काठमाडौं । सीईओ र उच्च व्यवस्थापन तहका अधिकारीसमेत जोडिएका कर्जा अनियमितता तथा घोटालाका ठूला काण्ड बाहिरिएपछि प्रभु बैंकको संस्थागत साखमा गम्भीर धक्का पुगेको छ । जथाभावी बिनाधितो कर्जा प्रवाह, कर्जा दुरुपयोगलगायतका घटनामा सीईओ, डेपुटी सीईओ (डी–सीईओ) र प्रमुख व्यवसाय अधिकृत लगायत उच्च पदस्थ अधिकारी पक्राउ परी अदालतमा अभियोजनसमेत भएपछि बैंकको सुशासन, जोखिम व्यवस्थापन र विश्वसनीयतामाथि प्रश्न उठेको हो।
खराब कर्जा (एनपीए) मा तीव्र वृद्धि र पुँजीकरणमा परेको दबाबका कारण प्रभु बैंक लिमिटेडको क्रेडिट रेटिङ घटेको छ। क्रेडिट रेटिङ एजेन्सी ‘इक्रा नेपाल’ले बैंकको इस्युअर रेटिङलाई डबल बीप्लसबाट एक तह घटाएर डबल बीमा झारेको हो। इक्रा नेपालले बैंकको रेटिङमा रहेको ‘वाच विथ नेगेटिभ इम्प्लिकेसन्स’ लाई पनि निरन्तरता दिएको छ। यो रेटिङले बैंकको वित्तीय दायित्व समयमै भुक्तानी गर्ने क्षमतामा मध्यम स्तरको जोखिम रहेको संकेत गर्छ। त्यस्तै, प्रभु बैंकले जारी गरेको सबअर्डिनेटेड डिबेन्चरको रेटिङ पनि LBB+ बाट घटाएर LBB कायम गरिएको छ। उक्त उपकरणको रेटिङमा पनि नकारात्मक प्रभावसहितको निगरानीलाई निरन्तरता दिइएको छ। इक्रा नेपालका अनुसार रेटिङ घटाउनुको मुख्य कारण बैंकको सम्पत्तिको गुणस्तरमा अपेक्षाभन्दा तीव्र र ठूलो गिरावट आउनु हो। खराब कर्जामा भएको वृद्धिले बैंकको सोल्भेन्सी, पुँजीकरण र नाफामा समेत उल्लेख्य दबाब सिर्जना गरेको छ।
प्रभु बैंकको वित्तीय सूचक
इक्रा नेपालको तथ्यांकअनुसार प्रभु बैंकको वित्तीय अवस्थाका केही प्रमुख सूचक यसप्रकार छन् :
| सूचक | २०२५ जुलाई मध्य | २०२६ जुलाई मध्य |
|---|---|---|
| खुद ब्याज आम्दानी | रु. ७ अर्ब १९.८ करोड | रु. ९ अर्ब २६.६ करोड |
| खुद नाफा/नोक्सानी | रु. ८७.२ करोड नाफा | रु. २४.१ करोड घाटा |
| ग्रस कर्जा तथा अग्रिम | रु. २ खर्ब ४१ अर्ब १७.६ करोड | रु. २ खर्ब ३२ अर्ब १९ करोड |
| कुल सम्पत्ति | रु. ४ खर्ब ५ अर्ब ६ करोड | रु. ४ खर्ब १२ अर्ब ८.८ करोड |
| ग्रस एनपीए | ७.०१% | १५.५५% |
| नेट एनपीए | १.७६% | ६.९६% |
| सीआरएआर | १२.५०% | ११.८३% |
| टियर–१ पुँजी | ८.८३% | ८.१७% |
| नेट एनपीए/नेटवर्थ | ११.५९% | ४३.४८% |
| क्रेडिट प्रोभिजन/कुल सम्पत्ति | ०.६३% | १.२१% |
| निक्षेप लागत | ४.६१% | ३.३७% |
| खुद ब्याज मार्जिन/औसत सम्पत्ति | १.८८% | २.२७% |
| कुल तरल सम्पत्ति/कुल दायित्व | ३७% | ४०% |
| कर्जा/कुल निक्षेप | ६६% | ६३% |
६ महिनामा बैंकको खराब कर्जा उच्च
२०८३ असार मसान्तसम्म प्रभु बैंकको ग्रस निष्क्रिय कर्जा (ग्रस एनपीए) १५.५५ प्रतिशत पुगेको छ। इक्रा नेपालका अनुसार यो बैंकिङ उद्योगमा सबैभन्दा उच्च हो। सोही अवधिमा नेपाली बैंकिङ उद्योगको औसत ग्रस एनपीए ५.५६ प्रतिशत रहेको छ। प्रभु बैंकको ग्रस एनपीए २०२६ जनवरी मध्यमा ७.९४ प्रतिशत थियो। यसरी करिब ६ महिनामै खराब कर्जाको अनुपातमा ठूलो वृद्धि भएको छ। बैंकको नेट एनपीए पनि ६.९६ प्रतिशत पुगेको छ। नयाँ खराब कर्जामा ठूलो मात्रामा वृद्धि भएको र तीमध्ये धेरै कर्जा तुलनात्मक रूपमा कम प्रोभिजनिङ आवश्यक पर्ने वर्गमा रहेकाले बैंकको जोखिम थप बढेको छ।खराब कर्जाको दबाबसँगै बैंकको नेट एनपीएदेखि नेटवर्थको अनुपात ४३.४८ प्रतिशत अर्थात् करिब ४३.५ प्रतिशत पुगेको छ। २०२६ जनवरी मध्यमा यो अनुपात करिब १९.१ प्रतिशत थियो। इक्राले यस्तो सोल्भेन्सी सूचकांकलाई निकै उच्च र चिन्ताजनक अवस्थाका रूपमा लिएको छ।
टियर–१ पुँजी नियामकीय सीमाभन्दा निकै तल
खराब कर्जामा भएको तीव्र वृद्धिको प्रभाव प्रभु बैंकको पुँजीकरणमा समेत परेको छ। बैंकको निष्क्रिय कर्जा र घाटाको दबाबमा पर्दा नेपाल राष्ट्र बैंकले तोकेको न्यूनतम प्राथमिक पुँजीको मापदण्डसमेत पूरा गर्न असफल भएको छ। ८.५० प्रतिशत हुनुपर्ने टियर–१ क्यापिटल ८.१७ प्रतिशतमा झरेसँगै बैंकको पुँजी पर्याप्तता र आगामी वित्तीय स्थायित्वमाथि थप प्रश्न उठेको छ। व्यवस्थापकीय अनियमितताको अनुसन्धानसमेत टुंगिन बाँकी रहेकाले बैंक थप संकटतर्फ धकेलिने जोखिम बढेको देखिन्छ। त्यस्तै, बैंकको क्यापिटल टु रिस्क वेटेड एसेट्स रेसियो (सीआरएआर) ११.८३ प्रतिशत रहेको छ। नियामकीय न्यूनतम ११ प्रतिशत भए पनि बैंकको समग्र पुँजीकरणमा थप दबाब सिर्जना भएमा यो सूचकसमेत प्रभावित हुन सक्ने इक्राको विश्लेषण छ। २०२६ जनवरी मध्यमा प्रभु बैंकको सीआरएआर १२.३८ प्रतिशत र टियर–१ पुँजी ८.६८ प्रतिशत थियो। पछिल्लो अवधिमा दुवै सूचकमा गिरावट आएको छ। टियर–१ पुँजीको नियामकीय सीमा उल्लंघन गर्दा तत्कालको प्रत्यक्ष वित्तीय प्रभाव सीमित भए पनि बैंकको स्वदेशी तथा अन्तर्राष्ट्रिय स्रोतबाट रकम जुटाउने क्षमता र संस्थागत साखमा जोखिम बढ्न सक्ने इक्राले जनाएको छ।
२४.१० करोड रुपैयाँ खुद नोक्सानी
खराब कर्जा बढेपछि त्यसको व्यवस्थापनका लागि कर्जा प्रोभिजन बढाउनुपर्दा प्रभु बैंकको नाफामा समेत गम्भीर असर परेको छ। बैंकले आर्थिक वर्ष २०२६ मा २४ करोड १० लाख रुपैयाँ खुद नोक्सानी व्यहोरेको छ। इक्रा नेपालका अनुसार खराब कर्जा बढेसँगै क्रेडिट कस्ट बढेको तथा खुद ब्याज मार्जिन (एनआईएम) मा क्रमिक कमी आएकाले बैंकको नाफा सूचक नकारात्मक भएको हो। २०२६ जुलाई मध्यसम्म बैंकको कर्जा प्रोभिजनिङ कुल सम्पत्तिको १.२१ प्रतिशत पुगेको छ। अघिल्लो आर्थिक वर्षमा यस्तो अनुपात ०.६३ प्रतिशत थियो। त्यस्तै, बैंकको प्रोभिजन कभरेज करिब ६० प्रतिशत मा झरेको छ। अघिल्ला वर्षहरूमा यस्तो कभरेज करिब ७५–८० प्रतिशत रहने गरेको थियो। विद्यमान खराब कर्जामध्ये थप कर्जा उच्च प्रोभिजन आवश्यक पर्ने वर्गमा गएमा बैंकको नाफामा थप दबाब पर्न सक्ने आईसीआरएको आकलन छ।
ब्याज आम्दानीमा दबाब
खराब कर्जा बढेसँगै बैंकको खुद ब्याज मार्जिनमा समेत दबाब परेको छ। ‘स्टेज–३’ वित्तीय सम्पत्तिको ब्याज आम्दानी नगद प्राप्तिका आधारमा मात्र पहिचान गर्नुपर्ने व्यवस्थाका कारण बैंकको खुद ब्याज मार्जिनमा गिरावट आएको इक्राले जनाएको छ। प्रभु बैंकको औसत कुल सम्पत्तिको तुलनामा खुद ब्याज मार्जिन आर्थिक वर्ष २०२५ मा १.८८ प्रतिशत रहेकोमा आर्थिक वर्ष २०२६ मा २.२७ प्रतिशत पुगेको छ। यद्यपि पछिल्लो रेटिङको तुलनामा ब्याज मार्जिनमा क्रमिक दबाब परेको देखिन्छ। आर्थिक वर्ष २०२६ मा बैंकको खुद ब्याज आम्दानी ९ अर्ब २६ करोड ६० लाख रुपैयाँ रहेको छ। अघिल्लो आर्थिक वर्षमा यो ७ अर्ब १९ करोड ८० लाख रुपैयाँ थियो।
खुम्चियो बैंकको कर्जा पोर्टफोलियो
२०२६ जुलाई मध्यसम्म प्रभु बैंकको कुल ग्रस कर्जा तथा अग्रिम २ खर्ब ३२ अर्ब १९ करोड रुपैयाँ रहेको छ। २०२५ जुलाई मध्यमा यस्तो कर्जा २ खर्ब ४१ अर्ब १७ करोड ६० लाख रुपैयाँ थियो। यस अवधिमा बैंकको कुल सम्पत्ति भने बढेर ४ खर्ब १२ अर्ब ८ करोड ८० लाख रुपैयाँ पुगेको छ। २०२५ जुलाई मध्यमा कुल सम्पत्ति ४ खर्ब ५ अर्ब ६ करोड रुपैयाँ थियो। कर्जा पोर्टफोलियोमा आएको संकुचनका बाबजुद खराब कर्जाको अनुपात भने उल्लेख्य रूपमा बढेको तथ्यले बैंकको सम्पत्तिको गुणस्तरमा गम्भीर दबाब देखाएको छ।
पूर्वउच्च व्यवस्थापनसँग जोडिएको कर्जा अनुसन्धान निगरानीमा
इक्रा नेपालले अघिल्लो रेटिङ समीक्षामा उल्लेख गरेको पूर्वउच्च व्यवस्थापनसँग सम्बन्धित कथित अप्रत्यक्ष सम्बन्धित पक्ष कर्जा (इन्डाइरेक्ट रिलेटेड–पार्टी लेन्डिङ) सम्बन्धी अनुसन्धानलाई पनि निरन्तर निगरानीमा राखेको छ। उक्त विषयमा हुने आगामी निर्णयहरु र बैंकको रेटिङका लागि महत्वपूर्ण हुने इक्राले जनाएको छ। रेटिङमा यसलाई बैंकको सम्पत्तिको गुणस्तर र पुँजीकरणसँगै निगरानी गर्नुपर्ने विषयका रूपमा राखिएको छ।
प्रभु बैंकको बलियो पक्ष तरलता
सम्पत्तिको गुणस्तर, पुँजीकरण र नाफामा दबाब रहे पनि प्रभु बैंकको तरलता अवस्था भने सहज रहेको छ। २०२६ जुलाई मध्यसम्म बैंकको खुद तरल सम्पत्ति–कुल निक्षेप अनुपात करिब ४३ प्रतिशत रहेको छ। नियामकीय न्यूनतम सीमा २० प्रतिशत हो। त्यस्तै, बैंकको कर्जा–निक्षेप अनुपात करिब ६८ प्रतिशत रहेको छ। नियामकीय अधिकतम सीमा ९० प्रतिशत रहेको अवस्थामा बैंकको तरलता स्थिति केही सहज देखिन्छ। बैंकको कुल दायित्वको तुलनामा कुल तरल सम्पत्तिको अनुपात पनि ४० प्रतिशत रहेको छ। आर्थिक वर्ष २०२५ मा यस्तो अनुपात ३७ प्रतिशत थियो।
प्रभु बैंकको अर्को बलियो पक्ष यसको चल्ती तथा बचत खाता (कासा) को मिश्रण हो। २०२६ जुलाई मध्यसम्म बैंकको कासा हिस्सा करिब ६२ प्रतिशत रहेको छ, जबकि उद्योगको औसत करिब ५६ प्रतिशत रहेको छ। उच्च कासा अनुपातका कारण बैंकको निक्षेप लागतलाई सहयोग पुगेको छ। आर्थिक वर्ष २०२६ मा बैंकको निक्षेप लागत ३.३७ प्रतिशत रहेको छ, जुन उद्योगको औसत ३.४६ प्रतिशत भन्दा कम हो। उच्च नेट एनपीए–नेटवर्थ अनुपातका कारण बैंकको आन्तरिक पुँजी निर्माण क्षमता तत्कालै दबाबमा रहने देखिएको छ। त्यसैले व्यापक आर्थिक अवस्था वा बैंकको सम्पत्तिको गुणस्तरमा सुधार नआएसम्म बैंकको पुँजीकरण क्षमतामा दबाब कायम रहने इक्राको विश्लेषण छ।
२०२६ जुलाई मध्यसम्म नेपाली बैंकिङ उद्योगको कुल निक्षेपमा प्रभु बैंकको बजार हिस्सा ४.२५ प्रतिशत र कुल कर्जामा ३.९१ प्रतिशत रहेको छ। वाणिज्य बैंकहरूमाझ भने निक्षेपमा बैंकको हिस्सा ४.७१ प्रतिशत र कर्जामा ४.३९ प्रतिशत रहेको छ। यसरी हेर्दा प्रभु बैंकको अहिलेको मुख्य चुनौती तरलता नभई खराब कर्जा, सोल्भेन्सी र पुँजीकरण बनेको छ। उद्योगको औसतभन्दा झन्डै तीन गुणा उच्च ग्रस एनपीए, ८.५० प्रतिशतको नियामकीय न्यूनतमभन्दा तल झरेको ८.१७ प्रतिशत टियर–१ पुँजी र नेट एनपीए–नेटवर्थ अनुपात ४३.४८ प्रतिशत पुग्नुले बैंकको वित्तीय जोखिममा तीव्र वृद्धि भएको देखाउँछ। यही कारण इक्रा नेपालले रेटिङ घटाउनुका साथै नकारात्मक निगरानीलाई निरन्तरता दिएको उल्लेख गरेको छ।
















प्रतिक्रिया दिनुहोस्