Advertisement
Advertisement
Corporate Samachar
२८ आश्विन २०८३, बुधबार
Advertisement
Advertisement

रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्दै ऊर्जा मन्त्रालय, उच्चस्तरीय समिति गठन गर्ने तयारी

रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्दै ऊर्जा मन्त्रालय, उच्चस्तरीय समिति गठन गर्ने तयारी
विज्ञापन
Advertisement

काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीको वैज्ञानिक कारण र घटनाक्रम पहिचान गर्न विस्तृत अध्ययन अघि बढाएको छ। मन्त्रालयले बाढीको उत्पत्ति, त्यससँग जोडिएका हिमाली भू–जोखिम तथा जलवायु परिवर्तनको सम्भावित भूमिकाबारे वैज्ञानिक अध्ययन गर्न उच्चस्तरीय विज्ञ समिति गठन गर्ने तयारी गरेको हो।

विज्ञापन
Advertisement
Advertisement

मन्त्रालयका प्रवक्ता मोहनकुमार शाक्यका अनुसार वैज्ञानिक अध्ययनका लागि सोमबार विज्ञहरूसहितको समिति गठन गरिनेछ। अध्ययनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञलाई समेत सहभागी गराउने तयारी मन्त्रालयले गरेको छ। जल तथा ऊर्जा आयोगको सचिवालयको प्रस्तावअनुसार रसुवा बाढीलाई सामान्य बाढी वा अतिवृष्टिको घटनाका रूपमा मात्र नभई उच्च हिमाली क्षेत्रमा उत्पन्न भएका विभिन्न भौगोलिक, हिमनदीय, जलविज्ञानसम्बन्धी तथा अन्य जोखिम एकपछि अर्को रूपमा जोडिँदै विकसित भएको सम्भावित ‘श्रृङ्खलाबद्ध विपद्’ का रूपमा अध्ययन गरिनेछ।

जल तथा ऊर्जा आयोगको सचिवालयको प्रारम्भिक अध्ययनले रसुवा घटनाको उत्पत्ति कहाँबाट भयो, कुन भौतिक प्रक्रियाबाट विपद् सुरु भयो र ती प्रक्रिया कसरी भोटेकोशी–ल्हेन्दे नदी प्रणाली हुँदै तल्लो क्षेत्रमा फैलियो भन्ने विषयमा पर्याप्त वैज्ञानिक प्रमाणबाट प्रमाणीकरण भइनसकेको देखाएको छ। त्यसैले जलवायु परिवर्तनलाई घटनाको प्रत्यक्ष कारणका रूपमा निष्कर्ष निकाल्नुअघि सम्पूर्ण घटनाक्रमको वैज्ञानिक पुनर्निर्माण आवश्यक रहेको आयोगको निष्कर्ष छ।

मन्त्रालयका अनुसार अध्ययन तीन चरणमा अघि बढाइनेछ। पहिलो चरणमा उच्च हिमाली क्षेत्रदेखि भोटेकोशी–ल्हेन्दे नदी प्रणाली हुँदै तटीय क्षेत्रसम्मको घटनाक्रम, समयक्रम र भौगोलिक क्षतिको अध्ययन गरिनेछ। यस क्रममा हिमनदी, चट्टानी तथा माटोको ढलान अस्थिरता, पहिरो, लेदो, नदीको बहाव र बाढीबीचको अन्तरसम्बन्धसमेत अध्ययन गरिनेछ। दोस्रो चरणमा बाढीका तत्कालीन तथा अन्तर्निहित भौतिक कारण पहिचान गरिनेछ। त्यसपछि तेस्रो तथा महत्वपूर्ण चरणमा मानवजनित जलवायु परिवर्तनले यस्ता जोखिमको सम्भावना, तीव्रता तथा पूर्वतयारीको अवस्थामाथि कति प्रभाव पारेको थियो भन्ने विषयमा वैज्ञानिक मूल्याङ्कन गरिनेछ।

यसअघि सन् २०२४ सेप्टेम्बर २६ देखि २८ सम्म नेपालमा भएको अत्यधिक वर्षा, बाढी तथा पहिरोको घटनालाई अन्तर्राष्ट्रिय वैज्ञानिक अध्ययन समूह ‘वर्ल्ड वेदर एट्रिब्युसन’ले मानवजनित जलवायु परिवर्तनसँग सम्बन्धित प्रभावका रूपमा मूल्याङ्कन गरेको थियो। तर रसुवा–भोटेकोशीको घटना फरक प्रकृतिको हुन सक्ने भएकाले त्यससँग प्रत्यक्ष तुलना वा पूर्वनिर्धारित निष्कर्ष निकाल्नुभन्दा वैज्ञानिक प्रमाणका आधारमा अध्ययन गर्नुपर्ने मन्त्रालयको निष्कर्ष छ।

प्रस्तावित अध्ययनमा हिमनदी तथा हिममण्डल विज्ञान, भूगर्भशास्त्र, भूरूपविज्ञान तथा पहिरो विज्ञान, जलविज्ञान तथा नदी जलयान्त्रिकी, मौसम विज्ञान तथा जलवायु विज्ञान, रिमोट सेन्सिङ, विपद् जोखिम व्यवस्थापन तथा जलवायु परिवर्तन कारक विश्लेषणलगायत क्षेत्रका विज्ञलाई सहभागी गराइनेछ।भोटेकोशी–ल्हेन्दे नदी प्रणाली सीमापार प्रकृतिको भएकाले चीनतर्फ उपलब्ध वैज्ञानिक तथा जलवैज्ञानिक सूचनालाई समेत अध्ययनमा समेट्ने तयारी गरिएको छ। आवश्यकताअनुसार वैज्ञानिक सहकार्य तथा तथ्यांक आदानप्रदानको संयन्त्र विकास गर्ने प्रस्तावसमेत अघि बढाइएको छ। प्रस्तावित उच्चस्तरीय वैज्ञानिक समितिले बाढीको सम्भावित उद्गमस्थलको स्थलगत भ्रमणसमेत गर्नेछ। स्थल निरीक्षणका क्रममा विस्तृत तस्वीर तथा भिडियो अभिलेख तयार गर्नुका साथै आवश्यकताअनुसार ड्रोन र स्याटेलाइटबाट प्राप्त सूचनाको समेत प्रयोग गरिने मन्त्रालयले जनाएको छ।

मन्त्रालयले विज्ञ समितिलाई अध्ययन सम्पन्न गरी प्रतिवेदन तयार गर्न दुई महिनाको समय दिने गरी कार्यादेश बनाउने तयारी गरेको छ। अध्ययनबाट बाढीको वास्तविक उत्पत्ति, घटनाक्रम, भौतिक कारण र जलवायु परिवर्तनको सम्भावित प्रभावबारे प्रमाणमा आधारित निष्कर्ष निकाल्ने अपेक्षा गरिएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit