘इक्रा एनपी आइआर ए बाट घटाएर ‘इक्रा एनपी ए माइनस २’ मा झारेको हो ।
रेटिङ घटाए पनि कम्पनीलाई ‘नकारात्मक प्रभावसहितको निगरानी’ मै राखिएको छ । यसले कम्पनीको वित्तीय अवस्था तथा आगामी अवधिमा रेटिङमा थप दबाब पर्न सक्ने जोखिमलाई संकेत गर्छ ।
इक्रा नेपालका अनुसार २०८३ भदौ १० गते अर्थात् सन् २०२६ अगस्ट २६ मा आएको आकस्मिक बाढीबाट जलविद्युत् आयोजना, सवारीसाधन तथा अन्य सम्पत्तिमा ठूलो क्षति पुगेको छ । बाढीका कारण करिब ७०० मेगावाट क्षमताका जलविद्युत् आयोजनासहित विभिन्न क्षेत्रमा क्षति पुगेको र त्यसबाट पुनर्बीमा कम्पनीमा ठूलो दाबी पर्ने जोखिम बढेको हो ।
नेपाल बीमा प्राधिकरणका अनुसार अगस्ट ३१, २०२६ सम्म बाढीबाट मात्रै करिब २५ अर्ब ८७ करोड रुपैयाँ बराबरको बीमा दाबी परेको थियो । दाबीको ठूलो आकारले पुनर्बीमा क्षेत्रमा पनि वित्तीय दबाब बढाएको इक्रा नेपालको मूल्यांकन छ ।
विपत् सुरक्षा पर्याप्त नहुने जोखिम
रेटिङ घट्नुको अर्को महत्वपूर्ण कारण कम्पनीको विपत् जोखिम सुरक्षासँग सम्बन्धित छ । बाढीबाट सिर्जित दाबीको आकार ठूलो भएकाले कम्पनीले लिएको ‘क्याटास्ट्रोफ कभर’ अर्थात् विपत् जोखिमबाट हुने ठूलो क्षतिविरुद्धको पुनर्बीमा सुरक्षा अपर्याप्त हुन सक्ने जोखिम देखिएको छ ।
यसअघि नै सन् २०२५ सेप्टेम्बरमा भएको दङ्गासम्बन्धी ठूलो दाबीका कारण कम्पनीको खुद सम्पत्तिमा दबाब परेको थियो । त्यसको असर पूर्ण रूपमा सम्बोधन नहुँदै नयाँ विपद्बाट ठूलो दाबी थपिन सक्ने अवस्थाले कम्पनीको खुद सम्पत्तिमा थप क्षय हुने जोखिम बढाएको इक्रा नेपालको निष्कर्ष छ ।
पुनर्बीमा कम्पनीले बीमा कम्पनीबाट लिएको जोखिमको निश्चित हिस्सा आफैँ वहन गर्ने तथा बाँकी जोखिम अन्य पुनर्बीमा व्यवस्थामार्फत हस्तान्तरण गर्ने गर्छ । तर, ठूलो प्राकृतिक विपद्का कारण एकैपटक ठूलो दाबी सिर्जना हुँदा कम्पनीको जोखिम वहन क्षमता र पुँजी पर्याप्ततामा प्रत्यक्ष दबाब पर्न सक्छ ।
२० अर्बभन्दा बढी खुद सम्पत्ति
नेपाल पुनर्बीमा कम्पनीको चुक्ता पुँजी र खुद सम्पत्ति भने उल्लेख्य रहेको छ । सन् २०२५ जुलाई मध्यसम्म कम्पनीको चुक्ता पुँजी करिब १३ अर्ब ४२ करोड रुपैयाँ र खुद सम्पत्ति करिब २० अर्ब ५२ करोड रुपैयाँ रहेको थियो ।
तर, प्राकृतिक विपद् र ठूलो दाबीको जोखिमले कम्पनीको वित्तीय सूचकमा पार्न सक्ने असरका कारण रेटिङ एजेन्सीले कम्पनीको जोखिम मूल्यांकनलाई कमजोर बनाएको हो ।
कम्पनीमा संस्थापक तथा सर्वसाधारणको शेयर स्वामित्व अनुपात ८४स्१६ रहेको छ । कम्पनीमा नेपाल सरकारको ४४ प्रतिशत, निर्जीवन बीमा कम्पनीहरूको २७ प्रतिशत, जीवन बीमा कम्पनीहरूको ६ प्रतिशत, अन्य पब्लिक लिमिटेड कम्पनीहरूको ७ प्रतिशत र सर्वसाधारणको १६ प्रतिशत शेयर स्वामित्व रहेको छ ।
इन्स्योरेन्स पुलबाट पुनर्बीमा कम्पनीसम्म
नेपाल पुनर्बीमा कम्पनीको इतिहास सन् २००३ मा स्थापना गरिएको ‘इन्स्योरेन्स पुल’सँग जोडिएको छ । उक्त इन्स्योरेन्स पुललाई रूपान्तरण गरी २०१४ नोभेम्बर ७ मा नेपाल पुनर्बीमा कम्पनी स्थापना गरिएको थियो ।
नेपालको पुनर्बीमा बजारमा प्रमुख भूमिका खेल्दै आएको कम्पनीले देशभित्रका बीमा कम्पनीबाट हस्तान्तरण हुने जोखिमको पुनर्बीमा गर्दै आएको छ । प्राकृतिक विपद्, जलविद्युत्, सवारीसाधन तथा अन्य ठूला जोखिमसँग सम्बन्धित दाबी बढ्दै जाँदा पुनर्बीमा कम्पनीहरूको वित्तीय क्षमतामाथि पनि दबाब बढ्ने गरेको छ ।
यसपटकको बाढीपछि देखिएको दाबीको ठूलो आकारले नेपालको पुनर्बीमा क्षेत्रमै प्राकृतिक विपद्बाट सिर्जित जोखिम व्यवस्थापनको चुनौतीलाई सतहमा ल्याएको छ । विशेषगरी जलविद्युत् तथा पूर्वाधार क्षेत्रमा केन्द्रित ठूलो जोखिमका कारण आगामी दिनमा पुनर्बीमा सुरक्षा, जोखिम हस्तान्तरण र पुँजी पर्याप्ततालाई थप बलियो बनाउनुपर्ने अवस्था देखिएको छ ।
इक्रा नेपालको पछिल्लो रेटिङले नेपाल पुनर्बीमा कम्पनीको तत्कालीन वित्तीय क्षमताभन्दा पनि प्राकृतिक विपद्बाट सिर्जित ठूलो दाबी, विपत् सुरक्षा पर्याप्तताको जोखिम र खुद सम्पत्तिमा पर्न सक्ने थप दबाबलाई बढी महत्व दिएको देखिन्छ । नकारात्मक निगरानी कायमै राखिनुले आगामी अवधिमा दाबीको वास्तविक अवस्था र त्यसको कम्पनीको वित्तीय अवस्थामा पर्ने प्रभाव रेटिङका लागि निर्णायक हुने संकेत गरेको छ ।
















प्रतिक्रिया दिनुहोस्