Advertisement
Advertisement
Corporate Samachar
२३ कार्तिक २०८३, सोमबार
Advertisement
Advertisement

एमसिसी प्रसारण आयोजना : नेपालतर्फको १८ किमि लाइन तयार, सीमापार विद्युत् प्रवाहको बाटो खुल्दै

एमसिसी प्रसारण आयोजना : नेपालतर्फको १८ किमि लाइन तयार, सीमापार विद्युत् प्रवाहको बाटो खुल्दै
विज्ञापन
Advertisement

काठमाडौं । मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसिसी) नेपाल कम्प्याक्टअन्तर्गत नेपालतर्फ निर्माण भइरहेको १८ किलोमिटर लामो प्रसारण लाइन निर्माण सम्पन्न भएको छ।

विज्ञापन
Advertisement
Advertisement

नवलपरासी पश्चिमको सुनवल नगरपालिका–१३ स्थित न्यू बुटवल सबस्टेसनदेखि नेपाल–भारत सीमासम्मको उक्त प्रसारण लाइन निर्माण सम्पन्न भएको हो। यो खण्ड तयार भएसँगै नेपाल–भारतबीचको दोस्रो सीमापार विद्युत् प्रसारण लाइनका लागि नेपालतर्फको निर्माण कार्य पूरा भएको छ। तत्कालीन अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र नेपालका लागि तत्कालीन अमेरिकी राजदूत डिन आर थम्प्सनले २०८२ मंसिर १० गते प्रसारण लाइनको शिलान्यास गरेका थिए। शिलान्यास भएको करिब नौ महिनामै निर्माण सम्पन्न गरिएको हो।

मिलेनियम च्यालेञ्ज एकाउन्ट नेपाल विकास समिति (एमसिए–नेपाल) ले ४०० केभी न्यू बुटवल सबस्टेसनलाई नेपाल–भारत सीमासँग जोड्ने यो प्रसारण लाइन निर्माणका लागि भारतको ट्रान्सरेल लाइटिङ लिमिटेडसँग ठेक्का सम्झौता गरेको थियो।निर्माण सम्पन्न भएको अवसरमा न्यू बुटवल सबस्टेसनमा आयोजित कार्यक्रममा अर्थ मन्त्रालयका सचिव तथा एमसिए–नेपाल सञ्चालक समितिका अध्यक्ष डा. घनश्याम उपाध्यायले प्रसारण लाइन निर्माण सम्पन्न हुनु नेपालको विद्युत् पूर्वाधार सुदृढीकरण र सीमापार ऊर्जा सञ्जाल विस्तारका लागि महत्वपूर्ण उपलब्धि भएको बताए।

एमसिए–नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्टले नेपाल सरकारको प्राथमिकता र आवश्यकतालाई ध्यानमा राख्दै निर्माण कार्यलाई तीव्रता दिइएको उल्लेख गरे । उनका अनुसार निर्माण व्यवसायी, आवश्यक स्रोतसाधन तथा सम्बन्धित साझेदारलाई एकीकृत गरी काम अघि बढाइएकाले छोटो समयमै १८ किलोमिटर प्रसारण लाइन निर्माण सम्पन्न गर्न सम्भव भएको हो।

१८ किलोमिटर प्रसारण लाइन निर्माण सम्पन्न भएसँगै सीमापार प्रसारण लाइनअन्तर्गत एमसिए–नेपालले गर्नुपर्ने नेपालतर्फको निर्माण कार्य पूरा भएको छ। अब नेपाल–भारत सीमापार विद्युत् प्रवाहका लागि आवश्यक प्राविधिक काम तथा स्वीकृति प्राप्त गर्ने प्रक्रिया अघि बढाइनेछ। एमसिसी नेपाल कम्प्याक्टअन्तर्गत विद्युत् प्रसारण आयोजनामा ३१५ किलोमिटर लामो उच्च भोल्टेज प्रसारण लाइन र तीनवटा सबस्टेसन निर्माण गर्ने योजना छन्।

एमसिसी नेपाल कम्प्याक्ट कार्यान्वयन गर्न नेपाल सरकारले एमसिए–नेपाल गठन गरेको हो। कम्प्याक्टमा नेपाल सरकारको १९ करोड ७० लाख अमेरिकी डलर र अमेरिकी सरकारको एमसिसीबाट ५५ करोड अमेरिकी डलर अनुदान गरी कुल ७४ करोड ७० लाख अमेरिकी डलरको कार्यक्रम समावेश छ। विद्युत् प्रसारण सञ्जाल विस्तार, यातायात लागत घटाउने तथा निजी क्षेत्रका लागि नयाँ अवसर सिर्जना गर्ने उद्देश्यले एमसिसी नेपाल कम्प्याक्ट कार्यान्वयन भइरहेको एमसिए–नेपालले जनाएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement

Powered By: Nectar Digit